खोला र एयरपोर्ट छेउछाउ घना बस्ती,जुनसुकै बेला सखाप हुने डर
रुषा थापा
मानिसलाई राम्रो लुगा लगाउँदैमा, चिल्लो गाडी चढ्दैमा, महलजस्तो घरमा बस्दैमा र मिठो खानेकुरा खाँदैमा आनन्द हुन्छ भन्ने हुँदैन । केही वर्षयता प्राकृतिकको दोहन गरी घर तथा भवनहरु निर्माण गर्ने क्रम बढ्दो छ । अहिले खोला, नदी किनारकै छेउछाउमा अग्ला अग्ला ठुला घर देखिन्छन् । कतिपयले त खोलामाथि नै घर बनाएका छन्।
खोलाको बायाँदायाँ वा टुकुचामाथि घर बनाएका घरधनीहरुलाई अहिले रातभर निन्द्रा लाग्दैन। खोलाको बहाव जुनसुकै बेला पनि बढ्न सक्ने हुँदा त्यहाँस्थित घरधनीहरु रातभर निदाउँदैनन्। यता, पेट्रोल पम्प, ग्याँस डिपो,वर्कशप,कबाडी गोदाम छेउछाउमा घर बनाएका घरधनीहरुको पनि यही नै पीडा छ। किनकि यसमा आगलागी हुनासाथ समग्र बस्ती नै सखाप हुन्छ।
पछिल्लो समय ग्याँस लिक भएर वा विद्युत सर्ट भई आगलागी भएको थुप्रा घटना छन्। आगलागीमा परी ठुलो जनधनको क्षति हुँदै आएको छ। तर, बस्ती छेउछाउ पेट्रोल पम्प, वर्कशप, ग्याँस डिपो, कबाडी गोदम, पार्टी प्यालेन्स सञ्चालन गर्न नदिने निर्णय सरकार गर्दैन। ०६५ मंसिर १ गतेको मन्त्रिपरिषद् बैठकले खोलाको २० मिटर दुरीमा मात्र घर बनाउन पाउने निर्णय गरेको थियो।
केही समयअघि सर्वोच्च अदालतले समेत परमादेश जारी गरी खोलाको ४० मिटर दुरीमा मात्र घर बनाउन पाउने भनेको छ । अहिले काठमाडौंको लाम्जिपाट उत्तर ढोकादेखि जयनेपाल हल हुँँदै कमलादी, बागबजार वा टुकुचा हुँदै थापाथलीमा निस्किने खोलामाथि घर घरै बनेको छ । यद्यपि, ती घरहरु काठमाडौं महानगरपालिकाले भत्काउन सकेको छैन।
यसले खोलाको बहाव बढ्दा त्यसमाथि बनेका घरहरु जुनसुकै बेला पनि भत्किएर ठुलो धनजनको क्षति हुने देखिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न मितिमा पटकपटक गरी विमान दुर्घटना भइसकेको छ। दुर्घटनामा परी थुप्रै यात्रु र पाइलटले ज्यान गुमाइसकेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राजधानीमै छ।
तर, बस्तीको बीचमा। यहाँबाट विभिन्न ठाउँ वा देश जाने वा विभिन्न देश वा ठाउँबाट आउने प्लेन यँही अवतरण हुने गरेको छ। फेरि आयल निगमले इन्धन भण्डारण पनि यँही गरेको छ। सिनामंगल, एयरपोर्ट, गैरीगाउँ, शान्तिनगर, तिनकुने, कोटेश्वर, इमाटोल, टिकाथली, जडीबुटी, नरेफाँट, लोकन्थली, काँडाघारी, पेप्सीकोला, मुलपानी, जोरपाटी, बौद्ध, नयाँबस्ती, गौरीघाटलगायत हुँदै विमान उड्ने हुँदा यो ठाउँका मानिसहरुलाई अहिले न रातमा निन्द्रा लाग्छ न दिनमा भोक।
