कांग्रेस र एमालेका सांसदहरुलाई जनताको प्रश्न,तपाईंहरुलाई देउवा र ओलीले माननीय बनाएको कि जनताको ?

मानिस जन्मिनु र मर्नु स्वभाविक प्रक्रिया नै हो। हाम्रो समाजमा बच्चा जन्मिँदा खुशीयाली मनाइन्छ भने मानिस मर्दा शोक मनाउँछौं। मानिस जन्मिएदेखि उसले नमर्नुञ्जेल गरेका काम सबैभन्दा महत्त्वपूर्ण हुन्छ। कोही व्यक्ति निकै गरिब परिवारमा जन्मिएर पनि आफ्नो छुट्टै पहिचान बनाई विश्वमा परिचित हुन्छ त कोही व्यक्ति धनी परिवारमा जन्मिएपनि उसले नराम्रो बाटो रोज्दा आफुसँगै आफ्नो परिवार पनि सकाउँछ।

त्यसैले त मानिस गरिब भएर जन्मिनु तर गरिब भएर नमर्नु पनि भनिन्छ। गरिब भएर मरेपनि उसलाई राष्ट्रले चिन्नुपर्छ। जोकोही व्यक्ति पनि उसले गरेका राम्रा, नराम्रा कामले चिनिने हो। फरक यही छ कि कुनै नेता जनतालाई असाध्य मनपर्छ त कुनै नेता देख्न सक्दैनन्। नेपाली कांग्रेसका नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईको अहिले पनि जनतामाझ चर्चा हुने गरेको छ।

उनी पूर्वप्रधानमन्त्री समेत हुन् । प्रधानमन्त्री हुँदा केही नगरेका उनलाई अहिले जनता भट्टराईले प्रधानमन्त्री हुँदा केही नगरेको भनेर गुनासो गर्दै सम्झिन्छन् । वर्तमान सरकारमा नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली प्रधानमन्त्री छन् । उनीमाथि झापाको गिरिबन्धु टु स्टेटको सरकारी जग्गा व्यक्तिको नाममा लगिएको आरोप छ ।

यता, कांग्रेस नेतृ तथा सभापति शेरबहादुर देउवाकी पत्नी आरजु रणा परराष्ट्रमन्त्री छिन्। नेपाली नागरिकलाई नक्कली भुटानी शरणाार्थी बनाएर अमेरिकामा बेचेको उनीमाथि गम्भीर आरोप छ । फेरि यीनै व्यक्तिहरु मुलुक चलाउने कुर्सीमा छन्। अहिले जनता भन्छन्, ‘आफैं काण्डैकाण्डमा मुसिएकाबाट देशको भलाई हुन्छ भनेर कसरी सोच्नु ? यो कल्पना पनि गर्न सकिँदैन।

ओली नेतृत्वको सरकारमा जनताबाट चुनिएर आएका व्यक्ति मन्त्री छैनन् । आरजु जनताबाट चुनिएर आएकी होइनन्। उनलाई कांग्रेसले समानुपातिक कोटाबाट सांसद र मन्त्री बनाएको हो। यता, यातायातमन्त्री देवेन्द्र दाहाल पनि जननिर्वाचित सांसद होइनन्। उनी ओलीका प्रिय व्यक्ति हुन्। त्यसैले, ओलीले मन्त्री बनाइदिए।

समानुपातिक कोटाका सांसदले मन्त्री पड्काउँदा २०७९ मंसिर ४ गतेको निर्वाचनमा जनताबाट चुनिएर आएका काग्रेस, एमालेका योग्य व्यक्तिले भने मन्त्री पाएनन्। बुढोपाकाले भन्थे कि बोल्न सक्नेको पिठो पनि बोक्छ बोल्न नसक्नेको चामल पनि बिक्दैन। अहिले राजनीतिक दलहरुमा पनि यस्तै भएको छ ।

समानुपातिककी आरजुले देउवाको पत्नी भएकै कारण मन्त्री पाइनन्। ओलीको नजिकको व्यक्ति हुँदा देवेन्द्रले मन्त्री खाए । तर, जनताले भोट दिएर पिजताएर पठाएका कांग्रेस, एमालेका सांसदहरुले मन्त्री पाएनन्। अहिले जनता निराश भएका छन्। किनकि आफ्ले मतदान नगरेको व्यक्ति मन्त्री बनेका छन् ।

