नेतृत्व छाड्न प्रचण्डलाई जनार्दनको प्रस्ताव,प्रचण्डलाई चुनौती दिने यस्ता छन् जनार्दनका ५ सवाल
काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता जनार्दशन शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेतृत्व छाड्न सुझाव दिएका छन्। माओवादीको जारी स्थायी कमिटी बैठकमा पार्टी निर्माणका समस्या,समाधानका उपाय र आगामी कार्यभारबारे लिखित प्रतिवेदन पेश गर्दै नेता शर्माले अब नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न प्रचण्डलाई सुझाव दिएका हुन्।
२०४३ सालदेखि निरन्तर माओवादीका नेतृत्व गरिरहेका प्रचण्डलाई औपचारिकरूपमै नेतृत्व छाड्न पार्टीमा नेताको तर्फबाट पेश भएको सम्भवतः यो पहिलो लिखित प्रस्ताव हो।
नेतृत्व हस्तान्तरण सम्बन्धमा उनले भनेका छन्,अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चित गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित सांगठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण।
शर्माले प्रचण्डमाथि परिवारवाद लादेको तथा वैचारिक मत राख्ने नेताहरूलाई बदनाम गर्न पार्टी तथा राज्यसत्ताको दुरुपयोग गरेको आरोपसमेत लगाएका छन्। साथै उनले आफ्नो प्रस्तावलाई पूर्वाग्रहको रुपमा नलिन पनि अनुरोध गरेका छन्।
बहुपदीय भए पनि कम्युनिस्ट पार्टी सामूहिक नेतृत्व प्रणालीमा अटेका छैनन्। जनवादी केन्द्रीयता भनिए पनि निर्णयमा सामूहिकता अत्यन्तै कमजोर बन्न पुगेको छ। माओवादी केन्द्रमा त प्रचण्ड नै सर्वेसर्वा छन्। २०५२ सालदेखि शान्ति प्रक्रियासम्म पार्टी केन्द्रीकृत ढाँचामा चल्यो।
२०७२ मा संविधान जारी भए पनि सामूहिक प्रणालीमा नचलेकाले अहिले प्रश्न प्रचण्डमै केन्द्रित छ।शनिबारदेखि सुरू भएको स्थायी समिति बैठकमा पनि पार्टी नेतृत्वबारे प्रश्न उठेका छन्।
उपमहाचिव जनार्दन शर्माले स्थायी समिति बैठकमा १४ पृष्ठ लामो सुझाव प्रस्तुत गर्दै अध्यक्ष प्रचण्डलाई नेतृत्व छाड्न सुझाव दिएका छन्। त्यसका लागि उनले तीन वटा विकल्प प्रस्तुत गरेका छन्।
शर्माले भावावेशमा आएर नेतृत्व छाड्न सुझाव दिएका भने होइनन्। उनले लामो कारण खुलाएका छन्। जनयुद्धुका दौरान अध्यक्ष प्रचण्डको नेतृत्व सफल भएको उनको बुझाइ छ।
सशस्त्र संघर्षलाई शान्ति प्रक्रियामा रूपान्तरण गर्दै पहिलो संविधान सभाको निर्वाचनमा होमिँदा पार्टीले प्रत्यक्षतर्फ १२० स्थान जितेको थियो। त्यतिबेला माओवादीले ३१ लाख मत प्राप्त गरेको र त्यसयता १४ लाख,११ लाख हुँदै खुम्चँदै शून्यतर्फ अभिमुख भइरहेको शर्माको भनाइ छ।
माओवादीको विचार के हो, कुन विचार, संगठनात्मक पद्धतिमा टेकेर पार्टी पुनर्निर्माण गर्ने हो भन्ने मूल प्रश्न छ। २०७२ को संविधानमार्फत के-के उपलब्धी हासिल भए? के-के उपलब्धीको अपनत्व हामीले लिनुपर्ने हो? कुन बाँकी छन्रु यी अन्तरविरोध बाँकी छ।
