नारायणी किनारको बाघ नियन्त्रणमा
प्रेम प्रसाद कडेल
भरतपुर। नारायणी नदी किनारमा आइतबार बिहान मानिसलाई आक्रमण गरेको बाघ झण्डै १५ घण्टापछि नियन्त्रणमा आएको छ।
बाघले आइतबार बिहान मङिङ्गवाकमा हिडेका नारायणगढ बेलटाँडीका ६० बर्षिय पशुपति श्रेष्ठलाई ५:२० बजे तिर किनारमा आक्रमण गरी घाइते बनाएको थियो।
बाघ नियन्त्रणमा लिन चितवन निकुञ्जका पशु चिकित्सक र हात्तीसहित राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा प्राविधिकहरू पनी खटिएका थिए।
बिहान नारायणगढको नारायणी नदीको किनारमा मर्निङ वाकमा जाँदै गरेका श्रेष्ठलाई बाघले आक्रमण गरेपछि उक्त नरभक्षी बाघ नजिकैको लिलाचोकको पश्चिम पट्टिको झाडीमा दिनभर लुकेर बसेको थियो।
उक्त बाघलाई नियन्त्रणमा लिन ल्याएको दुई वटा हात्ती बाघको गर्जनको डरलाग्दो रुपबाट तर्सिएर माहुते छोडेर भागेका थिए। पछि सौराहाको दुई हात्ती र अर्को थप एक हात्ती गरी तिन हात्ती र प्राविधिकको प्रयासबाट हात्ती डार्ट गरेर नियन्त्रणमा विशेषज्ञले करिब पैंतालिस मिनेटमा नियन्त्रणमा लिएको थियो।
नियन्त्रणमा लिएको बाघलाई उक्त स्थानबाट चितवन राष्ट्रीय निकुन्जमा लगिएको छ। बाघ नियन्त्रणमा आएपनि तर्सिएर भागेको हात्ती अहिले नियन्त्र बाहिर छ। उक्त हात्तीको खोजी कार्य भैईरहेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ।