नेकपाले कर्णाली प्रदेशमा समाजवादी मार्च सञ्चालन गर्ने
शेरबहादुर विश्वकर्मा
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी कर्णाली प्रदेशले समाजवादी मार्च सञ्चालन गर्ने निर्णय गरेको छ। बिहिवार सुर्खेतमा सम्पन्न नेकपा कर्णाली प्रदेश समितिको दोस्रो पूर्ण बैठकले नेपाली विशेषताको समाजवादको पक्षमा जनमत निर्माण र ध्रुवीकरण गर्नका लागि जिल्ला स्तरसम्म मार्च सञ्चालन गर्ने निर्णय गरेको इन्चार्ज शुसिलले जानकारी दिएका छन्।
स्थायी समिति सदस्य एवम् प्रदेश इन्चार्ज कर्णजीत सी (शुसिल)को अध्यक्षतामा भएको बैठकले नेकपाको उत्पादन अभियान अन्तर्गत कर्णाली प्रदेशमा चप्पल कारखाना सञ्चालन गर्ने,समाजवादी कर्णाली शीर्षकको मुखपत्र प्रकाशन गर्ने,जनवर्गीय संगठन र मोर्चा संगठनलाई सुदृढ गर्न भेला सम्मेलन गर्ने र नेकपाका विभिन्न निकायबीच प्रशिक्षण तथा बिचारधारात्मक स्कूल सञ्चालन गर्ने कार्यक्रम तय गरेको छ।
“रुपान्तरित माओवादी-कम्युनिस्ट एकता आजकोआवाश्यकता,समाजवादी कर्णाली निर्माण अभियान हाम्रो प्रतिबद्धता”भन्ने मुख्य उदेश्यसहित सञ्चालन हुने कर्णाली मार्चको क्रममा नेपालको आन्तरिक मामिला र स्वाधीनता विरुद्ध पश्चिमाहरुको हस्तक्षेप बढेको भन्दै एमसीसी विरुद्ध जनपरिचालन र प्रदर्शन गर्ने निर्णय समेत गरेको छ।
संगठन र योजनामा जनवर्गीय संगठनलाई परिपूरक बनाउने,समाजवादी सम्पर्क मन्चलाई विस्तार गर्ने,प्रदेश कार्यालय सचिवमा केन्द्रीय सदस्य विवेक सीलाई जिम्मेवारी दिने र बिराट सीको नेतृत्वमा उत्पादन बिभाग गठन गर्ने निर्णय समेत बैठकले गरेको छ।
गत बैशाखबाट कार्यान्वयनको चरणमा रहेको ६ महिने आवधिक योजना,नेकपाको उत्पादन अभियान लगायत राजनीति,संगठन र संघर्ष सम्बन्धि योजनाको समिक्षा गर्ने र आगामी योजनालाई थप विकसित गर्ने उदेश्यले भएको नेकपा कर्णाली प्रदेश समिति बैठकमा पोलिटब्युरो सदस्यहरु एटम सी,आधार सी,बन्धु सी केन्द्रीय सदस्यहरु बिबेक सी,ध्रुव सी र रणजीत सी लगायतका नेताहरूको सहभागिता रहेको थियो।