आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं। सङ्घीय संसदअन्तर्गत तीन वटा समितिको बैठक आज बस्दै छ। संसद सचिवालयका अनुसार अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो।

बिहान ११ बजे सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ। बैठकमा गत आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ।

त्यस्तै बिहान ११ः ३० बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ। बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्ता सांसदहरूसँग छलफल गरिने छ।

दिउँसो १ बजे अर्थ समितिको बैठक बस्दैछ। समितिको कार्यकक्ष सिंह दरवारमा बस्ने बैठकमा अर्थ मन्त्री विष्णु पौडेलसँग राष्ट्रिय अर्थतन्त्रका समसामयिक विषयमा छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।