ललितपुरमा व्यवसायीमाथि खुकुरी प्रहार गर्ने ३ जना जेल चलान

काठमाडौं। ललितपुरको गोदावरी नगरपालिका–९ छेडामा व्यवसायी मनोज बाँनियामाथि खुकुरी प्रहार गरेको आरोपमा मुद्दा चलाइएका मध्ये तीन जना कारागार चलान भएका छन्। ललितपुर जिल्ला अदालतका न्यायाधीश धनिश्वर पौडेलको सोमबारको इजलासले तीन जनालाई पुर्पक्षका लागि काराचार चलानको आदेश दिएको हो।

कारागार चलान हुनेहरुमा ललितपुरको भैसेपाटीका बाबा भनेर चिनिने राजेश केसी, धराने भनिने विभाग गुरुङ र दीपक वान्तवा राई छन्। उनीहरुलाई नख्खु कारागार पठाइएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता तथा एसपी नरेशराज सुवेदीले जानकारी दिए।

त्यसैगरी पक्राउ परेका दुई जनालाई भने जनही ३ लाख धरौटीमा रिहा गर्न आदेश भएको छ। अदालतको आदेश अनुसार ३÷३ लाख धरौटी बुझाएर ललितपुरका सुरेन्द्र महर्जन र आलिंकन लामिछाने रिहा भएका छन्।

११ साउनमा ५ जनालाई पक्राउ प्रतिवादी र ३ जनालाई फरार प्रतिवादी बनाउँदै ललितपुर सरकारी वकिल कार्यालयले ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । फरार प्रतिवादीहरुमा प्रवीण महत, सुजन श्रेष्ठ र सोप्निल भण्डारी छन्।

यो घटनाका मुख्य योजनाकार हाल पुर्पक्षमा कारागार चलान भएका बाबा भनिने राजेश केसी हुन्। उनकै योजनामा बाँनियामाथि ७ असारमा खुकुरी प्रहार भएको निष्कर्ष प्रहरीले निकालेको थियो।

बाँनिया र बाबाबीच जग्गा सम्बन्धी विवाद भएपछि बाबाको समूहले बाँनियामाथि खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ। खकुरी प्रहारबाट घाइते भएका बाँनियालाई नख्खुस्थित मेडिसिटीमा उपचार गराइएको थियो। उनको बायाँ हात, खुट्टा र तीघ्रामा गहिरो चोट लागेको थियो। अहिले भने उनी डिस्चार्ज भइसकेका छन्।

खकुरी प्रहार घटनामा पक्राउ परेका अधिकांश व्यक्ति आपराधिक पृष्ठभूमिको रहेको खुलेको छ। धराने भनिने विभाग गुरुङ यसअघि ठगी र सरकारी कागजात कीर्ते प्रकरणमा फरार रहेका अभियुक्त हुन्।ठगी कीर्तेमा उनको समूहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो भने उनी फरार हुँदै आएका थिए।

दीपक वान्तवा राई भने बाँनियामाथि खुकुरी हान्ने मुख्य व्यक्ति रहेको खुलेको छ। उनी खुकरी प्रहार गर्नकै लागि भनेर धनकुटादेखि काठमाडौं आएको खुलेको थियो। राई यसअघि लागु औषधको कसुरमा जेल बसेर छुटेका व्यक्ति रहेको खुलेको प्रहरीले जनाएको छ।