माओवादीका जनार्दन र प्रचण्ड आमनेसामने,पार्टी भित्र कलह बढ्दै
आर.एस. महतारा
काठमाडौं।नेकपा (माओवादी केन्द्र)मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माको कलह बढ्दै गएको छ। शर्माले प्रचण्डललाइ नेतृत्व छाड्छन् प्रस्ताव पेश गरेपछि चर्चाको विषय बनेको छ। अहिले प्रचण्डले नेतृत्व छाड्लान कि जनार्दनले पार्टी भन्ने विषय चासोका साथ हेरिएको छ।
सत्ता बाहिर पुगेपछि जनतामा जाने सुरसारमा रहेको माओवादीमा सुधारका लागि उपमहासचिव जनार्दन शर्माले स्थायी कमिटीमा प्रस्ताव पेश गरेका छन्। जसमा पार्टीको संगठन निर्माणदेखि प्रचण्डको नेतृत्वमा विकल्पसम्म उल्लेख गरिएका छन्। यसले फेरि एकपटक जनार्दन र अध्यक्ष प्रचण्ड आमनेसामने भएको देखाएको छ।
पार्टी फुट्ने आशंकाका बिच माओवादीमा उपमहासचिव जनार्दन शर्माको प्रस्तावले फेरि एकपटक तरंग ल्याएको छ। पार्टीले जनतामा जाने तयारी गरेका बेला जारी स्थायी कमिटी बैठकमा शर्माले निर्मम समीक्षा सुझाएको प्रतिवेदन प्रस्तुत गरेका छन्।
जसमा उनले समस्याका ९ कारण, पार्टी निर्माणका लागि १६ कार्य नीति र सुझाव तथा नेतृत्व हस्तान्तरणका लागि तीन विकल्प नै प्रस्तुत गरेका छन्।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि समेत उनले दर्जनौँ आरोप र गुनासो गरेका छन्। यसअघि घुमाउरो शैलीमा पार्टी बिग्रिनुको दोष प्रचण्डलाई नै दिँदै नेतृत्व छाड्न दबाब दिएका जनार्दनले यसपटक भने सरकार र पार्टी संगठनमा भएको उथलपुथलबारे समेत प्रचण्डको जवाफ खोजेका छन्।
यस्तै आफूविरुद्ध पार्टी र राज्यशक्ति समेत परिचालित गरिएको दाबी जनार्दनले गरेका छन्।
यसपटक जनार्दन नेतृत्व हस्तान्तरण र पुस्तान्तरण तथा संगठनका सवालमा आक्रामक देखिएका छन्। आफूले पार्टी फुटाउन लागेको हल्ला पनि नेतृत्व तहबाटै नियोजित रुपमा गरिएको र मुद्दामा आधारित छलफल निस्तेज पार्न राज्य संयन्त्रको समेत प्रयोग गरेको र आफू र वर्षमान पुनविरुद्ध किस्ताबन्दीमा दुष्प्रचार गरिएको आरोप जनार्दनले लगाएका छन्।
खुमलटार छँदा आफू एमालेमा जान लागेको हल्ला चलाउने प्रचण्डले नै आफूमाथि पार्टी फुटान लागेको हल्ला चलाएको आरोप लगाएका छन्। यसबाहेक पार्टी सञ्चालनका मूल्य मान्यताको धज्जी उडाइनु, नेताहरु निजी स्वार्थ केन्द्रित हुनु,एकथरी नेताहरु पद र सुविधाका पछि भौतारिनु तथा माओवादी आफैँ कर्तव्यबिमुख हुँदा समस्या आएको बताएका छन्।यसको समाधानका लागि शर्माले १६ बुँदामा सुझाव दिएका छन्।
संविधानमा उल्लेखित समाजवादको परिभाषा, नव उदारवादी अर्थव्यवस्थाबारे स्पष्ट धारणा,प्रदेश र स्थानीय सरकारको सबलीकरण, निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचित कार्यकारी लगायत बिषयमा जनमत निर्माण र भ्रष्टाचार विरोधी आन्दोलन थाल्नुपर्ने सुझाव दिएका छन्। यस्तै सबै नेताको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने तथा पार्टीको नाम र चुनाव चिह्न पनि फेर्नुपर्ने प्रस्ताव गरेका छन्।
