नेता र सरकारी कर्मचारी सामान्य पेट दुख्दा विदेश जाने,जनता भने उपचार गर्ने पैसा नहुँदा आत्महत्या गर्ने
अनुसा थापा
धनी होस् या गरिब, बिरामी सबै हुन्छन् । तर, अस्पताल र डाक्टरहरुले बिरामीलाई हेर्ने नजर भने भिन्दै छ । सरकारी अस्पतालमै समेत धनी र गरिब बिरामीबीच विभेद गरेको देखिन्छ । धनी बिरामी भएर अस्पताल पुग्यो भने उसको लागि बेडको व्यवस्थापन भइहाल्छ । हुन त राजनीतिक पहुँच र पैसा भएर पनि होला।
डाक्टरहरुले पनि ती बिरामी हेर्न टाइम मिलाउँछन् । यद्यपि, गरिबलाई त बेड पाउन पनि मुस्किल छ । बेड नपाउँदा भुइँमै बसेर बिरामीको उपचार गरेको खबरहरु पनि बेलाबखत सार्वजनिक भइरहेको हुन्छ । गरिब बिरामीलाई डाक्टरले गर्ने व्यवहार निकै रुखो हुन्छ । उनीहरुलाई स्वास्थ्यकर्मीले मान्छे नै गन्दैनन् ।
सरकारले निजामती कर्मचारीका लागि सिभिल अस्पताल बनाएको छ । त्यहाँ निजामती कर्मचारीले धेरै छुटमा उपचार पाउँछन् । सुरक्षाकर्मीहरुको पनि आ–आफ्नो अस्पताल सञ्चालनमा छ । जनताको लागि के छ ? मुलुकभर जतिपनि सरकारी अस्पताल छन्, ती सबै लथालिङ्ग अवस्थामा छ ।
न पर्याप्त बेड छ, न त उपकरण । चिकित्सक पनि न्यून संख्यामा छन् । सरसफाइको अभाव त्यस्तै । सरकारी अस्पतालमा दुई वर्षसम्म पनि अपरेशनका लागि पालो पाइँदैन् । केही समयअघि पत्थरीको शल्यक्रियाका लागि दुई वर्षपछाडिको डेट दिएको विषयले निकै नै चर्चा पाएको थियो ।
दुई वर्षसम्म मान्छे नै मरिसक्छ अनि किन अपरेशन गर्नुपर्यो ? देशमा सबै धनी छैनन् । तर, यो कुरा सरोकारवालाले बुझ्दैनन् । शल्यक्रियाका लागि लामो समयसम्म पालो नआउने भएपछि ऋणधन गरेर पनि निजीमा जानैपर्यो । यो सबै सरकारी डुबाएर निजी उक्साउने प्रपञ्च हो ।
पैसा नहुँदा बिरामीहरु बसमार्फत नै यात्रा गर्छन् । कतिपय त हिँडेर अस्पताल जान्छन्, आउँछन् । जनताको यस्तो अवस्था छ, विडम्बना सरकारलाई मतलब छैन् । स्वास्थ्य उपचार शुल्क निकै मँहगो भयो । पछिल्लो समय त नाम मात्रको सरकारीझैं भएको छ । बिरामीको ज्यान बचाउने भन्दापनि व्यापार गर्ने थलो बनेको छ, अस्पताल ।
उपचार गर्नुअगावै पैसा तिर्न लगाउँछन् । औषधी पसलेले पनि औषधी दिनुअगावै पैसा माग्छन् । उपचार खर्च तिर्न नसक्दा कतिपयले अस्पतालकै छतबाट हाम्फालेको पनि हामीले सुनेका छौं । केही वर्षअगाडिको कुरा हो, एक जना किशोरले शिक्षण अस्पतालको छतबाट हाम्फालेर मरे ।
