मँहगी,बेरोजगारी,गरिबी र भ्रष्टाचारले जनता शोकमा,नेताहरु देश बेचेर मोजमा
अनुसा थापा
नेपाल लोकतान्त्रिक–गणतन्त्रात्मक मुलुक हो। तर, यहाँ सँधै जनताको आवाज दबाइन्छ । जनताको आवाज नसुनिकन सरकारले आफ्नो मनमौजी चलाउँदै आएको हो। जसमध्ये एक हो एमसीसी। अमेरिकी सहयोग परियोजना ‘एमसीसी’ चाँहिदैन् भन्दाभन्दै पनि सरकारले २०७८ फागुन १६ गते राति सदनबाट पारित गर्यो।
एमसीसीको विरोधमा दिँउसो जनता सडकमा उत्रिएपछि सरकारले मौका छोपेर राति पारित गरेको हो । सडक निर्माण र विद्युत प्रशारण लाइन निर्माणका लागि एमसीसीअन्तर्गत नेपाली ६५ अर्ब रुपैयाँ अनुदान प्राप्त हुने भनिएको थियो । एमसीसी पास भएको तीन वर्ष भयो ।
तर, के कति काम भयो ? के कति पैसा प्राप्त भयो ? सरकारले जनतालाई जानकारी गराएको छैन् । नेपालमा विकास हुन्छ, अर्थतन्त्र सुधारिन्छ भनेर सरकारले जनताको इच्छाविपरीत सदनबाट जबरजस्ती पास गर्यो । यद्यपि, कहाँ विकास भयो ? अर्थतन्त्र कहाँ सुधारियो ?
अहिले अर्थतन्त्र झनै डामाडोल छ । बजार चलायमान हुन सकेको छैन् । मन्दीले बजार छपक्कै छोपेको छ । अनि जनता माथिको दमनको के उपलब्धि भयो त ? त्यतिबेला एमसीसी यस्तो–त्यस्तो भनेर गुनगान गाउने नेताहरु अहिले चुइक्क बोल्दैनन् । कि पैसा ल्याएर खाए ? उनीहरुमाथि गम्भीर प्रश्न उठेको छ ।
काम गर्ने हो भने तीन वर्षमा कायापलट भइसक्छ । तर, काम भएको देखिँदैन् । सांसदहरु पार्टीको इशारामा नाँच्छन् । एमसीसी पास भएपछि कति काम भयो ? सदनमा प्रश्न गर्न सक्ने हिम्मत कुनै सांसदसँग छैन् । सरकार त सरकार भइहाल्यो । न जनतालाई हिजो गनेको थियो न आज गन्छ ।
सदनमा कुन कुरालाई प्राथमिकता दिने ? सांसदहरुलाई थाहा छैन् । काँग्रेसले गत फागुन २८ देखि जेठ १५ गतेसम्म रास्वपाका सभापति रवि लामिछानेको राजीनामा मागेर सदन अवरोध गर्यो । तर, यो विषयमा भने काँग्रेस बोलेन् । हुन त हिजो एमसीसी पास गर्नुपर्छ भन्ने उनकै पार्टीका नेता थिए ।
अनि काँग्रेस के बोल्थ्यो ? गलत भएपनि आफ्नो पार्टीका नेताको संरक्षण त गर्नैपर्यो । काँग्रेस वर्तमान परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको हकमा मौन छ । उनीमाथि नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइको आरोप छ । तर, काँग्रेसले चुइक्क आवाज नै निकाल्दैन् ।
यस्तो गम्भीर विषयलाई काँग्रेसले अनदेखा गरेको छ । यता, नेकपा एमालेका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीमाथि झापाको गिरीबन्धु टी स्टेटको जग्गा हिनामिना गरेको आरोप छ । तर, कसैले छानबिन हुनुपर्छ भनेर बोलेको पाइँदैन् । आफ्नो पार्टीको अध्यक्ष भएकाले एमाले सांसदहरुमा मुखमा बुझो हालेर बसेका छन् ।
अन्य पार्टीको त कामै भएन् । देश र जनताको विषयमा जोडिएको विषयलाई सरकारले हलुकामा लिएको छ । सभामुख र सांसद दुवै पार्टीका झोले बनेका छन् । सभामुखले त आफू एमालेको भक्त भएको प्रमाण नै दिइसकेका छन् । अन्य पार्टीको सांसद बोल्दाबोल्दै माइक काटिदिन्छन् ।
ओली प्रधानमन्त्री भएको एक महिना बितिसक्यो । देश कुन हालतमा छ ? थाहा छैन् । जे पायो त्यही बोलेको छ, सस्तो लोकप्रियता कमाउन खोजेको छ । पछिल्लो समय उनले २० देखि ३० वर्षको आसपास बिहे गर्नु भनि भाषण ठोकेका छन् । त्यो पनि भनिरहनुपर्छ र ? साधारण मान्छेलाई पनि यो कुरा थाहा छ ।
रोजगारी देऊ, विवाह गर्न कुन ठूलो कुरा भयो र ? यस्ता पनि देशका प्रधानमन्त्री ? देशको अवस्था के छ ? जनताको अवस्था के छ ? अर्थतन्त्रको अवस्था के छ ? उनलाई थाहा छैन् । त्यो सबै छोडेर विवाह गराउन लागिपरेका छन् । बच्चा जन्माऊ भन्छन् । बच्चा जन्माएर कसरी पाल्नु ?
