भू-स्वर्ग धार्मिक एवम् पर्यटकीय क्षेत्र बुढिनन्दा 

 
बाजुरा जिल्लाको उत्तरी भेगमा अवस्थित धार्मिक एवम् पर्यटकीय ऐतिहाँसिक बुढिनन्दा मन्दिर, सैपाल हिमालको दक्षिणी हिमशृङ्खला, उत्तरमा फुलैगुम्बा र सैन पाटन, बाजुरा पादुका त्रिवेणीधाम र कोल्टी विमानस्थलबाट उत्तरतिर पर्दछ। ‘अल इन्फो नेपाल’ नामक पुस्तक अनुसार मन्दिर छेउको ‘निजार’ ताल विश्वकै सर्वाधिक उचाइमा रहेको मनाङ जिल्लाको तिलिचो तालपछिको दोस्रो उचाइमा रहेको बताइएको छ।
 
दुई ठूला पहाडको बिच गोलो आकारको चट्टानमा रहेको ताल समुद्र सतहबाट ४ हजार ५ सय ८१ मिटरको उचाईमा रहेको छ । तालको लम्बाई, चौडाई र गहिराईको विस्तृत् अध्ययन हुँन बाँकी नै छ ।
 
तालको परिक्रमा गर्न तन्नेरीलाइ झण्डै एक घण्टा लाग्ने गर्दछ । चट्टानै चट्टानमा अवस्थित यस क्षेत्रमा धलपूरादह, मष्टादह, लङ्कारी दह, निजारदह, महारूद्रदह, गाभेदह र अन्य रमणीय तालहरूका साथै वारीपारीबाट दूध जस्तै सेता भएर बग्ने झरनाहरुले वातावरण झनै मनमोहक देखिन्छ।
 
बुढिनन्दा भगवतीको मन्दिरमा दर्शन गर्नाले मनले चिताएको पुग्ने जनविश्वास रहेकोले गाउँघरतिर ‘वरकी बुढ्नन्दा रामकी मालिका’ भन्ने लोकोक्ती रहेको छ। बाजुरा जिल्ला लगायत बझाङ, अछाम, डोटी, कैलालीका साथै कर्णाली प्रदेशका कालिकोट, हुम्ला, मुगु र जुम्ला वासीको प्राचीन कालदेखि नै मुख्य एक धार्मिक स्थलका रूपमा रहदै आएको छ।  
 
बुढिनन्दा मन्दिरका बारेमा अनुसन्धान गर्न सहयोग पुग्ने शिलालेख, ताम्रपत्र जस्ता प्रमाणहरु कुनै फेला पर्न सकेका छैनन् । तर गाउँघरमा विभिन्न किंवदन्ती प्रचलित छन्। सतिदेवीको देब्रे हातको बुढिऔँला पतन भएको हुनाले बुढिनन्दा नाम रहन गएका हो भनिन्छ ।
 
अर्को कथनानुसार  ‘सतिदेवी र नौ दूर्गा देवीको अवतार हुनुभन्दा अगाडी नै बुढिनन्दाको जन्म भएको मानिन्छ।नौ दूर्गा भवानी मध्ये सबैभन्दा जेठी बहिनी बुढीनन्दा हुन्, उहाँले आजीवन विहे गर्नु भएन’ र सेतो वस्तु प्रिय छ, झकिझकाउ मन पर्दैन भन्ने कुरा पनि छ।
 
त्यस्तै महादेवले  सतिदेवीको लाश बोकेर पृथ्वीको परिक्रमा गर्दैगर्दा सतीदेवीको नासिका पतन पश्चात् सुनन्दा र बुढीनन्दा भगवतीको उत्पत्ति भई शक्तिपीठका रूपमा परिणत भएको हो भन्ने भनाइ पनि छ।
 
पहिले बाजुराकै जुगाडामा थिइन् त्यहाँ पूजाआजाको व्यवस्था नभए पछि कोल्टी स्थित ‘चौकी लेक’ मा आएर बसिन् । त्यहाँ रहँदा दिनहुँ बिहानै ‘भुलेना’ गाउँबाट कुखुराको डाको सुनिने हुँदा त्यहाँ बस्न पनि उचित नलागेर लङ्कारी दहमा नुहाएर मृगको रूपमा अहिलेको स्थानमा रहन पुगिन्’ भन्ने किंवदन्ती पनि छ।
 
