प्रधानमन्त्री ज्ञापनपत्र बुझ्ने र फुलमाला लगाउने,बुढाबुढी सहकारी धाउने

सरकारले ज्येष्ठ नागरिक, अपांग, एकल महिलालाई मासिक रुपमा एक हजारदेखि पाँच हजारसम्म सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ। अधिकांशले दुःखसुखको समयमा काम लाग्छ भनी पेट च्याउरी बनाएर त्यो भत्ता पनि सहकारीमा जम्मा गरे। पछिल्लो समय सहकारी समस्या देशभर नै चर्चाको समेत विषय बनेको छ।

सहकारीका कारण करोडौं बचतकर्ताको खर्बौ रकम गुमेको छ । तीमध्ये यी ज्येष्ठ नागरिक,अपांग र एकल महिलाहरु पनि हुन् । हिजो आपत परेको समयमा काम लाग्छ र ब्याज पनि आउँछ भनेर सामाजिक सुरक्षा भत्ताबापतको रकम सहकारीमा राखे । तर, सहकारी सञ्चालक, अध्यक्ष, कर्मचारीहरुको बदमासीका कारण आज यीनीहरुको पनि रुवाबासी चलेको छ ।

योसँगै मकै पाल्ने, साग बेच्ने,चटपट बेच्ने वा अरुको घरमा भाडा माझेर सहकारीमा बचत गर्नेको पनि अहिले बिजोग भएको छ । गाउँदेखि सहरसम्मका सहकारी भागेका छन्, डुबेका छन् । र, नभागेकाले पनि बचत फिर्ता नगरेको बताइन्छ । एउटै सहकारीमा एकै बचतकर्ताको लाखदेखि करोड बचत रहेको सुनिन्छ ।

सहकारी भागेसँगै यीनीहरुको पनि बिल्लीबाँठ भएको छ । सहकारी न बचतकर्ताको रकम फिर्ता गर्छ न त सरकार नै बचतकर्ताको रकम हिनामिना गर्ने सहकारी सञ्चालकलाई पक्राउ गर्छ । अहिले सहकारीले नठगेको व्यक्ति छैन । सहकारीका कारण नरोएको मानिस भेटिदैंन । यद्यपि, सरकारलाई कुनै वास्ता छैन । हिजो सहकारी खोल्न लाइसेन्स दिने सरकार नै हो ।

सहकारीहरुले सर्वसाधारणलाई प्रलोभनमा पार्न विभिन्न प्रचारप्रसार गरे। र, सीधासाधी जनता भ्रममा परेर आफुसँग भएको एकमुष्ट रकम सोच्दैनसोची सहकारीमा जम्मा गरे। सहकारीमा बचत गरेका करोडौं सर्वसाधारणको अहिले रुवाबासी चलेको छ। सरकारले देशभर ३५ हजारबढी सहकारीलाई दर्ता वा लाइसेन्स दिएको छ।

सर्वसाधारणको ४० खर्बबढी रकम सहकारीले खाइदिएको छ । अहिले बच्चादेखि बुढा भन्छन्, ‘सहकारी भनेकै ठग, चोर हो । कहिल्यै यीनीहरुमा विश्वास नगर्नु। तर, सरकार सुन्न तयार छैन। बुढोपाकाले भन्थे, ‘काम साँच्यो आफुलाई, खाना साँच्ये अरुलाई। सहकारीमा बचत गर्नेहरुसँग यो उखान मेल खान जान्छ।

बचतकर्ताहरुले खाईनखाई सहकारीमा रकम जम्मा गरे । अनि सहकारीका सञ्चालक, अध्यक्षहरु उक्त रकम लिएर भागे । यति मात्र होइन कतिपयले आफ्नो घरजग्गा, पुख्यौली सम्पत्ति बेचेर सहकारीमा बचत गरेका थिए । कोहीले जीवनभर जागिर खाएर वा विदेशमा कमाएको रकम सहकरीमा राखेका थिए।

तर, सहकारीका सञ्चालक, अध्यक्षहरु एकाएक भागेपछि ती बचतकर्ता वा सर्वसाधारणको बिल्लीबाँठ भएको छ । बचतकर्ताको रुवाबासी छ तर सहकारीमन्त्री बलराम घिमिरे र सहकारी विभागका महानिर्देशक पिताम्बर घिमिरेलाई कुनै चासो छैन । जनताले तिरेको करबाट मन्त्री र महानिर्देशकले तलबभत्ता खान्छन्।

सरकारी गाडीमा चढ्छन्। यद्यपि, जनताको पैसा खाइदिने सहकारीका सञ्चालक,अध्यक्षहरुलाई पक्राउ गर्न कुनै पहल गर्दैनन्। सहकारीमार्फत जनता डुबाउनेमा सरकारको पनि हात छ । किनकि सरकारले नै सहकारी खोल्न अनुमति दिएको हो । तर, अहिले सहकारीका कारण करोडौं बचतकर्ता डुब्दा सरकारलाई कुनै मतलब छैन।

सहकारीका बचतकर्ताहरु विगत तीन वर्षदेखि सहकारी विभाग, स्थानीय तह, प्रहरी चौकी वा मन्त्रालय धाइरहेका छन् । कहिले अन्सन बस्छन् त कहिले आन्दोलन गर्छन्। सरकार पटकपटक झुट्टा आश्वासन दिलाएर पीडित बचतकर्ताहरुलाई झनै पीडा दिइरहेको छ । सहकारीकै हालतमा बैंक पनि पुग्छ भनेर अहिले बजारमा सर्वसाधारण भन्छन्।

अधिकांश सहकारीका बचतकर्ताझैं बैंकका बचतकर्ता पनि डुब्ने बताउँछन् । तर, आखिर किन र कसरी ? सहकारीको सम्पूर्ण लगानी तीन क्षेत्रमा थियो । घरजग्गा, गाडी र सेयर । कोरोना महामारीपछि आएको मन्दीका कारण यसको किनबेच ठप्प हुन पुग्यो। किनबेच नभएसँगै मूल्य घट्यो । अनि सहकारी डुब्ने र भाग्ने सिलासिला सुरु भएको हो।

सहकारी मात्र होइन बैंकको पनि कर्जा लगानी घरजग्गा, गाडी र सेयरमै छ । अहिले ऋणीले कर्जा नतिरेपछि बैंकले धमाधम धितो लिलाम गरिरहेको छ। यद्यपि, त्यो धितो पनि बिक्री हुने अवस्थामा छैन। अर्कोतर्फ,बैंकमा कर्जा लिनेको पनि संख्या ह्वात्तै घटेको छ । बैंक पनि ठग, चोर हो भनेर आम नागरिकले बुझिसकेका छन्।

लाख रुपैयाँ ऋण दिएर करोडको धितो बैंकले पचाउँँछ। कर्जा दिँदा घुस लिनुका साथै चर्को सेवा शुल्क र ब्याज लिइन्छ। अनि ऋणीले तीन किस्ता नतिर्नेबित्तिकै करोडको धितो लाखमै पचाइदिने।

बैंकको यस्तो ठगीधन्दा थाहा पाएपछि सर्वसाधारणले कर्जा लिनै छोडेका हुन्। अहिले पनि घरजग्गा, गाडी र सेयरको किनबेचमा मन्दी छ। बजार पूरै मन्दीमा छ। घरहरु धमाधम खाली हुँदै गएका छन्।

काठमाडौं उपत्यकासहित देशभर कोठा, सटर र फ्ल्याट खाली भएका छन्। बैंक तथा वित्तिय संस्थमा बचत गर्नेहरुलाई चिन्ताका कारण रातमाा निन्द्रा लाग्दैन त दिनमा भोक।

तर, सरकार अझै सर्वसाधारणलाई बैंक तथा वित्तिय संस्थामा पैसा राख्दा आफु पनि चनाखो हुनु भनेर सचेत गराउँदैन। अर्कोतर्फ, बजारमा चहलपहल छैन । व्यापारहरु दिनभर व्यापार नै नहुने बताउँछन्।सटर खोल्नु र बन्द गर्नु मात्र काम भएको छ,उनीहरु भन्छन्। अहिले मालपोत, यातायातलगायत सरकारी कार्यालय वरपर समेत थुप्रै सटर, कोठा खाली देखिन्छन्।

कर्जा लिने कोही भएन भन्दै बैंकर्स संघका पदाधिकारीहरु अर्थमन्त्री भेट्न पुग्ने गरेका छन् । तर, अर्थमन्त्रीले ऋण लिने हो र ? कर्जा त सर्वसाधारणले लिने होइन र ! हिजो बैंकका कारण सयौं मानिसले आत्महत्या गरेको, करोडौं मानिस सुकुम्बासी भएको यर्थात् अझै छ । सर्वसाधारणको बैंकबाट विश्वास गुमिसकेको छ।

अनि कसरी उनीहरुले ऋण लिन्छन् ? आम नागरिकले ऋण मात्र लिन छोड्दा त बैंकको हालत यस्तै भइसक्यो भने बचत गर्न छोडेमा के होला ? त्यसैले, बैंकहरु पनि अब सुध्रिनुपर्छ। अटो व्यवसायी, सेयर व्यवसायी,घरजग्गा व्यवसायीहरु पनि अहिले अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाइसकेका छन्।

यद्यपि, बजार भने झनझन् नाजुक अवस्थामा पुगेको छ। अर्थमन्त्रीले नीतिनियम ल्याउने काम गर्न सक्छ तर बजार चलायमान गर्न सक्दैन। जबसम्म सर्वसाधारणले चाहँदैनन् तबसम्म बजार चलायमान हुने छैन। अहिले पैसा हुनेले पाँच सय र हजारको नोट घरमा लुकाइसके। पैसा नहुनेसँग त हिजो पनि थिएन र आज पनि छैन।

अब बजार चलायमान बनाउनु छ भने अर्थमन्त्रीले तत्काल एउटा निर्णय गर्नुपर्छ। त्यो हो पाँच सय र हजारको नोटमा प्रतिबन्ध। यसो गरेमा अहिले लुकाइएको सबै पैसा बजारमा आउने छैन। अर्थमन्त्री र प्रधानमन्त्री देश र जनताका लागि आवश्यक निर्णय गर्नमा भन्दा पनि ज्ञापनपत्र बुझ्न, फुलमाला वा खाँदा लगाउनमै सीमित भएका छन्।

प्रधानमन्त्री,अर्थमन्त्रीले अब ज्ञापनपत्र बुझ्ने होइन, अर्थतन्त्र सुधारका लागि तत्काल एक्सनमा जानुपर्छ। देश र जनताको हितका लागि धमाधम निर्णय गर्नुपर्छ। तर, केपीशर्मा ओली प्रधानमन्त्री भएको यत्रो दिन हुँदा समेत ज्ञापनपत्र बुझ्ने, फुलमाला र खाँदा लगाउनेबाहेक केही काम भएको छैन।