प्राधिकरणको नाफामा डेडिकेटेड र ट्रंकलाइनको महसुल जोडिएको छैन: कुलमान घिसिङ
काठमाडौं। विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइनको बिल नाफामा नजोडिएको प्रस्ट पारेका छन्।
आफ्नो तीन वर्षे कार्यकाल पुरा भएको अवसरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक घिसिङले विवादित डेडिकेटेड र ट्रंक लाइनको बिल नाफामा जोड्यो भनेर हल्ला गरेकोमा आफुलाई दुःख लागेको बताए।
उनले अघि भने,८ वर्षअघि करिब ३४ अर्ब ६१ करोड सञ्चित घाटामा रहेको विद्युत् प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड सञ्चित नाफामा गएको छ। समग्रमा यतिबेला विद्युत् प्राधिकरण ८२ अर्ब रुपैयाँ नाफा देखिन्छ। तर यो विद्युत् महसुल वृद्धि गरेर र कुनै डेडिकेटेड र ट्रंक लाइनको बिल जोडेर भएको होइन।
धेरै ठाउँमा विद्युत् प्राधिकरणले फर्जी नाफा देखायो,डेडिकेटेड र ट्रंक लाइनको बिललाई जोडेर देखाइयो भनेकोमा दुःख व्यक्त गरे। तथापि,डेडिकेटेड र ट्रंक लाइनको केही बिलको अंश परेपनि अरु नाफा व्यवसाय विस्तारबाटै भएको घिसिङले दाबी गरे।
‘यो सबै हिसाब महालेखा परीक्षकले गरेको अडिटबाट आएको हो। यसलाई कसरी गलत भन्ने?उनले भने। गएका वर्षमा तीन तीन पटक गरी विद्युत् महसुल २५ प्रतिशतले घटाइए पनि प्राधिकरणको नाफा बढेको उनको भनाइ छ।
प्राधिकरणको ५९ लाख ग्राहकमध्ये २२ लाख ग्राहकलाई न्यूनतम शुल्क ३० रुपैयाँमा नै विद्युत् उपलब्ध गराइएको,सिँचाइमा प्रतियुनिट २ रुपैयाँमा विद्युत् उपलब्ध गराइएको र खानेपानी लिफ्टिङ डिमान्डमा विद्युत् निःशुल्क र सहुलियत गरिएको घिसिङले बताए।