ओली र बालेन पुन: भिड्ने मुडमा,बालेनविरुद्ध एमाले सिङ्गो पार्टी नै भिड्दै
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौँ महानगरका मेयर बालेन साहबिच बारम्बार जुहारी चल्दै आएको छ। बालेनविरुद्ध ओली मात्रै नभई एमाले सिङ्गो पार्टी नै लाग्ने गरेको छ ।
एउटा स्थानीय तहको प्रमुखसँग देशको कार्यकारी प्रमुखले सम्पूर्ण शक्ति लगाएर जोरी खोजिरहनु आफैमा हास्यास्पद कुरा हो। तर, ओलीले त्यही कुरा बारम्बार दोहोर्याइरहेका छन्। ओलीले मेयर बालेनको निर्णय कार्यान्वयन नगर्न समेत निर्देशन दिएका छन्।
सिंहदरबारमा मंगलबार संघीय सरकारका मन्त्री र सचिवहरूसँग ब्रिफिङ लिने क्रममा ओलीले धरहरामा भइरहेको पार्किङ हटाउन निर्देशन दिएका हुन्।
काठमाडौँ महानगरले तत्कालको ट्राफिक व्यवस्थापन र पार्किङ व्यवस्थापन भन्दै धरहरामा पार्किङ गर्ने व्यवस्था मिलाएको छ। तर, ओलीले धरहराको पार्किङ कुनै पालिका विशेषको हुन नसक्ने बताएका छन्। उनले धरहरा ‘कुनै पालिकाको होइन’ भनेर सिधा बालेनप्रति निशाना साँधेका हुन्।
काठमाडौँ महानगरपालिकाले गत माघ १४ गतेदेखि धरहरामा निःशुल्क पार्किङको व्यवस्था मिलाउँदै आएको छ। महानगरले न्युरोडमा कालोपत्रे सडकमाथि पार्किङ निषेध गरेर धरहरामा पार्किङको व्यवस्था मिलाएको हो।
साथै महानगरले काठमाडौँ टावर (साबिक पुरानो बसपार्क)मा पनि निःशुल्क पार्किङको व्यवस्था मिलाएको छ। ओलीले भने धरहरालाई आफ्नो ‘प्रतिष्ठा’सँग जोड्ने गरेका छन्।
पहिलोपटक प्रधानमन्त्री बनेका बेला उनले ‘मेरो धरहरा मैं बनाउँछु’ अभियान सुरु गरेका थिए। धरहरा नयाँ स्वरूपमा बनेपछि मेयर बालेनले ‘सेतो टावर’ भन्ने गरेका छन् । जस कारण एमाले वृत्त बालेनप्रति धरहराको विषयमा सकारात्मक छैनन्।
आफ्नो प्रतिष्ठाको विषय जोडिएको नयाँ धरहरालाई ‘सेतो टावर’ भन्ने बालेन नेतृत्वको महानगरलाई त्यसको जिम्मेवारी दिनमा ओली सशंकित देखिएका छन्। धरहरा पार्किङ खुलाउँदा नै बालेन र सरकार आमनेसामने भएको थियो।
त्यसबेला बालेनले सामाजिक संजालमा ‘सेतो टावर’ नै लेखेर पार्किङ गर्न नदिएकोमा विरोध जनाएका थिए। त्यसैबेला पनि एमालेबाट निर्वाचित जनप्रतिनिधिले बालेनको अभिव्यक्तिमा असहमति जनाएका थिए।
ओली र बालेनबीच अन्य विषयमा पनि टसल हुँदै आएको छ। काठमाडौँ महानगरले फुटपाथ बनाउन खनेको ठाउँलाई टाल्दै गरेका सडक डिभिजन काठमाडौँका कर्मचारी र सो गर्नबाट रोक्न तल्लीन नगर प्रहरीबिच न्युरोडमा घम्साघम्सी नै चल्यो।
महानगरपालिकाले गत जेठ १४ गतेदेखि वडा नम्बर २४ र २२ मा फुटपाथ बिस्तारको कार्य सुरु गरेको थियो। तर,त्यसविरुद्ध उच्च अदालत पाटनमा मुद्दा प¥यो।
अदालतको आदेश आएसँगै महाननगरपालिकाले न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार गरेको विषयमा स्थानीय तथा व्यवसायीले चार दिनसम्म विरोध गरेका थिए। जसको नेतृत्व एमालेबाट निर्वाचित वडाध्यक्ष चिनिकाजी महर्जनले गरेका थिए।
गत असार १७ गते सत्ता समीकरणमा उलटफेर भएपछि बालेनले ‘काले काले मिलेर खाऊ’ भन्दै नेपाली कांग्रेस र एमालेप्रति व्यङ्ग गरेका थिए। त्यस्तै उनले ‘यो समय गिरिबन्धु चियाको हो’ भन्दै एमाले अध्यक्ष ओलीप्रति कटाक्ष पनि गरेका थिए। बालेनले गिरीबन्धु टी–स्टेटबारे छानबिन हुनुपर्ने माग राख्दै आएका छन्।
केही समयअघि बालेनले सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै ओलीलाई गिरिबन्धु टी– स्टेटको घोटाला लुकाउन, १० हजार करोडको काण्ड लुकाउन जनता नझुक्काउन भनेका थिए। बालेनको उक्त आरोपबारे पत्रकारसँग संक्षिप्त प्रतिक्रिया जनाउँदै ओलीले आरोपबारे बालेनलाई नै सोध्नु भनेका थिए।
अहिले एमालेको सिङ्गो सङ्गठन नै बालेनविरुद्ध लागेको छ। बालेन अराजकतातर्फ उन्मुख भएको आरोप एमाले नेताहरूले लगाउने गरेका छन्। राजनीतिमा लागेर बालेन बिग्रिएको एमालेको ठहर छ।