यसरी गाउँघरमा बुढिनन्दाका बारेमा थरीथरीका कथन सुन्नमा आउँछन्। सबैभन्दा प्रचलित र सोही अनुसार पूजाआजा हुँदै आएको एउटा किंवदन्ती कथा यसप्रकार छ: परापूर्वकालमा हाल बुढिनन्दा नगरपालिकाको ‘नुरी गाउँ मोटेढुङ्गामा दान्याँ बम र पल्लान्याँ बम (हाल बमका सन्तान बोहरा लेख्दछन्) दुई दाजुभाई घर बनाई बसेका थिए । एकदिन दाजुभाइ ऐणा अर्थात सिकार खेल्न गएका रहेछन् । घरमा गृहिणीले बिस्कुन सुकाइछन् ।
 
  सुकाएको बिस्कुन एक सुन्दर मृग आएर खाइदिएछ । गृहिणीले मृगलाई जति पटक धपाएपनि फेरिफेरी बिस्कुन खान आइहाल्दो रहेछ । यसरी गृहिणीलाई त्यो मृगले दिनभर दुःख दिएछ । बेलुका सिकारबाट दाजुभाइ घर आएपछि गृहिणीले दिनको कुरा बेलिविस्तार  गरिन् । त्यसो भए मृग भोलि पनि बिस्कुन खान आउँछ त्यसैलाई सिकार गर्नुपर्‍यो भन्ने सल्लाह गरेछन् ।
 
भोलिपल्ट घाम उदाएपछि आँगनमा बिस्कुन डासेर आफू घरभित्रै लुकेर बसेछन् । अघिल्लो दिन झैँ मृग आएर बिस्कुन खान थालेपछि मृगलाई मार्ने ध्ययले वाण हानेछन्, तर वाण मृगलाई लागेन छ र मृग उफ्रिएर भागेछ । त्यसपछि त्यो मृगलाई दुबै दाजुभाइले लखेट्दै लखेट्दै लगेछन् । सिकार गर्ने उद्देश्यले मृगको पछिपछि लागेर जाँदा साँझ पर्दै गयो तर मृग मार्न सकिएन छ ।
 
मृगलाई लखेट्दै गएका ठाउँ चुनढुङ्गा, मुसेपानी, लादे, खर्स्याडी हुँदै साँझपर्ने बेला घाँसैघाँस उम्रेको एक अजङ्गको ढुङ्गामूनि मृग लुक्न पुगेछ । जसलाइ अहिले छाप्रे भँडार भनिन्छ । अँध्यारो भएको र घर फर्किन समय नभएकोले दाजुभाइ त्यसै ढुङ्गाको गुफामा बास बसेछन् । भोलिपल्ट उज्यालो भएपछि घर फर्किनै लाग्दा अलप भएको मृग फेरि देखापरेछ । मृग देखिएपछि वाण हानेछन् तर लागेनछ ।
 
मृग उफ्रिउफ्रि माथी हिमालतिर भाग्दो रहेछ । न मृग मार्न सकिन्थ्यो न त्यसलाई छोडेर घर फर्कनै सकिन्थ्यो । यसरी मृग लखेट्दा लखेट्दै लाैरी विनाइक, सातपाखे, हुँदै गाइगोठ पुगेपछि एकत्यहाँ एक साधु देखापरेछन् । ति साधुले यो ठाउँ भगवतीसँग वरदान माग्ने ठाउँ हो तिमीहरू पनि आफ्नो इच्छानुसारको वर माग भनेछन्, र साधु अलप भएछन् । दाजुभाइले एक दुधालु भैंसीको वर मागेछन् । साधु अलप भएकै ठाउँबाट कस्तुरी पुनः उफ्रदै अगाडि बढेछ ।
 
