जनतालाई आशावादी बनाउदै ओली,प्रधानमन्त्री भएपछि के–के गरे त काम ?
काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय संयमित हुँदै काममा व्यस्त देखिएका छन्। प्रधानमन्त्री ओली उखान टुक्का भनेर चर्चामा आइरहने पात्रका रूपमा परिचित हुँदै आएका थिए। तर प्रधानमन्त्री भएपछि ओलीले काम गर्ने आशा जगाउने र पार्टीलाई समेत सुदृढ बनाउने बाटोमा रहेका छन्।
उनी पछिल्लो समय फिल्म खेल्नेदेखि विकास परियोजनाको अवलोकन गर्नसम्म पुगिरहेका छन्। संसद विघटन गरेर व्यवस्थाविरुद्ध धावा बोलेको विगतकाबीच संसदीय समितिमा समेत जान भ्याएका प्रधानमन्त्री ओली के कस्ता काममा व्यस्त हुँदै आएका छन् त।
त्यस्तै क्रिकेट र त्यसैसंग केन्द्रित रहेर पहिलो निर्णय गरेका प्रधानमन्त्री ओली चौथो कार्यकालको रफ्तारमा छन्। फलतः कीर्तिपुर क्रिकेट मैदानलाई सुविधा सम्पन्न रंगशाला बनाउने पहिलो निर्णय गरेका उनी त्यसपछि पनि निरन्तर त्यसमा चासो राख्दै आएका छन्।
त्यसका लागि उनले नेपाल क्रिकेट संघका पदाधिकारी, खेलाडी, खेलप्रेमी र पत्रकारसंग भेटघाट नै गरेका थिए। यो त उनको लोकप्रियता टिप्ने विषय छनौट पनि हुनसक्छ। तर उनी यतिमात्र नभएर सामाजिक सन्जालमा पनि उक्तिकै सक्रिय छन् भने फिल्मसमेत खेल्न भ्याइसकेका छन्।
भदौ ७ मा प्रदर्शनमा आउन लागेको फिल्म ‘नमेटिने घाउ’ मा प्रधानमन्त्री ओलीको अभिनय हेर्न सकिने छ। त्यसका लागि उनले गरेको स्वरांकन अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।
उनलाई समेटेर फिल्म युनिटले पोस्टर नै सार्वजनिक गर्दा ओलीले फिल्मका लागि संवाद रेकर्ड गराएको खबरले फिल्मप्रेमीको मात्र नभई राजनीतिज्ञको ध्यान पनि तानेको थियो।
सधैँ चर्चामा रहने धरहराको विषय होस् कि काठमाडौं–तराई मधेश द्रुतमार्गको विषय होस्, उनी त्यसमा पनि केन्द्रित छन्। फलतः ओलीको सय दिने उपलब्धि कार्यक्रममा उनैले शिलान्यास गरेको धरहरा सञ्चालनमा आउने भएको छ।
यसका लागि धरहरालाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन उनले सहरी विकास मन्त्रालयलाई निर्देशन नै दिएका छन्। यहीबीचमा उनी फाष्ट ट्रयाक अनुगमनमा समेत पुगेका छन्। जहाँ उनले मकवानपुरको बकैया गाउँपालिका–१२ धेद्रेमा एक समारोहबीच काठमाडौं–निजगढ तर्फको एक दशमलव सात सय २८ किमी लामो सुरुङ ब्रेक नै गर्न भ्याए।
जुन समारोहलाई सम्बोधन गर्दै द्रुतमार्ग अघि बढाउने सन्दर्भमा देखिएका राजनीतिक र आर्थिक बाधा व्यवधानलाई समाधान गर्न सरकार तत्पर रहेको बताएका उनले नेपालमा केही भएन भन्ने भाष्यलाई यसले खण्डन गरेको समेत बताए।
यही बीचमा प्रधानमन्त्री भएपछि पहिलो पटक संसदीय समिति बैठकमा उपस्थित भए। विगतमा संसद छल्न खोजेको र संसदलाई नै विघटन गरेर व्यवस्थाविरुद्ध जान खोजेको आक्षेपकाबीच उनको यो कदमले समेत सकारात्मक सन्देश प्रवाह गरेकै रुपमा हेरिएको छ।
त्यस्तै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसंग भिडन्त बढिरहेका बेला उनले उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग बुधबार सिंहदरबारमा भेट गरेका थिए। जहाँ उनले ‘को भन्दा को ठूलो’ भन्ने ढङ्गले नभई केन्द्र र स्थानीय सरकारबीच समन्वयका साथ मिलेर समस्याको समाधान गरी जनतालाई सेवा दिनुपर्नेमा जोड दिएका थिए।
यही बीचमा संसद विजनेसविहीन भएको विगतदेखि कै प्रश्नहरुलाई समेत उनी सम्बोधन गर्ने क्रममा छन्। फलतः समितिहरूमा विचाराधीन विधेयकहरू अड्किँदा प्रतिनिधिसभा बैठक नै प्रभावित बनेको बताउँदै उनले समितिमा विधेयक नअल्झाउन आग्रह नै गरेका छन्। यी सबै काम उनको रफ्तारकै उपजका रुपमा लिन सकिने अवस्था भएको छ।
हुन त ओली यो पटक छानेर कार्यक्रममा जाने गरिरहेका छन्। त्यसमा पनि आशा जगाउने,नागरिकसंग नजिक हुने र नीतिगत काम मै उनको पहिलो प्राथमिकता देखिन्छ।
फलतः वर्षौंदेखि अल्झिएको शान्ति प्रक्रियाका बाँकी काम निष्कर्षमा पुर्याउन टिआरसीको विषयलाई समेत उनले सहमतिमा पुर्याएका छन्। जसको प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै प्रशंशा गरेका छन्।
यो सरकार बनेपछि यो नै पहिलो राम्रो काम भएको उनको टिप्पणी रहँदा यो बिचमा भएका हवाई तथा सवारी दुर्घटनामा समेत नागरिकसंगै रहेको आभास दिलाउन ओली सफल रहेका छन्। जुन सक्रियता,वयोवृद्ध तथा उनको शारीरिक अवस्थाका दृष्टिले प्रशांयोग्य मान्नुपर्छ। प्रधानमन्त्री ओलीको यही रफ्तार रहिरहे उनले तीन कार्यकाल प्रधानमन्त्री हुँदा गर्न नसकेका काम यो कार्यकालमा गर्ने केही आशा भने जनतामा पलाएको देखिन्छ।
त्यस्तै गिरीबन्धु टि स्टेटले केही ओलीमाथि प्रश्न उठे पनि त्यसको जवाफ दिन सक्ने अवस्थामा भएको बेला आफु माथि लागेका आरोपको आफैले सफाइ दिने मौका भने मिलेको छ। काँग्रेस सांसदहरूले प्रतिपक्षमा हुने बेला जति प्रश्न उठाएका थिए त्यो अवस्था भने अहिले फेरिएको छ। काँग्रेस सांसदहरू अहिले रक्षात्मक अवस्थामा रहेका छन्।