उनको मिर्गौला फेल भएको थियो । परिवारको कमजोर आर्थिक अवस्थाका कारण उनले उपचार गर्नुभन्दा पनि जीवन नै समाप्त पार्ने बाटो रोजे । अस्पतालले उपचारका नाममा मान्छेलाई सडकमा ल्याइदिन्छ । मान्छेको घरखेत सकिन्छ तर बिरामीको उपचार सकिँदेन् । यता, सबै सम्पत्ति उपचार खर्चमा लगाइसकेपछि पनि बिरामी बाँच्छ कि बाँच्दैन् ? टुंगो हुँदैन् ।
कतिपय लाश निकाल्न नसकेर अस्पतालबाटै भागेको घटनाहरु पनि छन् । केही वर्षअगाडि बुटवलमा एकदमै दुःखदायी घटना भयो । आमाले छोराको उपचारमा सबै सम्पत्ति सकाइन् । तर, छोरा बाँचेनन् । पछि उनीसँग लाश निकाल्ने पैसा पनि भएन् र उनी भागिनन् । हरेक अस्पतालले गरिब, विपन्नका लागि कुल बेडको १० प्रतिशत छुट्याउनुपर्ने नियम नै छ ।
तर, यो नियम लागु हुन सकेको छैन् । गरिबका लागि छुट्याएको बेडमा त पूँजीपति वर्गहरुले मोज गरिरहेका छन् । गरिब हेरेको हेर्यै । यता, सरकारले निःशुल्क दिएको औषधी चिकित्सकहरुले बेचेर पैसा आफ्नो गोजीमा हाल्छन् । गरिबले त एउटा सिटामोलसमेत पाउँदैन् ।
गरिबहरु बिरामी हुनेबित्तिकै जीवन अन्धकार देख्छन् । उपचार गर्ने पैसा नभएकाले उनीहरुले आत्महत्याको बाटो रोज्छन् । तर, जनताको करमा बाँचेकाहरु अलिकति पेट दुख्यो भने पनि उपचार गर्न विदेश पुग्छन् । पछिल्लो उदाहरण त देशकै राष्ट्रपति पनि हुन् । राष्ट्रपति हुनेबित्तिकै रामचन्द्र पौडेल लाखौं रुपैयाँ खर्च गरेर भारत गएर उपचार गराए ।
अन्य नेताहरु पनि बाहिर गएर उपचार लाउँँछन् । कर तिर्ने जनतालाई भने केही न केही । पछिल्लो समय घरघरमा माग्न आउने मिगौला पीडितको संख्या बढेको छ । मिगौलाको डाइलासिस गराउनलाई केही आर्थिक सहयोग गरिदिनु भन्दै माग्छन् । कर तिर्ने र भोट दिने जनताको अवस्था हो यो ।
कि माग कि जिन्दगी फाल, यो भन्दा अन्य विकल्प गरिब जनतासँग छैन् । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले करोडौं रुपैयाँ खर्च गरेर मिर्गौला फेरे । त्योपनि जनताले तिरेको करमा । पैसा र पावर भएपछि दुईटा मिर्गौला फेरेपनि मान्छे बाँच्ने रहेछन् । पैसा र पावर नहुनेहरु त ज्वरो आएपनि मर्नुपर्छ ।
जनताको अवस्था नाजुक छ । जनताको सेवा गर्न राखिएका कर्मचारीहरु कार्यालयमा जाँड खाएर बस्छन् । नेताहरुलाई भ्रष्टाचार गरेर भ्याइनभ्याइ छ । अनि जनताको हितमा कसले काम गर्छ ? यहाँ त जनता जाऊन् भाडमा, सरकारी कर्मचारी र नेतालाई के मतलब ? सरकारी कर्मचारीलाई के ‘टेन्सन’ ?