दाजुभाइलाई साधु अलप भएको कुरातिर ध्यानै गएनछ । मृग देखेपछि लखेट्दै चरीदह पुगेछन् । जुन बाटो भएर मृगलाई लखेट्दै गएका थिए सोही बीच बीचमा ढुङ्गा पनि गाड्दै गए । ढुङ्गा गाडेका अहिले पनि देखिन्छन् । जसले गर्दा आफू फर्किदा बाटो नहराओस् भन्ने उद्देश्यले । त्यसपछि धाैली बगरको किनारै किनार मृगलाई लखेट्दै लखेट्दै जाँदा धाैली भँडार (धन भण्डार) को ठूलो ढुङ्गामा रहेको प्वालभित्र मृग अलप भएछ । तर मृग अलप भएकै ठाउँमा एक झारल मृग देखापरेछ त्यसलाई बाण हानी मारेछन् र ओडारमै सुतेछन् ।
 
त्यत्रो ठूलो पाटनको ओडारमा दुई भाई मात्र हुँदा डर लागेपछि पालैपालो सुत्ने सल्लाह गरेछन् । दाजु सुतेपछि भाइ पल्लाने बोहोरा जागा बसेका बेला लामा भेषधारी एउटा मानिस आएर तिमीहरुले मेरो अगुवा मृगलाई मारिदियौ । म ब्यूँताएर लैजान्छु तिमीलाइ दिन्न भनेपछि पल्लाने बोहोराले भनेछन् ‘यति दु:ख गरेर मृगको पछि लागेर आयौं, दुई दिनदेखि खानापानी नखाई मारेको मृग दिन सक्दैनौँ भन्दा केही समय विवाद भएछ ।
 
पछी ती साधुले भनेछन् ‘म धल्पूरा नामक देउता हुँ, तिमी यो झारल मलाई देऊ त्यसको सट्टामा म तिमीलाई विष झार्ने (विष लाग्दा ठीक पार्ने ) मन्त्र सिकाइदिन्छु, मेरो मृग फिर्ता देउ’ भनेपछि पल्लानेलाई चित्त बुझेछ, र  त्यसपछि लामा भेषधारीको बाचा अनुसार आफ्ना सन्तान बाहेक (दान्या/पल्ल्यान्याँ बमका सन्तान ) अरू कसैलाई नसिकाउने शर्तमा मन्त्र सिकाइ मागेछन् । (अहिलेपनि बोहोराका सन्तान बाहेक अरूलाइ त्यो मन्त्र सिकाइएको छैन ।
 
अरूलाई त्यो मन्त्र सिकाएमा मन्त्रले काम गर्दैन भन्ने विश्वास रहदै आएको छ । ) लेकमा कसैलाइ विष लागेमा बोहोराहरूले सो मन्त्र फुकेर फालेमा निको हुने गरेका धेरै उदाहरण छन् ।) भाइ मन्त्र याद गर्दै बस्न थाले । सुतेका दान्या बोहोराले सपनामा अघिल्लो दिनदेखि लखेट्दै लेखेट्दै ल्याएको मृग, मृग नभएर मृगरूप धारण गरेर मैले तिमीहरूलाई दर्शन दिन यति गरेकी हुँ, मेरो नाम बुढीनन्दा देवी हो, अबदेखि तिमी र तिमीहरूका साखा सन्तान मेरा पुजारा हुनेछौ भने होम गर्नका लागि बाँधु गाउँ पण्डित गङ्गाराम पाध्याका सन्तान हुमारा हुनेछन् ।
 
मैले गङ्गाराम पाध्याका घरमा गुप्त रूपले आसागुर्जा (पूजासामाग्री) छोडेकी छु, त्यहाँ गएर सारा कुरा सुनाउँनु, अबदेखि तिनीहरूका दरसन्तान मेरा हुमारा हुनेछन्, जुन बाटो भएर मृग रूपमा म आएँ सोही बाटो भएर वर्षेनी प्रत्येक श्रावण शुक्ल चतुर्दशीका दिन मलाई थपना गरेको स्थानमा आई पूजाआजा, होमादि कार्य गर्नु, मेरालागि ठूलो मन्दिर नबनाउँनु, पूजाआजा गर्न आउँदा तामझाम, झकिझकाउ गरेर नआउँनु, राम रमिता, मनोरञ्जनका लागि भनेर नसम्झनु, जो दीन दुःखी, अनाथ, गरिब असहाय छन्, जसका सन्तान छैनन्, जोसँग धन,सम्पती छैन, जो दरिद्र छन्, तिनीहरुले सात्विक भावमा पूजा गर्ने गरुँन्, मनोकामना पुरा गरिदिनेछु । भोलि बिहान म मृग रूप धारण गरेर बाटो देखाउँनेछु तिमीहरू पछि लागेर आउँनु अन्तमा म जुन रूपधारण गर्नेछु सोही रूप तिमीहरूले वर्षेनी दर्शन गर्ने प्राकृतिक रूप हुनेछ भनेर देवी अन्तर्ध्यान हुनुभएछ ।
 
