सुदूरपश्चिम-काठमाडौं समाजवादी सम्पर्क मञ्चको प्रथम भेला सम्पन्न, शेरबहादुर सीको संयोजकत्वमा २१ सदस्यीय समिति गठन
काठमाडौं। काठमाडौं-सुदुरपश्चिम समाजवादी सम्पर्क मञ्चको प्रथम भेला आज सम्पन्न गरिएको छ। सोमबार काठमाडौंको वाल्मीकि क्याम्पसमा सम्पन्न गर्दै भेलाले शेरबहादुर विश्वकर्माको संयोजकत्वमा २१ सदस्यीय कार्यसमिति समिति चयन गरेको छ।
त्यस्तै विभिन्न पेशा,व्यवसायी र पठनपाठनको सिलसिलामा सुदुरपश्चिम स्थायी बसोबास भई काठमाडौं कर्मथलो बनाएका सुदुरपश्चिमेलीहरुका साझा समस्यालाई सम्बोधन गर्ने उदेश्यका साथ सम्पर्क मञ्चको सगठन गरिएको हो। त्यस्तै प्रदेश समितिको भेलाको म्यान्डेट अनुसार अब छिट्टै जिल्ला स्तरको संरचना बनाउन जिल्ला संयोजक समेत तोकिएको छ।
त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सुदुरपश्चिम इन्चार्ज भरत सी (रणबीर)ले अहिलेको यो व्यवस्थाले जनताहरूलाई खुशी दिन नसकेर त्यसको विकल्पमा समाजवादले मात्र जनतालाइ खुशी दिन सक्ने भएकाले सबै जनताले समाजवाद ल्याउन लाग्नुपर्ने बताए।
समाजवाद मान्ने सबैलाई समेट्न यो मञ्चको माध्यम उपयुक्त हुने र सुदूरपश्चिबाट काठमाडौं आएका सबैलाई एक ठाउँमा ल्याउन यो मञ्चको आवश्यकता परेको बताए।
त्यस्तै ८४ को निर्वाचनमा पार्टीले सहभागीता जनाउने भएपनि पुराना दलहरूले जसरी नेकपाले भाग नलिने स्पष्ट पारेका छन्। पार्टीले निर्वाचनमा भाग लिने भनेपछि पार्टी भित्रका नेताकार्यकर्ताले अहिलेदेखि नै आफु के बन्ने नबन्ने विषयमा छलफल गरिरहेका छन् भन्ने सुनेको छु,यदि त्यस्ता छलफल चलेका छन् भने त्यो अहिले नै आवश्यक छैन भने।
उनले भने पुराना पार्टीका नेताकार्यकर्ताहरूले गरे जस्तो छलफल अहिलेदेखि नै गर्ने हो भने उनिहरू र हामीहरू बीच केकाे भिन्नता हुन्छ त? त्यसैले त्यस्ता कुराको पछि भन्दा पार्टी निर्माणको पछि लाग्नु राम्रो हुने सुझाव दिए।
उनले भने यो मञ्चको उदेश्य भनेको सुदूरपश्चिमका सबै बासिन्दालाई काठमाडौंमा एक ठाउँ समेट्नु नै हो। सुदूरपश्चिमका ९ वटै जिल्ला र ८८ वटा स्थानीय तहका बासिन्दा काठमाडौंमा आउनु भएको छ उँहाहरूलाइ जोड्नु हाम्रो मूल उदेश्य रहने छ।
त्यस्तै सुदुरपश्चिम लगायत देशभरका नागरिकले शिक्षा,स्वास्थ, रोजगार र राष्ट्रिय स्वाधीनता सम्बन्धि समस्याहरू गणतन्त्र आएर पनि सम्बोधन हुन नसकेको भन्दै पुँजीवाद व्यक्तिकेन्द्रित व्यवस्था भएकोले मान्छे केन्द्रित र समाज केन्द्रित व्यवस्था जरुरी रहेको बताए।
थोरै मान्छेको हातमा अथाह सम्पत्ति केन्द्रीकरण गरिरहेको पुँजीवादी व्यवस्थाले विद्यमान समस्या समाधान गर्न नसक्ने भएकोले समाजवाद संकट समाधानको विकल्प भएको नेता रणबीरको भनाई थियो।
सम्पर्क मञ्चको भेलामा शुभकामना व्यक्त गर्दै नेकपा केन्द्रिय सदस्य एवम् अछाम इन्चार्ज मिना सी सरिताले बाकाबीर,भीमदत्त पन्त जस्ता योद्धाको बिद्रोह र बलिदानको पहिचान बनाएको सुदुरपश्चिम प्रदेश अझै क्षेत्रीय उत्पीडनमा परेकोले यसबाट मुक्त हुन सुदुरपश्चिमबासीहरु साझा मुद्दामा एक हुने बेला आएको बताइन्।
त्यस्तै कार्यक्रममा कर्मचारी संगठनका पूर्वअध्यक्ष गोपाल सिंह धामीले नेपालका हरेक आन्दोलन र परिवर्तनमा सुदुरपश्चिमको विशेष योगदान रहेको स्मरण गर्दै अब नेपाली विशेषताको समाजवादद्वारा समस्या समाधानमा केन्द्रित हुनुपर्ने बताए।
कार्यक्रममा नेकपा नेताहरू समर, सम्पर्क मञ्चका रत्न मगर, अखिल समाजवादीका उपाध्यक्ष ललित सी,नवयात्रा सहकारीका अध्यक्ष हर्क बहादुर बिश्वकर्मा,महिला नेतृ बिपना,ममता सुर्खेती लगायतको सहभागिता रहेको थियो।त्यस्तै युवा कलाकारहरु मनोज धामी,सरोज जप्रेल,दिलिप दास र बिनय रावलले गजल , कविता , गित र देउडा मार्फत कार्यक्रममा मनोरञ्जनसहित सन्देश सम्प्रेषण गरेका थिए।
शेरबहादुर बिश्वकर्माको अध्यक्षतामा भएको भेलामा तारा सञ्ज्यालले मन्तव्यद्वारा स्वागत गरेकी थिइन भने कार्यक्रमको सञ्चालन प्रकाश जप्रेलले गरेका थिए।