अहिले जनताले देख्न चाहेको माओवादी कुन वैचारिक आधार,संगठनात्मक धरातल सहितको हो भन्ने मूल प्रश्न हल गर्नुपर्ने छ। हामीले अलम्बन गरेको वैचारिक–सांस्कृतिक र संगठनात्मक धरातल आदि प्रश्नको हल नभइ निर्वाचन प्रणाली,निर्वाचनको विधि र त्यसमार्फत् नेतृत्वको अनुहार बदलेर अहिलेको अन्तरविरोधको समाधान निस्कँदैन,उनले भने।
उपमहासचिव शर्माले उठाएका प्रमुख सवालहरू यस्ता छन्
१-पार्टी प्रणाली लोकतान्त्रिक भएन
माओवादी आन्दोलनमा महिला,जनजाति,दलित,सीमान्तकृत,मधेसी,उत्पीडित समुदाय सहभागी भएको तर शान्ति प्रक्रियामा आउँदा यी समूह,शक्तिलाई पार्टीमा रुपान्तरण गर्न चुकेको उपमहासचिव जनार्दन शर्माले विश्लेषण गरेका छन्।
‘त्यसका लागि सोच,योजनालगायत युद्धकालीन कमान्ड प्रणालीइबाट लोकतान्त्रिक संगठनात्मक प्रणालीमा रूपान्तरण आश्वयक थियो। तर संगठनात्मक संरचना र नेतृत्व प्रणालीमा युद्धकालीन सोचकै निरन्तरता रह्यो।त्यसकारण जीवन समर्पण गरेका महिला,जनजाति,दलित,सीमान्तकृत,मधेसी,उत्पीडित समुदाय आन्दोलनबाट पृथक बन्न पुगेको उनले बताएका छन्।
२-उथलपुथलले संघ र सबै प्रदेश सरकारबाट बाहिरिनुपर्ने अवस्था किन आयो, जिम्मेवार होरु
शर्माले वैचारिक स्पस्टता कायम गर्ने,पार्टीमा विधि,प्रणाली स्थापित गर्न विधान पुनर्लेखन गरी कार्यन्वयन गर्ने,फरक मतको सम्मान गर्दै लोकतान्त्रिकरजनवादी विधिमार्फत अन्तरसंघर्ष र दुई लाईन संघर्ष व्यवस्थित गर्ने उपाय पनि प्रस्तुत गरेका छन्।
सरकारको १५ वर्षको अवधिमा प्राप्त भएका उपलब्धि र कमी कमजोरीको व्यक्तिगत र संस्थागत मूल्याङ्कन गर्ने,गठबन्धन बनाउने,भत्काउने र फेरी बनाउने कृपाकलापले गर्दा पार्टीलाई भएको वैचारिक र व्यवहारिक लाभ हानीको मूल्याङ्कन गर्ने,अहिलेको उथलपुथलले संघ र सबै प्रदेशका सरकारबाट बाहिरिनुपर्ने अवस्था किन आयो र यसको जिम्मेवार कोरु भन्ने विषय पार्टीमा स्पष्ट गर्नेबारे पनि सवाल उठाएका छन्।
संसदमा प्रभावकारी प्रतिपक्षको भूमिका खेल्दै २०८४ सम्म सरकारमा नजाने घोषणा गर्ने, पार्टीका नेताहरूको सम्पत्तिको यथार्थ विवरण सार्वजानिक गर्ने, शहीद, वेपत्ता योद्धा परिवार तथा घाइते योद्धाहरूको लागि व्यवस्थापनको विशेष कार्यक्रम बनाउने र शान्ति प्रक्रिया टुंग्याउन पहल गर्ने, पार्टी फुट्दैछ भनी नेतृत्व तहबाटै चलाइएको हल्लाबारे स्पष्ट गर्ने पनि उनले भनेका छन्।
३-वैचारिक स्पष्टता भएन
उपमहासचिव शर्माका अनुसार संगठनका हरेक एकाइलाई उत्पादन र जनपरिचालन एकाइमा बल्नुपर्ने र अर्कोतर्फ सम्पूर्ण कार्यकर्तालाई वैचारिक स्पष्टतासहित राजनीतिक रूपमा सचेत बनाउन जरुरी थियो।
तर आफ्ना एजेन्डा दह्रोसँग पकड्न सक्ने र स्थापित गर्नेतर्फ ध्यान दिइएन। समाजवादको सोलोडोलो रटान लगाएको तर परिभाषित नगरेको उनको भनाइ छ। मोटो र अमूर्त नाराले जनाकांक्ष छिचोल्न नसकेको र जनतामा अपिल पनि हुन नसकेको उनले बताएका छन्।
४- पार्टी निर्माण र नेतृत्व हस्तान्तरण