प्रातकाल भएपछि दाजुले आफूले देखेको सपना र भाइले मारेको मृग फिर्ता गरेको, मन्त्र सिकेको कुरा एकअर्कालाई सुनाएछन् । ( यसै सँग जोडिएको कुरा पनि गरौं । भँडारमा मृग अलप भएपछि रात पर्न लागेको थियो, दुई दिनदेखि थाकेका हुनाले दाजुभाइ भुसक्क निदाए । निदाएका बेला दुबै दाजुभाइले एउटै सपना देखे, जुन माथी लेखिएको छ । लखेट्दै ल्याएको मृग’ मृगको रुप धारण गरेकी  थाहा पाए, झल्याँस्स ब्युझिए ।
 
ब्युँझिदा दुबै दाजुभाइका अगाडी दुई ओटा पायस (खीर) का थाली राखिएका थिए । पायसका थाली भगवतिले नै राखेको हो भन्नेमा विश्वस्त भए । दुईदिन देखिका भोका हुनाले दाजुभाईले पायस खाए । ) भँडारको प्वालबाट मृग निक्लेर अगाडि बढेछ । त्यो मृगलाई दाजुभाइले दर्शन गरेछन् र मृगलाई पछ्याउँदै सुनालिस्नी, भुजाडाली हुँदै धल्पूरादह मष्टादह र माथि गएपछि ठूलो दहको किनारमा पुगेपछि मृग एउटा स्फटिकको रूप छोडर अलप भएछ।
 
दाजुभाइले त्यो स्फटिकलाई सपनामा भने अनुसार तालको छेउमा आसन निर्माण जल चढाइ पूजा गरेछन् । तत्पश्चात बर्षेनी श्रावण शुक्ल चतुर्दशीका दिन पूजाआजा गर्न  पुजाराको रूपमा नुरि गाउँका बोहरा परिवार र हुमाराका रूपमा बाँधु गाउँका गङ्गाराम पाध्या (तिमिल्सिना) का सन्तान जानैपर्ने परम्परा छ । 
 
हिन्दू पूराण अनुसार पश्चिम मूहान भइ पूर्वतिर बग्ने नदिनालाहरू अति पवित्र मानिन्छन् । बुढीनन्दा तालदेखि मुहान हुँदै बग्ने खोलाको नाम बड्डीगाण (बड्डी खोला) हो। निजारदेखि घोडाकोट खोलासँग नमिसिदासम्म बड्डिखोलाको पानी जतिसुकै वर्षा होस् या बाढी आओस्, कहिल्यै धमिलो हुँदैन ।
 
जुन कुरा पाैराणिककालदेखि नै देख्न र सुन्नमा आएको छैन । सेतो दूध झैँ बग्दै पाटनदेखि लेक वेंशी सम्मका स्थानिय गाउँ बस्तीका खेतिबारी सिञ्चन गर्दै पादुका कर्णाली नदीमा आएर मिसिन्छ । कलियूगमा पनि दैवी शक्ति छ, ईश्वर छन्, भन्ने कुरा आफैले प्रतक्ष्य अनुभव गर्न चाहानेहरुका लागि एकपटक दर्शन गर्न नपुगि नहुने ठाउँ हो बुढिनन्दा मन्दिर र निजार ताल क्षेत्र ।
 
वारिउँदाकी खेतीबेति पारिउँदाकी बिन्नी
ऐले माई बुढिनन्दा क्याऊ बरु दिन्नी ।। 
 
बुढिनन्दा मन्दिर पूजा गर्नका लागि बाँधु गाउँबाट ‘हुमारा’ अर्थात होम गर्ने ब्राह्मण सहित तिर्थालु श्रावण शुक्ल एकादशीका दिन ‘नुरि’ गाउँ ‘पुजारा’ अर्थात पुजारीका घरमा बास बस्ने गरि प्रस्थान गर्दछन् । द्वितीया तिथिमा ‘हुमारा’, पुजारा’ सहितका तिर्थालु ‘नुरि’ गाउँबाट सँङ्गै प्रस्थान गर्दछन् । अन्यत्र गाउँ ठाउँबाट आएका तिर्थालु ‘छाप्रे’ भँडारमा द्वितीयाको दिन बेलुका पुग्नुपर्ने हुन्छ । मृगरुप भगवती एक वास त्यहाँ बसेकोले तिर्थालुले पनि छाप्रेमै बास बस्नुपर्ने मान्यता छ।
 
सबै गाउँठाउँ बाट आएका तिर्थयात्रीहरुको छाप्रे ओडारमा श्रावण शुक्ल द्वितियाको बेलुका भेटघाट हुन्छ । भक्तजन देवी देवताका आरती, भजन किर्तन, मागल, सवाई, सिलोक र कथा आदि भनेर रात बिताउँदछन् । तृतीयाको दिन विहानै सबै यात्रुहरु छाप्रे पाटनबाट नाङ्गो खुट्टामै हिडेर जानुपर्दछ । (नुरि गाउँबाट आउने तिर्थालुले जुताचप्पल नुरि गाउँमै राखेर नाङ्गो खुट्टा जान्छन् भने अन्तबाट छाप्रेमा आउनेले छाप्रेमै जुताचप्पल राख्नुपर्दछ ।
 
जुत्ता चप्पल लगाएर जान पाइदैन ।) जयजयकार गर्दै ठूलाठूला पाटन, मनमोहक फाँट र वेशीतिरको हरियाली वस्तीको आनन्द लिन्छन् । कुइरो र हुस्सु नलाग्दा जुम्ला, कालिकोटका र मुगुका  गाउँ वस्ति, डाँडाकाँडा र हिमाल देख्न सकिन्छ । त्यस्तै मुगुको धार्मिक स्थल छायानाथ, बझाङको सैपाल हिमाल, बाजुराकै बडिमालिका र सिम्भूनाथ क्षेत्र देख्न सकिन्छ । ठाउँठाउँमा भेडी गोठाला, भैँसी गोठालाहरुले स्वागत गर्दछन् । भैंसी गोठाले तिर्थयात्री सम्पूर्णलाई ‘दही’ को समेत व्यवस्था गरेका हुन्छन् ।
 
कोही नथाकोस् र बाटो नभुलोस् भनेर पुजाहरु अगाडि लागेर तिर्थयात्रीलाई रोक्दै रोक्दै, बिचबिचमा नास्ता खाँने समय छुट्याउँदै आरामका साथ हिड्न सहयोग गर्दछन् । भेडा बाख्रा, राँगा, भैंसी र घोडा खच्चरको चरिचरनले पाटनमा हिड्ने बाटो अलमल परिने हुन्छ । एक्लै हुँदा ख्याल गर्नुपर्छ नत्र हराउँने सम्भावना धेरै हुन्छ ।
 
पाटन कटेपछि उकालो लौरी विनायक आउँछ त्यसपछि सातपाखे अर्थात सात ओटा पाखा भएको ठाउँ अनि ‘गौ गोठ’ अर्थात वर माग्ने डाँडा पुगेपछि आफूले चिताएको वर माग्नलाई भक्तजनले केही वस्तु लिएका हुन्छन् त्यहाँ लुकाउने गर्दछन् । फर्किदा आफूले लुकाएको वस्तु फेला पारियो भने मनोकामना पूरा हुने मान्यता रहिआएको छ ।  ओरालो झरेपछि ‘चरी’ दह पुगिन्छ ।
 
जहाँ पित्री कार्य गरिन्छ त्यसैले पित्री कार्य गर्न गएकाहरु त्यहीँबाट घर फर्कने गर्दछन् । चरी दहमा वर्तबन्ध नगरेकाहरुले ब्राह्मणबाट वर्तबन्ध गराउँदछन् । त्यसपछि जयजयकार गर्दै पाखो काटेर बगरै बगर फूलबारी हुँदै मृगरुप भगवती अलप भएको धौली भँडारमा बास बसिन्छ । धौली भँडारमा हरेक गाउँठाउँबाट आउने तिर्थालुका पूर्खौँदेखि बस्ने आआफ्नै ठाउँ छन् । हरेक तिर्थयात्रीले सातु, गहुँ, मकै, मार्स्या, बिस्कुट चिउरा आदि खानेकुरा प्रसादको रूपमा लिएका हुन्छन् । थोरै थोरै गएका सबै यात्रुलाई बाँड्ने चलन पनि छ । सबैले त बाँड्दैनन् तर अधिकांशले चाहिँ प्रसाद बाँड्दछन् । तिर्थयात्री सबैको आशीर्वाद पाउनलाई हो भन्ने गरिन्छ ।
 
छाप्रेबाट भगवतीको दर्शन गरि बास बस्ने ठाउँ नफर्कदासम्म खानेकुराको जोहो गरेर लिनुपर्छ किनकि बाटोमा खान बनाएर खान सकिने कुनै ठाउँ छैनन् । फाट्टफुट्ट भेडी गोठाला मात्र हुने हुँदा सबैलाई पकाएर खुवाउने सम्भावना हुँदैन । तृतीयाको रातभर छाप्रे भँडार जस्तै धौली भँडारमा पनि भजन किर्तन सबै हुन्छ । वर्तबन्ध गर्न चाहानेहरुले ‘चरिदह’मा वर्तबन्ध नगरेका भए धौली भँडारमा वर्तबन्ध गर्दछन् ।
 
चतुर्दशीको बिहानै हातमुख धोएर भगवतीको दर्शन गर्न जयजयकार गर्दै प्रस्थान गरिन्छ । चिप्लो ठाडो चट्टानको बाटो भएर जानुपर्ने भएकोले पुजाराले कोहि हतोत्साहित नहुन्, पीडा महसुस नगरून् भनेर बिस्तारै, रोक्दै रोक्दै निजारसम्मै अगुवा पछुवा भएर लिन्छन् । केही मुख्य हुमारा र पूजारा अगाडि नै जान्छन् । निजारमा पुगेपछि नुहाई धुवाई गरेर भक्तजन आफ्नो नाममा होम गराएर लामबद्ध हुँदै भगवतीको दर्शन गर्दछन् र फर्किन्छन् ।
 
अचम्म त के छ भने ‘फूलवारी’ नामक बगैँचामा अनेकौं किसिमका रङ्गिबिरङ्गी फूलहरू छन् । श्रावण शुक्ल तृतियाको बिहान जाँदा ढकमक फुलेका ति फूलहरु देवीको दर्शन पश्चात् फर्केर आउँदा भोलिपल्ट प्रायः सबै फूलहरु ओइलीएका हुन्छन् ।
 
त्यस्तै विहानपल्ट दर्शनार्थीले दर्शन गर्नुभन्दा अगाडी उज्याला मनोरम देखिने डाँडाकाँडा र पाटनहरु पनि दर्शन गरि घरतिर फर्किदा अँध्यारा र मधुरा देखिन्छन् । श्रावण शुक्ल चतुर्दशीका दिनभन्दा अगाडी बुढिनन्दा पाटनमा चराउन लगाएका भेडाबाख्रा वनबाट आफै गोठमा आउने गरे पनि चतुर्दशीका दिनदेखि भेडा बाख्रा खोज्न जानुपर्ने भेडी गोठालाहरुले बताउँने गर्दछन् ।
 
बुढिनन्दा क्षेत्रमा बाजुराका विभिन्न गाउँठाउँबाट जाँन सकिन्छ । हिमाली गाउँपालिकाको बाँधुबाट नुरि हुँदै र टिनबाट सिधै लौड़ी विनायक, पाँडीबाट नुरिकाँध आड्या बाटो हुँदै छाप्रे पाटन । त्यस्तै बुढिनन्दा नगरपालिकाको कोल्टीबाट नुरि वा सिमकुरू भएर छाप्रे पाटन, बड्डालाबाट मोटेढुङ्गा हुँदै छाप्रे पाटन र गौमुल गाउँपालिकाको अम्लिसबाट खेतीबेती हुँदै धौली पाटन र बडिमालिकाको रजाली, शिवराज्या, सिन्तुवा हुँदै धौली पाटनबाट जान सकिन्छ ।               
 
