दर्शन: मार्क्सवादी दर्शन

कार्ल मार्क्स ( १८१८ – १८८३ र फ्रेडरिक एंगेल्स ( १८२० – १८९५ ) मार्क्सवादी दर्शनका संस्थापक हुनुहुन्छ। विश्व मै पहिलो सर्वहारा वर्गको राजनीतिक संगठित दस्ता कम्युनिस्ट संगठन कम्युनिस्ट लिगको तर्फबाट सन १८४८ फेब्रुअरी २१ का दिन जुन मार्क्स-एंगेल्सद्वारा  विश्वविख्यातकम्युनिस्ट घोषणापत्र लण्डनबाट जारी गरियो, त्यो नै विश्व सर्वहारा वर्गको मुक्तिको मार्गदर्शक सिध्दान्त बन्यो। र,मार्क्स-एंगेल्सद्वारा विश्व सर्वहारा वर्गको विश्वदृष्टिकोणका रुपमा रहेको मार्क्सवादी दर्शन    द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनको अण्वेशन गरियो ,त्यो एक ऐतिहासिक तथा युगान्तकारी परिघटना थियो । त्यस परिघटनाले दार्शनिक क्षेत्रमा ठूलो क्रान्ति ल्याइदियो।

त्यसपछि विश्व सर्वहारा वर्गले पहिलोपटक आफ्नो वर्गीय मुक्तिको मार्क्सवाद,दर्शनको रुपमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद र आफू संगठित हुनका लागि कम्युनिस्ट पार्टी ( संगठन ) प्राप्त गर्यो। 

यसरी कार्ल मार्क्स – फ्रेडरिक एंगेल्स मार्क्सवाद तथा मार्क्सवादी दर्शनका संस्थापक हुनुहुन्छ । पुँजीवादी समाजमा पुँजीपतिवर्ग र सर्वहारा वर्गबीचको वर्गसंघर्षको अवस्था,प्रकृतिविज्ञानका नयाँ नयाँ खोज – अनुसन्धानहरु र जर्मन शास्त्रीय दर्शन,बेलायतको राजनीतिक अर्थशास्त्र र फ्रान्सको समाजवाद मार्क्सवादको जन्मका भौतिक तथा सैध्दान्तिक आधार बन्न पुगेका छन्। 
   
दर्शनको स्वरुप र आधार वर्गीय हुन्छ । दर्शन समय सापेक्ष हुन्छ। युग अनुरुप दर्शनको पनि विकास हुँदै आएको छ।पुँजीवादी दर्शनमा काण्टदेखि लिएर हेगेल एवं फायरवाखसम्म आउँदा दर्शनमा जुन समस्या पैदा भएका थिए,मार्क्स र एंगेल्सले तिनको समाधान गर्नु भयो । 
       
मार्क्सवादी दर्शनको नाम द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद हो।मार्क्सवाद सर्वहारा वर्गको समग्र विचारधारा हो।दर्शन,राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद तीन तत्व मिलेर मार्क्सवाद बनेको छ। वर्गसंघर्ष , इतिहासमा बलप्रयोगको भूमिका ,सर्वहारावर्गको अधिनायकत्व,वैज्ञानिक समाजवाद तथा साम्यवाद यी मार्क्सवादको इतिहासमीमांसा ( इतिहासको ज्ञान ) का मूल विषय हुन्। 
   
दर्शनलाई विज्ञानको एउटा विशिष्ट विज्ञानको अर्थमा विश्वदृष्टिकोणका रुपमा परिभाषित गर्नु,दर्शनशास्त्रको वैज्ञानिक अध्ययनका लागि मौलिक प्रश्नको समस्या सही ढंगले हल गर्नु,द्वन्द्ववाद र भौतिकवादलाई एकै ठाउँमा मिलाई द्वन्द्वात्मक भौतिकवादी दर्शनको स्थापना गर्नु,वैज्ञानिक समाजवाद र वैज्ञानिक साम्यवादको विचारधारालाई केन्द्रविन्दुमा राखि भौतिकवादको सिध्दान्त र द्वन्द्ववादको पध्दति अबलम्बन गरि नयाँ दार्शनिक प्रणालीको निर्माण गर्नु मार्क्सवादी दर्शनका मूलभूत विशेषताहरु हुन् । 
     
स्रशताब्दीका पहिलो पुरुष मार्क्स र एंगेल्सको समकालीन सन्दर्भ र त्यसयता दर्शनमा निकै विकास हुँदै आएको छ। यो १७६  वर्षको अबधि  साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको अबधि हो।
 
यस अबधिमा पेरिस कम्युन,महान् अक्टोबर समाजवादी क्रान्ति,पूर्वी युरोपका २० आौ देशहरूमा सोभियत मोडलको समाजवाद स्थापना,महान् चिनिया नयाँ जनवादी क्रान्ति,कोरिया  भियतनाम,कम्वोडिया,क्युवामा जनवादी तथा समाजवादी क्रान्तिहरु सम्पन्न भए।
 
यद्यपि आज ती वैज्ञानिक समाजवादी देशहरूमा प्रतिक्रान्ति भई पुँजीवादको पुनःस्थापना भएको भए पनि विश्व सर्वहारा वर्गको संघर्षको इतिहास ताजा मात्रै छैन , विश्व सर्वहारा वर्गका लागि ठूलो शिक्षा आज पनि कायमै छ र भविष्यमा कायमै रहनेछ । क्रान्ति पछि प्रतिक्रान्ति पनि हुन्छ भन्ने कुरामा विश्व सर्वहारा वर्ग सचेत नै छ।
 
साम्राज्यवादी युगको पुँजीवादी दर्शन , संशोधनवादी दर्शन र मार्क्सवादी – लेनिनवादी – माओवादी दर्शन । साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको दर्शनकाबारेमा समग्र विषय प्रस्तुत गर्न यो सानो दार्शनिक आलेखमा सम्भव भएन। अर्को दार्शनिक आलेखमा अलि समग्रमा प्रस्तुत गर्ने कोसिस गर्नेछु। आजलाई यत्ति नै।
 
(लेखक : वरिष्ठ मार्क्सवादी चिन्तक-लेखक एवं अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुनुहुन्छ)।