नेपाली विशेषताको समाजवाद ल्याउन सबै कम्युनिस्ट पार्टीहरू एक हुनुपर्छ: प्रकाण्ड सी 

कालिकोट। नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले नेपालको पछिल्लो व्यवस्थाभित्रको संकट समाधान नेपाली विशेषताको समाजवाद वाहेक अर्को विकल्प नभएको ठोकुवा गरेका छन्।

नेकपा कालिकोटले जिल्लाको सदरमुकाम मान्ममा शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेकपाका प्रवक्ता प्रकाण्ड सीले व्यवस्थाभित्रको संकट समाधान नेपाली विशेषताको समाजवाद वाहेक अर्को विकल्प नभएको बताएका हुन। उनले साजवादका लागि पहिलो कुरा माओवादी शक्तिहरु एक हुनुपर्नेमा जाेड दिएका थिए।  

उनले त्यसपछि कम्युनिष्ट शक्ति,देशभक्त,प्रगतिशील र लोकतन्त्रवादी शक्तिहरु एकहुनु पर्ने बताए। प्रवक्ता प्रकाण्डले नेपालमा नेताहरुले बुद्धि पु्र्याए शान्तिपूर्ण समाजवाद आउने सम्भावना रहेको पनि दाबी गरे।

उनले दलाल संसदीय व्यवस्थाभित्रको सिस्टमलाई बदलेर नेपाली विशेषताको समाजवादमा पुग्ने र त्यसको नेतृत्व नयाँ इमान्दार कम्युनिष्ट नेताले गर्नु पर्ने धारणा राखे।

प्रवक्ता प्रकाण्डले भने ‘नेपालमा पछिल्लो राजनीतिक संकटको अग्रगामि निकास नेपाली विशेषताको समाजवाद हो। समाजवादमा कोही कम्युनिष्ट शक्तिहरुको विमति छैन।

कांग्रेसले समेत प्रजातान्त्रिक समाजवाद भनेकाले काँग्रेस पनि समाजवादमा जानुपर्छ। जसले गर्दा नेपालमा नेताहरुको बुद्धि पुग्यो भने शान्तिपूर्ण समाजवाद आउने सम्भावना छ।

समाजवाद ल्याउन समाजवादी मोर्चा बनाउनु परेकाे बताए। यसमा सबै शक्तिहरुको सहभागीता हुने आसा छ। बरु अबको नयाँ व्यवस्थाको नेतृत्व नेकपाले नै गर्नुपर्ने बताएका छन्। 

उनले २०११ सालमै वीपीले ल्याएको प्रजातान्त्रिक समाजवादलाई कांग्रेसले समात्न नसकेको आरोप लगाए। इमान्दार कम्युनिष्टहरु समाजवादका लागि एक हुनुपर्छ’ उनले भने,जो दलाल पुँजीवाद र साम्राज्यवाद विरोधी शक्तिहरु एक हुनुको विकल्प छैन,प्रजातान्त्रिक आन्दोलनको शक्ति भित्रका प्रगतिशील लोकतन्त्रवादीसंग सहकार्य गर्नुपर्छ।

जनताको अधिकार र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न समाजवादी व्यवस्था चाहिन्छ। देशको समस्याको समाधानको सिद्धान्त समाजवाद मात्र हो।समाजवादी मोर्चा नेपालका केन्द्रीय सचिव समेत रहेका प्रवक्ता प्रकाण्डले नेपालमा नयाँ पोल्टिकल फोर्स आवश्यक रहेको जिकिर गरे।

उनले नयाँ पोल्टिकल कोर्स भित्र दलाल पुँजीवाद र साम्राज्यवादी विरोधी तथा समाजवाद ल्याउने शक्तिहरु हुने बताए। उनले भने ‘यसमा माओवादी,कम्यनिष्ट क्रान्तिकारीहरु,देशभक्त,लोकतन्त्रवादीहरु शक्तिहरु हुनेछन्, यो नयाँ पोल्टिकल कोर्सले व्यवस्था र राष्ट्रिय स्वाधीनतामाथिको समस्या समाधान गर्ने छ।

नयाँ पोल्टिकल कोर्सका लागि माओवादी केन्द्र,एकीकृत समाजवादी, वैद्य नेतृत्वको माओवादी,मोहनविक्रम नेतृत्वको मसाल,कांग्रेस भित्रको लोकतन्त्रवादी शक्ति लगायतकासँग छलफल भईरहेको बताए।

प्रवक्ता प्रकाण्डले एकपटक सरकारी अवसर लिएको व्यक्ति पटक –पटक अवसरका लागि जान नहुने पनि बताए। उनले अवको समाजवादी व्यवस्था भित्र त्यो लागु गर्नुपर्ने विचार व्यक्त गरे।

नेकपा कालिकोट जिल्ला सचिव तथा केन्द्रीय सदस्य बलवान् सीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको संचालन नेकपाका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज विवेक सीले गरेका थिए।

पत्रकार सम्मेलनमा युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष दिनेश सी, नेकपाका केन्द्रीय सदस्य अर्जुन सी,जिल्ला स्थिति विभिन्न मिडियामा कार्यरत पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो।