ऐतिहासिक भौतिकवाद :आदिम साम्यवाद देखि वैज्ञानिक साम्यवादसम्मको मानवजातिको मुक्ति यात्रा
- हस्तबहादुर केसी
“आजसम्मको इतिहास वर्गसंघर्षको इतिहास हो।”
– कार्ल मार्कस
मानवजातिको विकास र परिवर्तनको यात्रा ज्यादै लामो र समृद्धशाली छ। वर्गसंघर्षको माध्यमबाट मानव जातिले विभिन्न युगहरु पार गर्दै अगाडि बढिरहेको छ। आदिम साम्यवाद (जंगली अवस्थाको तर वरणगबिहीन र राज्यबिहीन) बाट शुरु भएको मानव जातिको विकास र परिवर्तनको यात्राले मार्क्सवादका प्रतिपादक,द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका आविष्कारक कार्ल मार्क्स (१८१८ – १८८३) ले अण्वेषण गर्नुभए अनुसार फेरि पनि वर्गबिहीन,राज्यबिही वैज्ञानिक साम्यवादसम्म पुगेर टूंगिनेछ।
समाज परिवर्तन अर्थात् सामाजिक क्रान्तिको मुख्य कडीको रुपमा रहेको वर्गसंघर्ष सञ्चालनका क्रममा मानव जातिले आफ्नो वर्गीय मुक्तिको लडाइँमा अनगिन्ती उकाली-ओह्राली,हिंसा,हत्या,जेल नेल जस्ता अतुलनीय योगदान र बलिदान गर्दै आजको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगसम्म आइपुगेको छ उसको परिवर्तन र मुक्ति यात्रामा अझै भीषण वर्गसंघर्षको आँधी – बेरीको सामना गर्दै आफ्नो लक्ष्यमा पुग्नुपर्ने छ। मानव जातिको अन्तिम गन्तव्य स्थान (ठाउँ) भनेको वर्गबिहीन,राज्यबिहीन वैज्ञानिक साम्यवाद हो।
यस दार्शनिक आलेखमा मानव जातिले कुन-कुन युग पार गर्दै आएको छ र अन्तिम भविष्यका रुपमा रहेको वैज्ञानिक साम्यवादसम्म समाज विकासका सामान्य नियमहरुकाबारेमा सरल भाषामा र संक्षिप्त रुपमा प्रस्तुत गर्ने प्रयत्न गरिएको छ।
मानवजातिको यो यात्रा कहाँबाट र कहिलेदेखि शुरु भयो ? र कहाँसम्म पुगेर टुँगिन्छ ? भन्ने जिज्ञासा सबैमा हुनु स्वाभाविक छ। यो आलेखको मूल विषय पनि यही नै हो। मानवजातिको सामाजिक विकासको यात्रा आदिम साम्यवाददेखि भविष्यको वैज्ञानिक साम्यवादसम्म निरन्तर जारी रहेको छ।
मानवजातिको यो महान् परिवर्तन र विकास तथा विश्व सर्वहारा क्रान्तिको यात्रा सर्वप्रथम गोत्रबाट कविला र वर्गको जन्म तथा विकाससितै मानव समुदाय विभिन्न रुपमा विभाजित हुँदै आएको छ।
विकासको यो महान् प्रक्रियामा मानिसद्वारा मानिसमाथि हुने विविध प्रकारका शोषण ,उत्पीडन,अन्याय,अत्याचार देखा परेको थियो र पितृसत्तात्मक मविलातन्त्रीय समाजमा पुरुष समुदायद्वारा महिला समसदायमाथि उत्पीडनको प्रक्रिया शुरु भएको थियो।
दासमालिक समाजदेखि वर्गीय शोषण विकसित भएको थियो। दासमालिक।समाजमा दासमालिक वर्गले दास वर्गमाथि,सामन्तवादी समाजमा जमिनदार वर्गले किसान वर्गमाथि तथा पुँजीवादी समाजमा पुँजीपतिवर्गले सर्वहारा वर्गमाथि शोषण,उत्पीडन गर्दै आएका छन्।
यो सिंगो प्रक्रियामा वर्गीय अन्तर्विरोधका साथै लिंगीय,जातीय। क्षेत्रीय,नस्लीय तथा जातव्यवस्थापनसंग सम्बन्धित अन्तर्विरोधहरु पनि विद्यमान रहेका छन्। भारत र नेपालमा वर्ण व्यवस्थापनको जन्मसंगै शूद्ध जात अर्थात् दलित समुदायमाथि उत्पीडन हुँदै आएको छ यी सबै उत्पीडनहरुको अन्त्यका लागि नयाँ जनवादी र वैज्ञानिक समाजवादी क्रान्तिको प्रक्रियामा बढ्नु पर्छ।
अन्ततः मानव समुदायका बीचमा रहिआएका सबै शोषण तथा उत्पीडनहरुको अन्त्य र मानवीय मुक्ति वर्गबिहीन,राज्यबिहीन समानतामूलक नौलो संसार वैज्ञानिक साम्यवादमा पुगेपछि मात्रै प्राप्त हुने छ।
(लेखक : वरिष्ठ मार्क्सवादी चिन्तक,लेखक एवं अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुनुहुन्छ)।