अनि भोट हालेर जिताएर पठाएका सांसदहरु भने सदनमा निदाएर बसेका छन्। आफुहरुले भोट हालेर जिताएका व्यक्ति पनि मन्त्री बन्न पाउँदैनन् रहेछ भन्ने जनताका मनमा परेको छ । मानव तस्करी जस्तो गम्भीर आरोप लागेकी आरजु परराष्ट्रमन्त्री बनेकी छन् । सरकारी जग्गा व्यक्तिको नाममा लगेर भ्रष्टाचार गरेको आरोप खेपिरहेका ओली प्रधानमन्त्री बनेका छन् ।

यता, जनताबाट चुनिएरै नआएका देवेन्द्र दाहा यातायातमन्त्री बनेका छन् । यसले जनतामा निराशा पैदा गरेको छ । आफुहरुले भोटै नगरेपनि हुने रहेछ भन्ने भाव जनतामा सिर्जना हुन थालेको छ । जनता भ्रष्टाचारलिाई कारबाही चाहन्छन् । चाँहे त्यो केपी ओली होस् या आरजु । तर, एमाले र कांग्रेसका सांसदहरु यो विषयमा केही बोल्न सक्दैनन् ।

यहाँ जसले जे गरेपनि भएको छ । लुट्न सके लुट कान्छा नेपालमै छ लुट भन्नै गीतझैं यसमा मेल समेत खान्छ । किनकि मानव तस्करी, भ्रष्टाचारजस्तो गम्भीर आरोव लागेका व्यक्तिहरु नै मुलुकको शक्तिशाली पदमा बसेर राज गरिरहेका छन् । आफ्नो पार्टीका नेतृत्वले नराम्रो काम गरिरहँदा समेत विरोध गर्न नसक्नु जनताको भोटको अपमान हो ।

अब कांग्रेस, एमालेका सांसदहरुले पार्टीको नेतृत्व भएपनि गलत कामको विरोध गर्नैपर्छ । फेरि क्षणिकको स्वार्थका कारण जनताको भरोसा नै गुमाउनेछन् । कांग्रेस, एमालेबाट चुनाव जितेर आएका सांसदहरु सदनमा मरिचझैं च्याउरिएको देखिन्छ । उता, चुनाव नै नजितेका व्यक्तिहरु भने सदनमा मन्त्री बनेर आइरहेका छन् ।

नक्कली भुटार्नी शरणार्थीकै आरोपमा अहिले पनि एमालेका निलम्बित सांसद टोपबहादुर रायमाझी जेलमा छन् । यही प्रकरणमा गृह मन्त्रालयलगायत विभिन्न सरकारी निकायका थुप्रा ठुला पदाधिकारी जेलमै छन् । यद्यपि, आरजु भने परराष्ट्रमन्त्री भएर सदनमा छिन् । सरकारी, सार्वजनिक जग्गा किर्ते गरी आफ्नो वा अरुको नाममा लगेको आरोपमा अहिले पनि धेरै जनता जेलमा छन् ।

तर, मन्त्रिपरिषद्मार्फत नै झापाको गिरिबन्धु टु स्टेटको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने निर्णय केपी ओली अहिले झण्डावाला गाडी चढेर सदनमा आइपुग्छन्। हामी सर्वसाधारणलाई गल्ती नै नगरेपनि प्रहरीले पक्रेर लग्छ अनि मुद्दा चलाउँछ।

विडम्बना, मानव तस्करी र भ्रष्टाचारजस्तो गम्भीर आरोप लागेपनि उनीहरुलाई प्रहरीले छुन समेत सक्दैन। अहिले कांग्रेस, एमालेभित्र पनि राम्रा नेता तथा सांसद छन्। तर, उनीहरुले मन्त्री पाएनन्। त्यसैले, अब यसविरुद्ध उनीहरुले बाृेल्न थाल्नुपर्छ। आफ्नो हकअधिकारका लागि आफैं लड्नुपर्छ। कि कांग्रेस, एमालेका सांसदसँग मन्त्री बन्न सक्ने क्षमता नभएको ?

