नेपाल प्रहरी र सशस्त्रका १०८ जना अधिकारी एकैपटक अवकाश हुँदै
काठमाडौं। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी एक साथ १०८ जना प्रहरी अधिकारीहरु अवकाशमा जाँदैछन्। १६ भदौ २०५१ मा प्रहरी सहायक निरीक्षक (असई)मा भर्ना भएका ब्याचका १०८ प्रहरी अधिकारीहरु आउँदो १५ भदौमा अनिवार्य अवकाशमा जान लागेका हुन्।
उनीहरु सबै जना भने ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाँदैछन्। १६ भदौ २०५१ मा ४३२ जना असईमा भर्ना भएका थिए। जसमध्ये १५ जनाको सशस्त्र द्वन्द्वमा मृत्यु भएको थियो।
बाँकी केहीले भने यसअघि नै अवकाश वा राजीनामा दिएका कारण यो समूहका १०८ जना मात्रै सेवामा थिए। तीमध्ये नेपाल प्रहरीमा रहेका ९० जना र सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएर गएका १८ जनाको एकसाथ अवकाश हुन लागेको हो।
उनीहरु अहिले प्रहरी निरीक्षक (इन्सपेक्टर) देखि प्रहरी नायव महानिरीक्षक (डीआईजी) सम्म छन्। नेपाल प्रहरीतर्फ बागमती प्रदेशका डीआईजी विष्णुकुमार केसी,११ एसएसपीहरु (दिनेशराज मैनाली, बेलबहादुर पाण्डे,रवि पौडेल,जीवन श्रेष्ठ,किसन सिंह थापा,रेवती ढकाल,चन्द्रदेव राई,नवीन राई,दिल्लीराज विष्ट,रवीन्द्र रेग्मी र वीरबहादुर ओली) अवकाशमा जाँदैछन्।
त्यसैगरी प्रहरी उपरीक्षक (एसपी) हरु कृष्ण प्रसाई, अवदेश विष्ट, हिराबहादुर पाण्डेसहित डीएसपी र इन्सपेक्टरहरु अवकाशमा जाँदैछन्।सशस्त्र प्रहरी बलमा डीआईजीहरु दुर्गा भट्टराई, अभि खत्री र दुर्गा भट्टराई पनि अनिवार्य अवकाशमा जाँदैछन्।
खत्री अहिले लुम्बिनी प्रदेश स्थित विन्ध्यवासिनी बाहिनीका प्रमुख छन्। एसएसपी विश्व भट्टराईसहित १५ डीएसपीहरु अवकाशमा जाने सशस्त्र प्रहरीले जनाएको छ।