राजनीतिका चतुर खेलाडी प्रचण्डको बल्ल खुल्यो चेत,नयाँ योजनाका साथ पार्टीमा यसरी बन्दै सक्रिय

फाइल तस्बिर

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समकालीन राजनीतिमा चतुर खेलाडी मानिन्छन्। निवर्तमान प्रधानमन्त्री समेत रहेका प्रचण्ड पार्टीको जम्मा ३२ सिट भए पनि डेढवर्ष बढी प्रधानमन्त्री पद थमाउन सफल भए। यही प्रकारका राजनीतिक फेहरिस्त उनको जीवनमा धेरै छन्।

उनको राजनीतिक चतुर्याइँकै आधारमा उनलाई कतिपयले ‘डायनामिक’ नेताको रुपमा पनि चित्रण गर्ने गरेका छन्। तर प्रचण्ड चरित्रकै कारण मुलुक सँधै अस्थिरताको सिकार बनिरहेको छ।

तसर्थ प्रचण्डलाई ‘डायनामिक’ भनिएपनि अन्य कतिपयले उनलाई अस्थिर पनि भन्ने गर्छन्। हुन पनि हो, नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्र ल्याउनमा प्रचण्डको भूमिका अतुलनीय छ। तर त्यसपछि मुलुकले विकासको गति नलिनु पनि प्रचण्डको अस्थिरतासँग जोडिएको कतिपय नेताहरुले आरोप लागउने गरेका छन्। तर प्रचण्ड भने आफूलाई चलायमान माक्र्सवादी चरित्रसँग दाज्ने गर्छन्।

प्रचण्डले तत्कालीन शासन व्यवस्थाविरुद्ध १० वर्षे सशस्त्र युद्ध गरे। शान्ति सम्झौतापछि २०६४ भएको आमनिर्वाचनमा नेकपा माओवादी सबैभन्दा ठूलो दल बन्यो। प्रचण्डले आफ्नै नेतृत्वमा शक्तिशाली सरकार बनाउने अवसर पाए। तर यो सरकार ९ महिना बढी टिक्न सकेन।

त्यसपछिका सबै निर्वाचनमा माओवादी तेस्रो दल बन्दै आएको छ। तरपनि प्रचण्डले त्यसयता दुई पटक सरकारको नेतृत्व गर्ने अवसर प्रप्त गरे भने, माओवादी धेरैजसो समय सरकारमै रह्यो।

साथै माओवादी विभन्न पटक सरकार गिराउने र बनाउने भूमिकामा पनि रहँदै आएको छ। यहीबीचमा दर्जनभन्दा बढी सरकार परिवर्तन भए। यो नै मुलुकको अस्थिरताको मुख्य मापक हो।

यसबीचमा ७४ सालको निर्वाचनपछि बनेको ओली नेतृत्वको सरकार नै सबैभन्दा लामो समय टिकेको सरकार हो। तर माओवादीसहित नै बनेको उक्त सरकार प्रचण्ड–ओलीको बेमेलताकै कारण ढल्न पुग्यो। स्मरण रहोस् माओवादीले ०७४ सालको आम निर्वाचनमा एमालेसँग गठबन्धन गरेपनि स्थानीय तहमा भने काँग्रेससँग तालमेल गरेको थियो।

माओवादी केन्द्रले गिर्दो शक्तिबाट बच्न निर्वाचनमा विभिन्न दलसँग गठबन्धन गर्ने गरेको छ। ०७४ को निर्वाचनमा एमाले र माओवादी नै गठबन्धन गरेर निर्वाचनमा होमिए। यसको परिणाम राम्रै आएपनि ओली–प्रचण्डबीच अस्थित्व र स्वामित्वको लडाइँ हुँदा सरकार ढल्यो।

यसपछि ०७९ सालको आम निर्वाचनमा पनि माओवादीले काँग्रेससँग गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय गर्यो। तर निर्वाचनपछि कस्को नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा विवाद भयो।

केही गर्ने हुटहुटी व्यक्त गर्दै सरकारको नेतृत्व गर्न पुगेका प्रचण्डले डेढवर्षकै अवधिमा ४ पटक विश्वासको मत लिए। समीकरण बदली रहने प्रचण्डले एमालेको समर्थन पाउँदा काँग्रेसलाई प्रतित्रियावादीको रुपमा चित्रण गर्थे भने, काँग्रेसको समर्थन पाए एमालेलाई नै प्रश्चगामी देख्थे।

प्रचण्डको यही अस्थिर चरित्रको कारण अहिले काँग्रेस र एमालेले नै मिलेर सरकार गठन गरेका छन्। काँग्रेस र एमालेको मिलनले माओवादी भने केन्द्र किनाराकृत हुनुपरेको छ। कुनै बेला एकै दलमा हुँदा ओलीलाई भित्तामा पुर्याउने अभिव्यक्ति दिने प्रचण्ड ठिक अहिले आँफै भित्तामा पुगेका छन्।

अनपेक्षित रुपमा दुई ठूला दलहरु मिलेर सरकार बनाएपछि प्रचण्ड झस्किएका छन्। यही झस्काइले उनको चेत खुलेकोे छ। उनी अब संगठन निर्माणमा केन्द्रीत हुने मुडमा पुगेका छन्। सँधै सत्ता केन्द्रीत राजनीतिमा रुमालिने प्रचण्डले संगठन निर्माणमा ध्यान दिएका थिएनन्। तर अब भने प्रचण्ड जनतामाझ जाने निश्कर्षमा पुगेका छन्।

प्रचण्डले यसअघि नै ०८४ मा माओवादी एक्लै चुनाव लडेर जित्ने र भ्रष्टहरूलाई बढार्ने अभिव्यक्ति दिइरहेका छन्। उनले पार्टीको पदाधिकारी बैठकमा पनि नेताहरुलाई यस्तै ब्रिफिङ गरेका थिए।

आफ्नो पछिल्लो १८ महिने कार्यकामा सुशासन, सामाजिक न्यायका पक्षमा काम गरेको प्रचण्डको दावी छ। जनता र माओवादीको सम्बन्ध टुटेको आभाष गर्दै अध्यक्ष प्रचण्डले अब पार्टी पङ्तीलाई नै सुख दुःख बुझ्न र समस्या सुन्न देशैभर जान निर्देशन दिन थालेका छन्।

माओवादी शान्ति प्रकृयामा आएदेखि हालसम्म विभिन्न चरणमा सरकारको नेतृत्व गरेको छ। त्यतिमात्रै नभइ माओवादी धेरैजसो समय सरकारमै रहँदै पनि आएको छ। सँधै सत्ताको पछि लाग्दा जनाधार गुमाएका प्रचण्ड काँग्रेस एमालेको मिलनपछि भने चेतिएका छन्। यो सँगै माओवादी जनतामा जान बाध्य स्थितिमा पुगेको छ।