यहाँ भाडामा बस्ने मानिस तथा व्यापारीहरुले समेत धमाधम कोठा, फ्ल्याट र सटर छोडिरहेका छन् । यी स्थानमा ७७ वटै जिल्लाका मानिसहरु भाडामा बस्छन् । सटर भाडामा लिएर व्यापारव्यवसाय गर्छन् । तर, लगातारको विमान दुर्घटनापश्चात् यहाँ बस्नेहरु त्रसित भएका छन् । बस्तीमै प्लेन दुर्घटना हुने जोखिम बढ्दै गएकोले यहाँ बस्नेहरु अहिले धमाधम सरिरहेका छन् ।
त्यसैले, अब सरकारले कि त विमानस्थल नै सार्नुपर्छ होइन भने एयरपोर्ट छेउछाउ घना बस्ती बस्न दिनुहुन्न । बजारमा यस्ता जोखिमपूर्ण ठाउँ वरपरका घरजग्गा किन्नुहुन्न भनेर सर्वसाधारणमा बहस शुरु भइसकेको छ। एयरपोर्ट, पेट्रोल पम्प, ग्याँस डिपो, वर्कशप, पार्टी प्यालेन्स वरपर अब घर बनाउन रोक लगाउनुपर्छ। सरकारले यस्ता क्षेत्र छेउछाउ घरजग्गा नकिन्न पनि जनतालाई सचेत गराउनुपर्छ ।
२०४४ सालतिर सिंहदरबारमा धेरै घोडा हुन्थे । सरकारले नै त्यतिबेला घोडा पालेको थियो । घोडा जात्रामा देखाउनदेखि हरेक कार्यका लागि सरकारले त्यो समयमा घोडाकै प्रयोग गर्दथ्यो।
त्यसैबीच, सिंहदरबार छेउको अनामनगर, घट्टेखोला, बिल्लीबजार, धोवीखोलाको जग्गामा सरकारले घोडा चराउन वा पाल्ने व्यापक हल्ला चल्यो । यो जग्गा कतिपय सरकारकै थियो त कतिपय व्यक्तिको पनि थियो ।
तर, त्यो व्यक्तिको जग्गा किनबेच हुँदैन्थ्यो । सरकारले घोडा पाल्ने सम्भावना भएपछि कोही पनि त्यो जग्गा किन्न चाहदैंनन् थिए । ०४४ सालअघि यी ठाउँमा एउटै पनि घर थिएनन् । सबै खेतबारी थिए । ०४६ सालमा पञ्चायती व्यवस्था हटेर बहुदलीय व्यवस्था आयो । कृष्णप्रसाद भट्टराई पहिलो पटक प्रधानमन्त्री बने । त्यसपछि उनले सिंहदरबारपछाडिको अनामनगरको बाटो खोलिदिए ।
बाटो खुल्नेबित्तिकै सरकारले त्यो जग्गामा घोडा पाल्न सम्भावना पनि मर्यो । अनि मानिसहरुले धमाधम त्यो जग्गामा घर बनाउन थाले । अहिले सिंहदरबारभित्र नयाँ भवन बनाउने जग्गा नै छैन । यता, बाहिर सबैले ठुल्ठुला बिल्डिङ बनाएका छन् । सरकारको सानो गल्तीका कारण सिंहदरकार वरपरको धेरै सरकारी जग्गा व्यक्तिको नाममा गएको छ ।
चार दशकअघि गैरीगाउँ, शान्तिनगर, तिनकुने, कोटेश्वर, इमाटोल, टिकाथली, जडीबुटी, नरेफाँट, लोकन्थली, काँडाघारी, पेप्सीकोला, मुलपानी, जोरपाटी, बौद्ध, नयाँबस्ती, गौरीघाट, बानेश्वर, सिनामंगलमा बस्ती नै थिएन । सबै खेतै खेत थियो । घर भएपनि कच्ची माटोको मात्र थियो । त्यतिबेला नै सरकारले यो ठाउँको जग्गा अतिक्रमण गरेको भए आज एयरपोर्ट बस्तीको बीचमा हुदैन्थ्यो ।
विमानस्थल बन्ने भएपछि पनि सरकारले यो ठाउँको जग्गा न त अतिक्रमण नै गर्यो न त घर बनाउनमा नै प्रतिबन्ध लगायो । यसैको फाइदा उठाएर जग्गा दलालीहरुले किसानसँग रोपनीको एक लाखमा जग्गा किने । अनि डोजर चलाई खण्डीकरण गरेर आनाकै ८०–९० लाखमा बेचेका छन् । यति महगोमा जग्गा किनेर घर बनाउनेहरु अहिले नराम्ररी डुबेका छन् ।