यसपटक जनार्दनले प्रचण्डको नेतृत्व अब पार्टीलाई पुगेको निश्कर्ष निकाल्दै २०४६ सालदेखि पार्टीको नेतृत्वमा रहेका प्रचण्डलाई मार्ग प्रसस्त गर्न तीन सुझाव दिएका छन्। सम्भवतः प्रचण्डलाई नेतृत्व छाड्न भएको यो नै पहिलो प्रस्ताव हो।
विकल्प एक ः सत्ताको नेतृत्व प्रचण्डलाई नै तर, पार्टी नेतृत्व प्रचण्डले चाहेकै व्यक्तिलाई हस्तान्तरण
विकल्प दुई ः प्रचण्डलाई संरक्षकको भूमिकामा राख्दै सत्ताको नेतृत्व दिने कार्यकारी सांगठनिक नेतृत्व तेस्रो पुस्तालाई हस्तान्तरण गर्ने
विकल्प तीन ः अहिलेको केन्द्रीय समिति भंग गरी प्रचण्डकै नेतृत्वमा विशेष महाधिवेशन घोषणा र प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व
अर्थात प्रचण्डकै नेतृत्वमा अब पार्टी चल्न नसक्ने औपचारिक निश्कर्षमा जनार्दन पुगिसकेका छन्।
यसअघि पनि भिड्न खोजेका थिए जनार्दन ६ महिनाअघि मात्रै पनि जनार्दनले पार्टी रुपान्तरणका लागि अप्रत्यक्ष रुपमा प्रचण्डको नेतृत्व फेर्नु पर्ने गरीको पूरक प्रस्ताव ल्याएका थिए।
गतवर्ष माघमा बसेको स्थायी कमिटी बैठकमा प्रस्तुत गरेको उनको प्रस्तावमा सबै पदाधिकारीहरुको प्रत्यक्ष निर्वाचन,पदाधिकारीको कार्यकाल र उमेर तोक्नु पर्नेदेखि पार्टीको नाम फेर्नु पर्ने उल्लेख थियो। यसमध्ये प्रत्यक्ष निर्वाचित पदाधिकारीको व्यवस्था विधान अधिवेशनमार्फत भइसकेको छ।
फागुन १५ गते जनार्दनले प्रदेश इन्चार्जको कार्यविभानजमा असहमति जनाउँदै अर्को पत्र लेखेका थिए। जहाँ सिनियर नेताहरुलाई पन्छाउँदै प्रचण्डका भाइ नारायणप्रसाद दाहाल र बुहारी बिना मगरलाई जिम्मेवारी दिएको भन्दै असहमति जनाएका थिए।
त्यसपछि सत्ता उथलपुथलका समय कर्णालीमा प्रचण्डले जनार्दन निकटका मुख्यमन्त्री राजकुमार शर्मालाई राजीनामा दिन दबाब बढाउँदा उनले विद्रोहकै चेतावनी दिएको चर्चा चल्ने गरेको छ।
जनार्दनले सत्ता उथलपुथलबारे प्रश्न गर्दा प्रचण्डले भने सत्ता छाड्नुको दोष अमेरिकालाई लगाएर पन्छिरहेका छन्। तीस वर्षदेखि प्रचण्ड नेतृत्वमा रहँदा उनको आलोचना गर्ने बाबुराम लगायत नेताहरु आफैँ अलगिएर जान बाध्य पारेका थिए।
अहिले पनि आफूमाथि दबाब बढ्न थालेपछि प्रचण्डले आफ्नो प्रभाव विस्तार गर्न नेत्रविक्रम चन्द विप्लवलाई पार्टीमा ल्याउन लागेको चर्चा चल्ने गरेको छ। त्यसमाथि कम्युनिस्ट घटकहरु मिल्ने रटान पनि लगाइरहेकै छन्।
९ वर्षसम्म सत्ताको परिपरि मात्रै घुमिरहेको माओवादीले जनता र कार्यकर्ता बिर्सिएको उसकै समीक्षाले देखाउँदा जनार्दनको प्रतिवेदन उपयोगी देखिन्छ। तर, यो प्रस्तावपछि प्रचण्डले नेतृत्व छाड्ने वा जनार्दनले पार्टी भन्ने प्रश्न अहम् बनेको छ। प्रचण्ड नेतृत्वको विकल्प मागेकै भरमा जनार्दन माओवादीको मुकुल ढकाल बन्ने सम्भावना पनि माओवादीको विगतले देखाउँछ।
त्यस्तै पछिल्लो समय जनार्दन शर्माले अध्यक्ष प्रचण्डलाइ नेतृत्व छोड्न निरन्तर दबाब सृजना गरेपनि प्रचण्ड भने टसकोमस भएको देखिदैन। पार्टी भित्रका अन्य नेताहरूले भने प्रचण्डविरूद्ध बोलेको कतै नसुनिनुले शर्मा मुकुल ढकाल हुने हुनकी भन्ने प्रश्न खडा भएको छ।