शर्माले वामपन्थी एवं प्रगतिशील शक्ति बीच अन्तरक्रिया, एकता र धुव्रीकरण गर्ने सुझाव अघि सारेका छन्।महिला,दलित,जनजाति,भाषिक,साँस्कृतिक,अल्पसंख्यक समूहको सहभागीता एवं समानुपातिक नेतृत्व विकास गर्ने,सामाजिक शक्ति (सामाजिक रूपमा स्थापित शक्ति तथा वौद्धिक वर्ग) बाट पार्टीमा प्रतिनिधित्व गराउने विषय उठाएका छन्।
युवा जनशक्तिमा राजनीतिक वितृष्णा हटाइ प्रगतिशील राजनीतिमा सक्रिय गराउने र राजनितिक अग्रधिकार दिने, पार्टी निर्माणका उल्लेखित ४ आधारका अतिरिक्त वर्तमान परिवेश र काम अनुरुप तालमेल हुनेगरि पार्टीको नाम परिवर्तन गर्ने, साथै आम जनताले सहज रूपमा स्वीकार गर्ने गरी चुनाव चिह्ने फेर्ने प्रस्ताव अघि सारेका छन्।
बदलिएको सामाजिक,पारिवारिक संरचना र नयाँ युवा पुस्ताको मनोविज्ञानबारे अध्ययन अनुसन्धान गरी प्राप्त रिपोर्टका आधारमा योजना तथा कार्यक्रम बनाउने विषय पनि समेटेका छन्।उनले जनसंगठनको कामलाई पुनर्परिभाषित गर्न सुझाव दिएका छन्।
संगठनहरूले विचार बाहकको भूमिका निर्वाह गर्न जरुरी रहेको बताए। वैचारिक एकरूपता, सांगठनिक स्वायत्तताको नीति अनुरूप आफ्नो पेशागत क्षेत्रमा काम गर्ने गरी परिभाषित गर्न उनले भनेका छन्।शर्माले जनतन्त्र, राष्ट्रियता र जनजीविकाको मूल नारा कार्यान्वयन नभएको बताएका छन्।
संविधानमार्फत सहभागितामूलक समावेशी राज्य संरचनाको स्थापना, मौलिक अधिकारको व्यवस्थाले सम्बोधन गरेको मान्न सकिए पनि राष्ट्रियता र जनजीविकाको मुद्दा संवर्द्धन गर्न नसक्दा आज जनतन्त्रमाथि नै धावा बोल्ने परिस्थिति पैदा हुँदै गएको शर्माको ठहर छ। आर्थिक आत्मनिर्भरता नहुँदा राष्ट्रियता कमजोर बनेको शर्माले बताएका छन्।शर्माले नेतृत्व हस्तान्तरणको विषय पनि उठाएका छन्।
नेतृत्व हस्तान्तरण,नेतृत्व पुस्तान्तरण र केन्द्रीय कमिटी भंग गरी महाधिवेशनमार्फत प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयनमध्ये एक बाटो रोज्न अध्यक्ष प्रचण्डलाई उपमहासचिव शर्माको सुझाव छ।
५- मूल नेतृत्वबाटै पार्टी फुटको हल्ला
उपमहासचिव शर्माले पार्टी फुटबारे मूल नेतृत्वबाट नै हल्ला गरिएकोमा आलोचना गरेका छन्। खुमलटारबाट फलानो एमालेमा जाँदैछ भनेर सुरू गरिएको प्रचारवाजीलाई बालुवाटार पुगेपछि तीव्रता दिइयो।
उक्त प्रचारबाजीलाई मद्दत पुग्ने गरी पोखरामा आइपुग्दा मूल नेतृत्वले नै पार्टी फुटतिर उन्मुख छ कसलाई साथ भन्दै कार्यक्रम हलमा हुटिङ गराएपछि सुन्नेहरुलाई पार्टी फुट्ने पक्कापक्की भयो भन्ने लाग्यो।
देशभर यसको असर देखा पर्न थाल्यो। फुटाउने कसले हो भन्दा बालुवाटारबाटै जनार्दनले हो भनेर भनिदिएपछि आज आम कार्यकर्ता र जनतामा पार्टी फुटको त्रास फैलिएको छ,’ शर्माले भनेका छन्।
देशभरिबाट दैनिक सयौंले फोन आउने र पार्टी फुट्दैछ भनेर सोध्ने गरिएको कुरा शर्माले उल्लेख गरेका छन्। यति मात्र होइन, यो कुरा अन्य राजनीतिक दल, सुरक्षा निकाय, व्यूरोक्रेसी समेतमा चासोको विषय बनेको शर्मा बताउँछन्।