पर्यटनमन्त्रीद्वारा हेलिकोप्टर दुर्घटनास्थल निरीक्षण

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले एयर डाइनेष्टिको हेलिकोप्टर दुर्घटनास्थलको निरीक्षण गरेका छन्।

बिहीबार बिहान मन्त्री पाण्डेसँगै मन्त्रालयका सचिव, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पदाधिकारी, सुरक्षा निकायका प्रतिनिधि र नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायतले नुवाकोटको शिवपुरी गाउँपालिका– ७ सूर्यचौर पुगेर हेलिकोप्टर दुर्घटनास्थलको निरीक्षण गरेका हुन्।

मन्त्री पाण्डे बुधबारै दुर्घटनास्थलमा जाने तयारीमा थिए। तर, हेलिकप्टर दुर्घटनाको विषयलाई लिएर मन्त्रिपरिषद्को आकस्मिक बैठक तय भएकाले संभव नभएको उनको सचिवालयले जनाएको छ।

बुधबार दिउँसो नुवाकोटमा एयर डाइनेष्टिको ९ एन एजेडी कलसाइनको हेलिकोप्टर दुर्घटना हुँदा एक नेपाली पाइलट र चार चिनियाँ नगरिक गरी पाँच जनाको मृत्यु भएको थियो । उनीहरुको शव त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा आज पोर्टमार्टम गर्ने तयारी भएको छ ।