काठमाडौं उपत्यकामा आजदेखि विशेष पोलियो खोप अभियान

काठमाडौं। सरकारले आजदेखि काठमाडौं उपत्यकामा पोलियो रोगविरुद्धको विशेष खोप अभियान सञ्चालन गर्दैछ। काठमाडौँको पानीमा पोलियोको भाइरस रहेको पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं,ललितपुर र भक्तपुर जिल्लामा आजदेखि शुक्रबारसम्म तीन दिन विशेष खोप अभियान सञ्चालन गर्न लागेको हो।

काठमाडौँको टुकुचा खोला र बागमती नदीबाट गत जेठ १३ गते संकलन गरिएको ढलको पानी परीक्षण गर्दा परिवर्तित पोलियो भाइरस (भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप ३)देखिएको थियो।

परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेककुमार लालका अनुसार ले काठमाडौँ, ललितपुर र भक्तपुरका जन्मेदेखि पाँच वर्षमुनिका सम्पूर्ण बालबालिकालाई तीन दिन पोलियो खोप लगाइने छ।

नियमित रुपमा पोलियो खोप दिइएको भए पनि विशेष अभियानमा आफ्ना बालबालिकालाई अनिवार्य रूपमा पोलियोविरुद्धको खोप लगाउन सरकारले आग्रह गरेको छ।