रोजगारीका लागि एकै वर्षमा ८ लाख नेपाली विदेशिए
काठमाडौं। रोजगारीका लागि एकै वर्षमा आठ लाख नेनेपाली विदेशिएका छन्।अध्यागमन विभागकाअनुसार आर्थिक वर्ष २०८०÷८१ मा ८ लाख बढी नेपाली रोजगारीका लागि विदेशिएका हुन्।
गत वर्ष विभिन्न उद्देश्यले विदेश गएका १६ लाख २१ हजार ५ सय ६६ जना नेपालीमध्ये ८ लाख ७ हजार ६ सय ९३ जना रोजगारीको सिलसिलामा विभिन्न देश पुगेका हुन्।
रोजगारी खोज्दै विदेश पुगेका अधिकांश नेपालीले कठिन परिश्रम गर्नुपर्ने बाध्यतामा रहेका छन्। कैयौं नेपालीहरू कामको सिलसिलामा अकाल मृत्युवरण गर्नसमेत बाध्य हुने गरेका छन्।
रोजगारी खोज्दै विदेश पुग्नेमा पुरुष ७ लाख १८ हजार ९ सय ८ र महिला ८८ हजार ७ सय ६३ जना रहेका छन्। अघिल्लो वर्ष २०७९÷८० मा भने सात लाख ७१ हजार ३२७ जना नेपाली रोजगारी खोज्दै विभिन्न मुलुक पुगेका थिए। तथ्यांकअनुसार अघिल्लो वर्षभन्दा गत वर्ष रोजगारी खोज्दै विदेश जानेको संख्या बढेको छ।
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार हाल प्रत्येक महिना औसतमा ६५ हजारभन्दा बढी र दैनिक झण्डै ३ हजार ३ सय नेपाली सुन्दर भविष्यको खोजी गर्दै विदेशतर्फ लाग्ने गरेको पाइएको छ।
वैदेशिक रोजगार विभागका अनुसार नेपालीले रोजगारकालागि रोज्ने देशहरूमा खाडी राष्ट्रमध्ये सबैभन्दा पहिलो युएई रहेको छ। हाल युएई, मलेसिया, साउदी अरेबिया,कतार,कुवेत,ओमान,बहराइन,दक्षिण कोरिया,जापान नेपालीका प्रमुख श्रम गन्तव्यका रूपमा रहेका छन्।
त्यसैगरी युरोपेली मुलुक क्रोएसिया, पोल्यान्ड, रोमानियालगायतका देशमा श्रम स्वीकृति लिएर गइरहेका छन भने अन्य युरोपेली मुलुकमा चोरबाटो प्रयोग गरेर जाने युवाको संख्या पनि उल्लेख्य रहेको छ।