समस्या लिएर आउने जनतालाई सिंहदरबार छिर्न सास्ती, कमिशन दिनेलाई मात्र देख्छन् मन्त्री, प्रधानमन्त्री

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र सबै मन्त्रालय छन् । एउटा स्वास्थ्य मन्त्रालय मात्र बाहिर छ । प्रधानमन्त्री, मन्त्री, मुख्यसचिवदेखि सचिवसम्म सिंहदरबारभित्र बस्छन् । ७७ जिल्लाकै सर्वसाधारण व्यक्तिगत तथा सार्वजनिक काम लिएर सिंहदरबार आउँछन्।

बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सरकारी कर्मचारीले सेवाग्राहीलाई सेवा दिनुपर्ने कानुनी व्यवस्था छ । छिटोछरितो कार्यालय पुगेर काम गरुन् भनेर सरकारले सरकारी कर्मचारीलाई पाँच लाखदेखि २५ करोड रुपैयाँसम्मको गाडी दिएको छ । यता, ड्राइभरको व्यवस्थापन पनि सरकारले नै गरेको छ ।

प्रधानमन्त्रीदेखि मन्त्रीसम्मले पनि जनताले तिरेको करबाट खरिद गरेको सरकारी गाडी चढ्ने हुन् । जनताले कर तिरेका छन् तर उनीहरुले के सुविधा पाएका छन् ? सिंहदरबार छिर्नका लागि पास लिने ठाउँको झ्याल बिहान साढे १० बजेसम्म खुल्दैन् । बिहानैदेखि आएर सर्वसाधारण लाइन बसिरहेका हुन्छन् ।

१० बजेदेखि सेवा दिनुपर्ने नियम सिंहदरबारमा त लागु हुँदैन् भने बाहिरका सरकारी कार्यालयको अवस्था के होला ? जनताले कति दुःख पाएका होलान् ? सिंहदरबारमा बस्ने उच्च पदस्थहरुलाई के थाहा । मन्त्रीदेखि सचिवसम्म त्यही गेटबाट छिर्छन् । तिनले जनताले पाएको दुःख देखेका छैनन् ?

कि देखेर पनि बुझ पचाएका हुन् ? वृद्धवृद्धा, रोगी, अपाङ्गता भएकाहरु कष्टकर अवस्थामा लाइन बसिरहेका हुन्छन् । अनि सरकार अझैपनि हामी जनताको लागि काम गर्छौं भन्ने ? जनतालाई दुःख दिएर प्रधानमन्त्री, मन्त्री, मुख्यसचिव, सचिवलाई भित्र गएर आरामसँग बस्न लाज लाग्दैन् ?

सिंहदरबारको झ्याल दिँउसो ३ बजेसम्म खोल्ने भनिएको छ । तर, २ बजे नै बन्द गरिदिन्छन् । बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म खोल्दा के जान्छ ? जनताको समस्या सुन्न त उनीहरु बसेका छन् । प्रधानमन्त्री, मन्त्रीको सरकारी जागिर होइन् । बिहान १० बजे आएर ५ बजे हिँड्नलाई ।

उनीहरु जतिबेला पनि सर्वसाधारणको सेवामा खटिनुपर्ने हो । उनीहरुको समस्या सुन्नुपर्ने हो । जनताको आवाज नै नसुन्ने हो भने केको प्रधानमन्त्री, केको मन्त्री । प्रधानमन्त्री केपी शर्मा ओली जनताको काम छिटोछरितो गर्नुस् भनेर निर्देशन दिइरहेका हुन्छन् । तर, उनी बस्ने दरबारमै जनताले दुःख पाइरहेका छन् ।

उनले बोलेको त कर्मचारीले नटेर्ने रहेछन् । जनतालाई घामपानी नभनिकन लाइनमा उभिएका हुन्छन् । तर, सरोकारवाला देख्दैनन् । यो त आश्चर्यजनक विषय भो । कि त सिंहदरबारभित्र बस्ने सबैको आँखा कमजोर छ ? आँखा चेक गर्ने अवस्था आएको हो कि ? सिंहदरबारमा बस्नेले केही नै देख्दैनन् ।

धर्मको नाममा सर्वसाधारण लुटिएको छ । पशुपतिनाथ मन्दिरमा कोटिहोमका नाममा सर्वसाधारणलाई गेरुवस्त्रधारीहरुले ठगेका छन् । तर, सरकारले देखेन् । सिण्डिकेट लगाएर व्यवसायीहरुले सर्वसाधारण लुटेका छन्, दुःख दिएका छन् । सरकारले यो पनि देखेन् । जनताको अवस्था के छ ? जनताले कहाँ कहाँ दुःख पाइरहेका छन् ?

प्रधानमन्त्री, मन्त्रीलाई थाहा छैन् । हुन त कालो झयाल भएको गाडीमा हुइँकिने भएकाले पनि होला । जनताले दुःख पाएको नदेख्ने प्रधानमन्त्री, मन्त्रीले विदेशी ऋण लिने बेला र कमिशन खाने बेलामा चाँहि आँखा देख्छन् । देश बेच्नकै अग्रसर हुन्छन् । ठेक्कापट्टा मिलाउन र सरुवा–बढुवा गर्न माहिर छँदै छन् ।

अहिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल छन् । ४० वर्षदेखि हरियो र कालो प्लेटको ट्याक्सी, ढुवानी गाडी, फो–स्टक टेम्पोको दर्ता खोलेको छैन् । तर, यस विषयमा न प्रधानमन्त्री जवाफदेही छन् न यातायातमन्त्री । भन्ने बेला हामी देश र जनताको काम गर्न आएको भन्छन् ।

देश र जनताको लागि काम गर्न आएको कि आफ्नो धोक्रो भर्न, यो त जनताले देखि सकेका छन् । यिनीहरु देश बनाउन होइन्, देश सकाउन आएका दलालहरु हुन्। दलालको पेशा नै ठग्ने, लुट्ने, बेच्ने हो । कसरी ठग्ने, लुट्ने ? दलालको दिमागमा जतिबेला पनि यही कुरा खेलिरहेको हुन्छ ।

एउटा सिंहदरबारभित्र छिर्न सहज गराउन नसक्ने प्रधानमन्त्री ओलीको सरकारले मालपोत, यातायात कार्यालय, राहदानी विभाग, जिल्ला प्रशासन कार्यालयमा भएको भीड र भ्रष्टाचार अन्त्य गराउन सक्छ ? उनको काम गर्न सक्ने क्षमता त जनताले देखि नै सके । पछिल्लो पटक प्रधानमन्त्री भएको महिना दिन बित्यो ।

तर, सिन्को भाँचेका होइनन् । हावा गफ लगाउनमै उनी व्यस्त छन् । अलिकति नैतिकता छ भने मुख्यसचिव लीलादेवी गड्तौलाले पदबाट राजीनामा दिए हुन्छ । जनतालाई सेवासुविधा दिन नसक्ने पदमा बसेका के फाइदा ? व्यर्थैमा राज्यको ढुकुटीलाई भार मात्र परिरहेको छ । देश र जनतालाई काम गर्ने मान्छे चाहिएको छ न त कुर्सी ओगटेर राज्यको ढुकुटी सकाउने ।

प्रधानमन्त्री र मन्त्रीको हकमा पनि त्यही हो । काम गर्न सकिन्छ पदमा बस्ने, नसके राजीनामा दिएर हिँड्ने । तर, हाम्रा नेतामा नैतिकता भन्ने चीज नै छैन् । जनता मरेपनि यिनीहरुले पद छोड्दैनन् । एमाले, काँग्रेस, माओवादीलगायतका दलले काम गर्न सक्दैनन् भन्ने पुष्टि भइसकेको छ ।

तैपनि जनताले यी दललाई भोट दिन्छन् । जनताको आँखा कहिले खुल्ने ? राजनीतिक दलले देश सकाइसके, तापनि यिनीहरुलाई नै चुनेर पठाइरहेका छौं । केपी शर्मा ओली पटकपटक प्रधानमन्त्री भए, देशले के पायो ? रमेश लेखक बारम्बार मन्त्री भए । कतै सुधार देखिएको छ ।

एउटै व्यक्ति पदमा दोहोरिरहन्छन् । यिनीहरुले देश बेचिसके । विदेशी ऋण झण्डै २७ खर्ब रुपैयाँ पुग्न लागिसकेको छ । तर, जनता चुइक्क आवाज निकाल्दैनन् । बरु, खाडीमा गएर रगत पसिना बगाउँछन् । नेताहरु कतिसम्म ‘फटाहा’ हुन्छन् ? यसको उदाहरण त काँग्रेस महामन्त्री गगन थापा हुन् ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट उठेका उनले आफू प्रधानमन्त्री हुने भन्दै भोट मागे । जनताले पनि होला भनेर भोट दिए । तर, के प्रधानमन्त्री बन्नु ? पार्टीभित्र कसैले गन्दा त गन्दैन् । दाजु–भाउजुअगाडि उनको मुख खुल्दैन्। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोप काँग्रेस सभापति शेरबहादुर देउवापत्नी डा आरजु देउवामाथि लागेको छ।

तिनै व्यक्ति अहिले देशको परराष्ट्रमन्त्री छिन्। तर, गगन बोल्दैनन्। ‘नपाएसम्म कराउने, पाएपछि हराउने’ भनेको यही हो। अहिले गगन कुन दुलोमा लुकेर बसेका छन् ? कुनै अत्तोपत्तो छैन्। न जनताको समस्या नै उठाउँछन्। सांसदहरु देश र जनताको पक्षमा बोल्न सक्दैन्।

पार्टीको सभापतिको चाप्लुशी गर्छन्। मन्त्री खान पाइन्छ कि ? ठेक्कापट्टा मिलाएर कमिशन खान पाइन्छ कि ? भनेर हिँड्छन्। यस्ता पनि जनताको अभिभावक। यिनीहरु जनताको काम गर्न आएका होइनन्। व्यक्तिगत सम्पत्ति जोड्नका निम्ति आएका हुन्। नेता जनताको सेवक हुनुपर्थ्यो।

तर, उनीहरु लोभी भए। नेताहरु भ्रष्टाचार गर्नतर्फ लागे। उनीहरुकै सिको कर्मचारीले सिके। अहिले हरेक सरकारी कार्यालय भ्रष्टाचारको दलदलमा फसेको छ। निःशुल्क भनिएको सरकारी कामका लागि पनि जनताले पैसा खुवाउनुपरेको छ। कतैपनि जनताले सेवासुविधा पाउन सकेका छैनन्।

जनतालाई राजनीतिक दलले सँधै ‘मुर्गा’ बनाए। गाउँगाउँमा सिंहदरबार भने तर लुटको दरबार बन्यो। नगरपालिका, वडा बनाएको के काम ? नगरपालिका, वडामा केही कामै हुँदैन्। समस्या लिएर काठमाडौं नै आइपुग्नुपर्छ। तैपनि सहज रुपमा सिंहदरबार छिर्न दिँदैनन्। देश लुट्नेहरु मोजमा, जनता सँधै शोकमा भनेको यही होला।