दर्शन गर्न बाहेक अन्य पर्यटनको लागि भ्रमण गर्नका लागि उपयुक्त समय साउन र भाद्रको समय नै उत्तम हो । अरुबेला मौसमले साथ दिदैन । असोज कार्तिक देखि हिउँ पर्न थाल्छ र जेठ असारसम्मै रहन्छन् । छाप्रेदेखि माथी पुरै उच्च हिमाली भेग हो भने भुजाडालीभन्दा माथि मन्दिर र ताल रहेको स्थान ट्रुन्डा क्षेत्र हो । जहाँ अक्सिजनको कमी हुँने गर्छ । स्वासप्रश्वासमा बाधा अबरोध हुन्छ । लेक लाग्ने गर्दछ । श्वासप्रश्वास, दम र मुटु रोगीहरुका लागि खतरा नै हुन्छ । लेक लाग्ने हुँदा पिरो अमिलोजन्य खानेकुरा र अचार बनाएर लिनु पर्दछ । प्रायः सिरसिर हावा र झिमझिम पानी परिरहन्छ कुहिरो लागिरहन्छ । अत्याधिक चिसो हुँने हुँदा तातो न्यानो हुने कपडाहरु लगाउँनुपर्छ । छाताबाट ओत लाग्ने संभावना हुँदैन । प्लास्टिक, रेन्कोट, जकेट नै उपयुक्त हुन्छन् । साथै सामान्य औषधीहरु पनि साथमा लगेर जाँदा राम्रो हुन्छ ।
बुढिनन्दा पाटन क्षेत्रमा मुख्य गरि डाँफे, मुनाल, न्याउली, कोइली र हिमाली पाटनतिर पाइने अनेकौं लेकाली चराचुङ्गीका साथै पाटेबाघ, कस्तुरी, घोरल, थारल, हिमचितुवा मृग, भालु, बँदेल, लङ्गुर, ढेणु, स्याल जस्ता जीवजन्तु पाइन्छन् ।
 
जडिबुटीको खानी नै भएको क्षेत्र मानिन्छ । यार्सागुम्बा पाइने मुख्य एक क्षेत्र हो । त्यस्तै पाँचऔँले, कटुस, हातेजडी, घोडामच्चा, भक्किम्लो, धर्सेचुक र वीष जस्ता अमूल्य जडिबुटीको भण्डार रहेको क्षेत्र हो । तर, राज्यको पहुँचबाट निकै टाढा हुनाले जडिबुटी र वन्यजन्तुको चोरी सिकारी भइरहने हुँदा  लोप हुँदै गइरहेकाछन् । नेपाल प्राकृतिक सौन्दर्य अलौकिक अनुपम उपहारले भरिपूर्ण देश हो । भूगोल, प्रकृति र सामाजिक साँस्कृतिक विविधता ज्वलन्त उदाहरण हुन् ।
 
यस्ता प्राकृतिक, साँस्कृतिक, धार्मिक पौराणिक महत्वले भरिपूर्ण यस्ता क्षेत्रहरुको पहिचान गरी राज्यले नै उचित सेवा सुविधा पुर्‍याएर प्रचारप्रसार गर्न सकेको खण्डमा स्वदेशी तथा विदेशी पर्यटकको आवागमन हुने र देशको अर्थतन्त्र बलियो हुने, पर्यटन व्यवसाय फस्टाउने, स्थानियले रोजगारी पाउने र आफ्नो गाउँठाउँ र पूर्खाहरुको कर्मप्रतिको मोह अझ बढ्ने देखिन्छ । स्थानीयको सम्बन्धित निकायसम्म पहुँच नहुँनु र राज्यले पनि खासै चासो नदिनुले बुढिनन्दा जस्ता दूरदराजका कयौं प्राकृतिक सम्पदाले भरिपूर्ण धार्मिक एवम् पर्यटकीय क्षेत्र ओझेलमा परेकाछन् ।