जोखिमको बीचमै घर भएकाले बेच्न खोज्दाखोज्दै पनि उनीहरुले सकेका छैनन् । यहाँका घरधनीहरुलाई रातभर निन्द्रा लाग्दैन । दिनमा समेत शान्ति छैन । कुन बेला के दुर्घटना हुन्छ भनेर उनीहरु त्रसित भइरहन्छन् । हाम्रो कानूनमा एयरपोर्ट छेउछाउ वा विमान उड्ने ठाउँको तल समेत घर बनाउन नपाइने व्यवस्था छ । अन्तर्राष्ट्रिय मापदण्डमा समेत यो व्यवस्था छ ।
केही गरी प्लेन दुर्घटना भएमा समग्र बस्ती नै सखाप हुने हुँदा यस्तो प्रावधान गरिएको हो । तर, हाम्रोमा त एयरपोर्टमै टाँसिएर घर तथा ठुला भवन बनाइएको छ । यसले विमान दुर्घटना हुँदा बस्तीमा समेत ठुलो धनजनको क्षति हुने जोखिम बढेको छ । कानूनमा त सरकारी कार्यालय वरपर वा विश्व सम्पदा सूचीमा परेका मठमन्दिर वरपर समेत घर बनाउन नपाइने व्यवस्था छ ।
यद्यपि, अहिले विश्व सम्पदा सूचीमा परेका मठमन्दिर वा सरकारी कार्यालय वरपर मन्दिर वा भवनभन्दा ठुलो घर बनेको पाइन्छ । सरकारमा बस्नेहरु कानून त बनाउँछन् तर कार्यान्वयनमा जोड नदिँदा यस्तै हुँदै गएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पनि यस्ता ठाउँ वरपर घर बनाउन हुन्न र बस्ती नै सार्नुपर्छ भनेर सम्बन्धित मन्त्रालयमा प्रस्ताव लग्दैनन् ।
संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले समेत यस्ता ठाउँ वरपरका बस्ती हटाउनुपर्छ वा एयरपोर्ट नै सार्नुपर्छ भनेर निर्णय गरेको छैन । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्रीप्रसाद पाण्डे पनि यस्तो कुनै निर्णय गर्दैनन् । अहिले देश विदेशबाट आउने र जाने प्लेनको संख्या बढेको छ ।
प्लेनमा यात्रा गर्नेहरुको पनि संख्या बढेको छ। तर, एयरपोर्टको भूभाग भने ज्युँको त्युँ छ । त्यसैले, अब सरकारले एयरपोर्ट छेउछाउको सबै जग्गा अतिक्रमण गगर्नुपर्छ होइन भने एयरपोर्ट नै सार्नुपर्छ। अहिले सरकारमा बस्नेहरु विमान दुर्घटना हुनासाथ घटनास्थलतर्फ दौडिन्छन् । अनि सार्वजनिक बिदा दिने, राष्ट्रिय झण्डा झुकाउने र छानबिन समिति गठन गर्ने निर्णय गर्छ।
तर, कतिञ्जेल यँही प्रक्रिया चलिरहनेछ ? सरकार आफैं विमान दुर्घटना गराउँछ अनि गोहीको आँसु झार्छ। त्यसैले, दुर्घटना हुनुअघि नै सतर्कता अपनाऔं। दुर्घटनापश्चात् छानबिन समिति गठन गर्ने र सार्वजनिक बिदा दिने होइन,एयरपोर्ट छेउछाउको बस्ती हटाउनुपर्छ । नत्र कुनै विमान दुर्घटना भएमा बस्ती नै सखाप हुने छ । अनि त्यतिबेला के गर्छ सरकारले ?