सत्तापक्ष ओली र प्रतिपक्ष रवि लोकप्रियतामा लिप्त, काम भन्दा पनि स्टन्टमा रमाउदै

काठमाडौं। नेपाली राजनितिमा अहिले के सत्तापक्ष के प्रतिपक्ष, नयाँ–पुराना सबै राजनीतिक दलका नेताहरुको राजनीतिक स्टन्टबाजीको प्रतिस्पर्धा नै चलिरहेको छ। सरकारका मन्त्रीहरु मात्र नभइ प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेताहरुको स्टन्टले हद पार गरेको नेपाली जनताले महसुस गरिरहेका छन् भने जसले गर्दा सस्तो लोकप्रियतामा लिप्त नेताहरुको चौतर्फी आलोचना हुँदै गएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीदेखि ओली क्याबिनेटका मन्त्रीहरुलाई मैदानमा उत्रिन भ्याईनभ्याइ छ। प्रधानमन्त्री ओली आफैँ अनेक निर्णय र निर्देशनको चाङ लगाउन उदत्त हुँदा उनका मन्त्रीहरु झन् के कम रु स्थलगत निरीक्षण गर्ने र निर्देशन दिने प्रतिस्पर्धा नै चलाई रहेका छन्।

विगतमा मन्त्रीहरु नागरिकको समस्या बुझ्न जाँदा होस् या कामको प्रगति विवरण बुझ्न मैदानमा उत्रिँदा स्टन्टबाजीको संज्ञा दिने अहिलेका सत्तारुढ दलका मन्त्रीहरु आफैँ त्यहि स्टन्टबाजीको बाटोमा दौडिरहेका छन्।

मन्त्रीहरुको स्टन्ट राहदानी विभागदेखि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग हुँदै नयाँ संसद् भवनसम्मै चलिरहेको छ। निर्देशनको चाङ लगाएका प्रधानमन्त्री ओलीले सोमबार काठमाडौं तराई मधेश जोड्ने द्रुतमार्ग निमार्ण कार्यको अवलोकन गरे।

धरहराभन्दा अग्लो उचाइ रहेको पुल निर्माणस्थल पुगेर ओलीले द्रुतमार्ग निर्माणमा भइरहेको प्रगतिको अवलोकनका साथै आवश्यक निर्देशन दिन समेत भ्याए। नेपालमा केही भएन भन्ने भाष्य द्रुतमार्गले खण्डन गरेको प्रधानमन्त्री ओलीले जिकिर गरे। तर प्रधानमन्त्रीको यो कार्य पनि स्टन्टबाजी नै भएको टिप्पणी
भइरहेको छ।

प्रधानमन्त्रीदेखि मन्त्रीहरुसम्म कसरी चर्चामा आउन सकिन्छ भन्ने रणनीतिमा केन्द्रित हुँदा नागरिकको समस्या भने ओझेलमा परिरहेको छ। परराष्ट्रमन्त्री आरजु राणा, उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह हुँदै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसम्मै स्टन्टबाजीको प्रतिस्पर्धा चलिरहेको छ।

विगतमा धादिङमा ठेकीमा मोही नै पारेर हुर्केका कृषिमन्त्रीले धादिङमै मोही पारेका भए सायद यो सामान्य हुँदा हो। तर दरबारमार्गको क्याफेमा मोही पारेको दृश्यले उनी आफैँलाई गिज्याइरहेको छ।

अझ उदेक लाग्दो त के छ भने सर्वसाधरण हैजा संक्रमण र डेंगुको डरमा बाचिरहेका छन्। नागरिकको स्वास्थ्य जस्तो गम्भिर विषयमा सरकार के गर्दैछ रु यस्तो अवस्थामा स्वास्थ्यमन्त्रीको खोजी भइरहेको छ। तर काठमाडौंकै सांसद स्वास्थ्यमन्त्री प्रदिप पौडेल कुन दुलोमा छन् अत्तोपत्तो छैन।

संघीय राजधानीमा दिनदहाडै सांसदमाथि सार्वजनिकस्थलमा दुव्र्यवहार हुन्छ। सांसदले नै सदनमा पुगेर सरकारसँग सुरक्षाको हारगुहार गर्नुपर्ने अवस्थाले गृह प्रशासनमाथी प्रश्न तेर्सिएको छ।

मन्त्री हुनासाथ मैदानमा उत्रिएर राष्ट्रिय परिचयपत्र वितरण कार्य सुस्त भएको भन्दै असन्तुष्टि जनाउन भ्याएका गृहमन्त्री रमेश लेखकको सुरक्षा संयन्त्र किन सुस्त भन्ने प्रश्न पेचिलो बनेको छ।

अहिले प्रधानमन्त्री र मन्त्रीहरुको स्टन्टले मात्रै चर्चा पाएको छैन। त्यसलाई पनि मात खुवाउने गरी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गाइजात्रे लीला देखाइरहेको छ। केही दिनअघि मात्रै क्लोज क्याम्प बसेर बाहिर आएको रास्वापका नेताहरु अहिले सार्वजनिक यातायातमा चढेर अर्को नाटक मञ्चन गरिरहेका छन्। सार्वजनिक यातायात चढ्दै फोटो खिचाउने र चर्चा बटुल्ने होडबाजी नै चलेको रास्वपा नेताहरुमा देखिएको छ।

स्टन्टका नाइके सभापति रवि लामिछानेदेखि उपसभापति डीपी अर्याल, स्वर्णिम वाग्ले र नेताहरु तोसिमा कार्की, रमेश प्रसाईं लगायतका नेताहरु सार्वजनिक बसमा सवार गर्ने र फोटो खिचाउने जात्रा देखाइरहेका छन्। युटुबरहरुको हुल बोकेर,पोज पोजमा खिचाएको फोटो र भिडियोले सामाजिक सञ्जाल पोतिए पनि रास्वपाको चटके चरित्रको तीव्र आलोचना भइरहेको छ।

सरकारमा भएका र सरकार बाहिर रहेका दलका नेताहरु स्टन्टबाजीमा लाग्दा जनजीविकाको सवाल भने ओझेलमा परिरहेको छ। चर्चा बटुल्ने ध्याउन्नले आफैँ आलोचना खेप्नु पर्ने अवस्थामा उनीहरु पुगेका छन्।

क्षणिक लोकप्रियताका लागि गरिने निर्णय र दिइने निर्देशन देख्दादेख्दा सर्वसाधारण नागरिक थाकिसकेका छन्। सत्तापक्ष, प्रतिपक्ष नयाँ पुरानाको ‘स्टन्टबाजी चरित्रको चौतर्फी आलोचना भइरहेको छ।

मन्त्री र मन्त्री भइसकेका तथा मुलुकको मुहार फेर्ने हुँकारसहित राजनीतिमा आएका नेताहरुको यो हर्कतले नागरिक हैरान छन्। तर नेतृत्वको ध्यान नीतिभन्दा फगत सस्तो लोकप्रियताको नाटक मञ्चनमै केन्द्रित हुनु नेपाली जनता र देशका लागि विडम्बना नै हो।

अहिले नेपाली राजनितिमा देखिएका यस्ता स्टन्टबाजीहरूले जनताका समस्या समाधान भन्दा पनि निम्त्याउने काम गरिरहेको सर्बसाधारणले महसुस गरिरहेका छन्। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कुरा धेरै र काम केही पनि नगर्ने खालको प्रवृत्तिले नेपाली जनतालाइ थप पिडा गराएको छ।