हामी योग्य व्यक्तिलाई मन्त्री नदिने, यस्ता दाग लागेको व्यक्तिलाई मन्त्री बनाउने भनेर सदन घेर्नुपर्दैन कांग्रेस, एमालेका माननीयज्यूहरु ? तपाईहरुलाई जनताले मतदान गरेर माननीय बनाएको हो । देउवा, ओलीले बनाएका होइनन् । जनताले घामपानी नभनी घण्टौं हिँडेर तपाईँहरुलाई मतदान गरेका हुन् । अनि तपाईँहरु देउवा र ओलीको विरोध गर्न नसक्ने ?

जनताको हितमा बोल्न पनि नसक्ने ? कस्तो सांस हुनुहुन्छ तपाईँहरु ? अहिले तपाईंहरुको मूल्यांकन जनताले गरिरहेका छन् माननीयज्यूहरु । त्यसैले, अब तपाईँहरु जनताको सांसद हो भने देउवा र ओलीको विरोध गर्न सक्नुपर्छ । नभए अर्को निर्वाचनमा तपाईंहरुको पनि हालत नराम्रो हुनृेछ । पूर्वसांसद समेत रहेका गोल्छे सार्कीको मृत्यु भइसकेको छ।

उनको निधन भएको डेढ दशक नै भइसक्यो । तर, जनता अहिले पनि उनलाई सम्झिन्छन्। भन्छन्, ‘उनी निकै आटिँलो नेता र सांसद हुन्। त्यतिखेर तत्कालिन सभामुख रामचन्द्र पौडेललाई जुत्ताले हानेका थिए। अहिलेका सांसदहरुलाई जनता प्रश्न गर्छन्,तपाईँहरु माननीयको लोगो लगाउन र तलबभत्ता तथा सरकारी गाडी चढ्न मात्र सांसद बन्नुभएको हो ?

कुनै जिल्लाबाट चुनाव जितेर आएको व्यक्तिले भने एक पटक पनि मन्त्री नपाउने । अनि कुनैले भने पटकपटक मन्त्री पाउने ! एमालेका विष्णु पौडेल बारम्बार मन्त्री बनिसकेका छन् ।

अहिले पनि उनी अर्थमन्त्री बनेका छन्। यता, कांग्रेसमा पनि यस्तै छ। एउटै व्यक्ति मात्र मन्त्री बनिरहेको देखिन्छ। त्यसैले, अब कांग्रेस, एमालेका सांसदहरुले कि त हाम्रो क्षमता हुँदाहुँदै पसन पार्टीले हामीलाई मन्त्री दिएन वा हामीसँग मन्त्री बन्ने क्षमता नै छैन भनेर सदन र जनतालाई भन्नुपर्छ ।

शेरबहादुर देउवा,केपी ओली,माधवकुमार नेपाल,पुष्पकमल दाहाल प्रचण्ड,झलनाथ खनाल यसअघि पनि पटकपटक प्रधानमन्त्री बनिसकेका व्यक्ति हुन्। त्यसैले, यीमध्ये कोही पनि प्रधानमन्त्री बनेमा जनता खुशी हुँदैनन्। किनकि यसअघि नै यीनीहरुले प्रधानमन्त्री हुँदा गरेका काम वा कर्तुत जनतालाई अझै स्मरण छ।

अहिले जननिर्वाचित प्रधानमन्त्री हुने व्यवस्था भएमा कि त काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बन्ने छन् त कि बाबुराम भट्टराई। विष्णु पौडेल अर्थमन्त्री हुनासाथ सेयर दलालीहरुको ठगीधन्दा शुर भएको छ । बैंकले सय रुपैयाँ कित्तामा निष्काशन गरेको सेयर २६ सयमा बेचेर सर्वसाधारण ठगीरहेका छन्।

विष्णु पौडेल अर्थमन्त्री हुनुञ्जेल त सेयरको मूल्य बढ्ला तर उनी अर्थमन्त्रीबाट हट्नासाथ सेयरको मूल्य घट्ने पक्कै छ। त्यतिखेर अहिले महंगोमा सेयर किनेका जनता डुब्नृेछन्। त्यसैले, अब जनताले पनि सोचविचार गरेर मात्र लगानी गर्नुपर्छ। जनता पनि सचेत हुनुपर्छ र जनताबाट चुनिएर आएका जनप्रतिनिधिहरु पनि मुखमा बुझो लगाएर नबसौं।