सरकारले जनतालाई मँहगी, बेरोजगारी, गरिबीभन्दा अरु केही दिन सकेको छैन् । सोच्दै नसोचिकन बोलिदिने ओलीको बानी नहट्ने नै हो । उनी पहिलोपटक प्रधानमन्त्री हुँदा कोरोना आयो । वैज्ञानिकजसरी बेसार पानी खायो भने कोरोना ठीक हुन्छ भनिदिए । उनको कुरामा लाग्दा नेपाली जनता कुखुरा मरेझैं भुतुभुतु मरे ।
देश अहिले अप्ठेरो घडीमा छ । बाहिरी देशको लडाइले मुलुकमा मँहगी बढेको छ । राजश्व उठ्न सकेको छैन् । दिनहुँ हजारौं युवाले मुलुक छोडिरहेका छन् । जनतालाई समस्यै समस्या छ । व्यापार व्यवसाय नहुँदा पलायन हुनेको संख्या बढेको छ । बेरोजगारी दिन प्रतिदिन बढ्दो छ ।
विडम्बना, प्रधानमन्त्रीलाई त्यसको मतलबै छैन् । प्रधानमन्त्रीको पद ‘टाइम पास’ गर्ने थलोजस्तै बनेको छ ओलीलाई । एमाले र काँग्रेसका सांसदलाई आफ्नो सरकार कसरी टिकाउने भन्ने चिन्ता छ । माओवादीका सांसदहरुलाई कहाँबाट कमिशन आउँछ ? भन्ने चासो छ ।
जनतामा नैराश्यता बढ्दो छ । प्रधानमन्त्री ओलीले केही दिन अगाडि नेपालमा आन्दोलन सम्भव नभएको बताए । हुन पनि हो । युवापुस्ता विदेशमा बेचिसकेका छन्। वृद्धवृद्ध आन्दोलन गर्न आउन सक्दैनन् । अनि जति भ्रष्टाचार गरेपनि भो, देश दोहन गरेपनि भो । हामीले जे गर्दापनि हुन्छ भन्ने उनलाई लागेको छ।
ओलीले देशको लागि केही गर्लान् भनेर कसैले नसोच्दा पनि हुन्छ । उनीसँग कुनै योजना नै छैन् । आफू सरकारमा हुञ्जेल विदेशी ऋण दोब्बर बनाउँछन्, मोजमस्ती गर्छन् अनि जान्छन् । प्रधानमन्त्रीजस्तो व्यक्तिलाई समयको ख्याल नै छैन् । कलाकारलाई सिंहदरबार बोलाउँछन्, दिनभरि गफ छाडेर बस्छन् ।
यो सरकार जतिञ्जेल सरकारमा रहन्छ, त्यति नै देश डुब्छ । जनताले यो सरकार र यो सदनबाट केही आश नगर्दापनि हुन्छ । एकाध सांसद छन्, सरकारको विरोध गर्ने । विचरा, तिनको आवाज कसले सुनिदिने ? अहिले त तिनै सांसदले पनि मुखमा चुकुल लगाएका छन् । सत्ता नपाउञ्जेल अर्कालाई आरोप लगाउने अनि सत्ता पाएपछि केही नगर्ने।
सदन त जनताको आवाज उठाउने र ऐनकानुन बनाउने थलो हो । तर, त्यो हुन सकेन्। दलालीहरुलाई प्रधानमन्त्री र मन्त्री बनाउने थलो बनेको छ सदन। राजनीतिक दलहरु आफूले गरेको भ्रष्टाचारबाट बच्न सोहीअनुरुप कानुन बनाइरहेका छन्। देश दोहनका लागि उनीहरुले नयाँ नयाँ कानुन ल्याइरहेका छन्।
तर, विरोध गर्ने कोही छैन्। नेपालमा जति पनि बचेकुचेका छन्, सबै तिनका कार्यकर्ता छन् । बेरोजगार जनतालाई आफ्नो झोले बनाएर नेताहरुले जनतालाई दबाइरहेका छन्। देशका नेतालाई जनताले दलाल भन्न थालिसकेका छन् । अर्थमन्त्रीलाई सेयर दलालीको नाम दिइएको छ । अन्य मन्त्रीलाई पनि नाम राखिएको छ।
मन्त्रीहरु व्यापारीको हितमा काम गर्छन् । सर्वसाधारण फसायो अनि व्यापारी उकासयो । नेताको अगाडि बोल्न नसक्ने अनि जनताको बीचमा गएर ठूल्ठूला भाषण ठोक्ने काम सांसदले नगरौं । अतिले खति गर्छ । त्यो उदाहरण बंगलादेशको घटनाबाट देखि नै सकेको छैन् । जनताले अब कर र ऋणको हिसाब खोज्छन् ।
विदेशमा बस्नेले रेमिट्यान्स पठाउँछन्। जनताले कर तिर्छन्। विदेशीबाट खर्बौं रुपैयाँ ऋण लिइएको छ। कहाँ गयो त्यो पैसा ? विकास भन्छौं भने कहाँ भयो विकास? यो देखाइदिनुपर्यो।जनताहरु खान नपाएर माग्ने, उपचार नपाएर आत्महत्या गर्ने अनि नेताचाँहि देश बेचेर खाने ? अब जनताको आँखा खुल्न जरुरी भएको छ।