मिर्गौला फेल भएपनि उपचार गर्न राज्यको ढुकुटी छँदै छ । नेताको हकमा पनि त्यही हो । मर्ने त यहाँ सीधासाधी जनता मात्र हुन् । केपीले देश र जनताका लागि केही गर्लान् भनेर देश–विदेशमा उपचार गराइयो, जनताले तिरेको करमा । तर, उनले नै सरकारी जग्गा नै व्यक्तिको नाममा पास गरिदिए ।
नेपाललाई सतिले सरापेको देश भन्थे, हो नै रहेछ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका बेच्ने मन्त्री बन्छन् । चिप्लो घस्नेहरु जनताको मतबिनै मन्त्रीको कुर्सीमा पुग्छन् । जनताचाँहि खान र उपचार नपाएर मर्छन् । नेपालको संविधानले हरेक नागरिकको बाँच्न पाउने अधिकारको संरक्षण गरेको छ ।
जोसुकै होस्, उसले गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य पाउनैपर्छ । दुर्भाग्यबस्, व्यवहारमा संविधान लागु हुने सकेन् । यहाँ त जसको शक्ति, उसैको भक्ति छ । जसले सक्छ, उसले खान्छ, अरु ट्वाल्ल रमिता हेरेर बस्ने हुन् । गरिबको नाम बेचेर कसैले अंकुत सम्पत्ति जोडे । गरिबहरु आज पनि जहाँको त्यही छन् ।
गरिबहरु उपचार नपाएर मर्ने दिन कुरेर बसेका छन्, नेताहरु हाँछ्यु आउनेबित्तिकै अस्पताल पुग्छन् । योभन्दा धेरै हकअधिकार किन चाहियो ? धनी होस् कि गरिब, हुन त नेपाली नै हुन् । धनी र गरिब दुवै मान्छे हुन् । उसले राज्यलाई तिर्ने कर र दिने भोट त एउटै हो । तर, उनीहरुबीच विभेद किन ?
सरकारी डाक्टरहरुले जनताले तिरेको करबाट तलब खाएका छन्। जनता भनेपछि सबै परे, धनी मात्र होइनन्। यद्यपि, उनीहरु बिरामीबिच नै विभेद गर्छन्। धनी र पहुँचवाला बिरामी भयो भने हजुर–तपाईं भन्छन्। चिप्लो घस्छन्। तर, त्यही ठाउँमा गरिब बिरामी हुनुपर्छ, फर्केर पनि हेर्दैनन्।
हुन त धनी र पहुँचवालालाई राम्रो व्यवहार गर्दा धेरै उपकार पाइन्छ। यसको उदाहरण हुन्, डा अन्जान शाक्य। केपीले उनीमाथि कृपा बर्साइदिए। उनले केपीको मिर्गौला फेरेकी थिइन्। त्यसबापत उनले तलब लिएकी थिइन्। तर, केपीले उनलाई राष्ट्रिय सभाको सांसदमा मनोनित गरिदिए।
अनि त चिप्लो घस्नु स्वाभाविकै पनि हो। जनताले त त्यो पद दिलाउन सक्दैनन् । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी धेरैले सम्हालिसकेका छन् । तर, कुनैले स्वास्थ्य क्षेत्रमा सुधार गर्न सकेनन्। जो आउँछ, भ्रष्टाचार गर्छ अनि जान्छ । गगन थापा आए, भ्रष्टाचार गरे, हिँडे । अहिले काँग्रेसकै प्रदीप पौडेल छन्, उनी पनि सुधार गर्ने खालका देखिनन्।
नेता र सरकारी कर्मचारी त जनताको लाश बेचेर पनि भ्रष्टाचार गर्छन्। यस्तो देशमा जनताले के सुःख पाउँछन् ? नेता र सरकारी कर्मचारीका लागि जनता भर्याङ्ग हुन्। जनता जहाँ पनि माध्यम। जसले पनि लुट्ने, ठग्ने भएकैले जनता भनिएको रहेछ। कर्मचारी र नेताको दम्भ बढ्दै गयो,जसका कारण आत्महत्याको बाटो रोज्ने बढे।