नक्कली भुटानी शरणार्थी प्रकरण: बिचौलिया बेचन झा जेल चलान

काठमाडौं। नक्कली भुटानी शरणार्थीसम्बन्धी संगठित अपराधमा उच्च राजनीतिक नेतृत्व र गृह मन्त्रालयबीच समन्वयको काम गरेका बिचौलिया बेचन झा जेल चलान भएका छन्।जिल्ला अदालत, काठमाडौंका न्यायाधीश तीर्थराज केसीको इजलासले उनलाई आइतबार थुनामा पठाउने आदेश दिएको हो।

उनीविरुद्ध संगठित अपराध, राज्यविरुद्धको अपराध, ठगी र लिखत किर्ते मुद्दा दायर भएको थियो। चार दिन लामो बयान र थुनछेक बहसपछि थुनामा राख्ने आदेश भएको हो।

इन्कारी बयान गरेका झाविरुद्ध प्रहरीले अन्य प्रमाण जुटाएको थियो। प्रहरीले यसअघि दायर गरेको अभियोगपत्र अनुसार तत्कालीन गृहमन्त्री बालकृष्ण खाण र सचिव टेकनारायण पाण्डेलाई ठगी गिरोहसँग झाले नै भेट गराइदिएका थिए।

हाल पुर्पक्षका लागि थुनामा रहेका सचिव पाण्डेले लिखित बयानमै यो तथ्य खुलाएका थिए। उनले बयानमा भनेका थिए,मन्त्रालयमा राजनीतिक रूपमा सम्पर्कमा आएका बेचन झासँग बयान लिएपछि यस विषयमा थप गहिराइमा पुग्न सकिन्छ ।

कांग्रेसका उच्च तहका नेताहरूसँग झाको निकटस्थ सम्बन्ध रहेको सूचना प्रहरीसँग थियो। तर, झाले इन्कारी बयान दिएकाले त्यसतर्फ अनुसन्धान गर्न सकेन।

बयानको क्रममा झाले नक्कली भुटानी शरणार्थीको विषयमा केही पनि थाहा नभएको दाबी गरेका छन्। बयानमा भनेका छन्, ‘टेकनारायण पाण्डेसँग मेरो चिनजान, सम्पर्क नभएकाले निजले कहाँ, कस्तो बयान दिएका हुन्, उनै जानून् । चेकको सम्बन्धमा केही जानकारी छैन।

झुटो बोलेको परीक्षण गर्ने पोलिग्राफ टेस्ट गर्न नमानेको अभियोगपत्रमा उल्लेख छ। पक्राउ परेको दुई सातासम्म बयान नै दिन नमानेका झाले कानुन व्यवसायीहरूसँग सल्लाह गरेपछि केही जानकारी नभएको भनेर इन्कारी बयान दिएका हुन्।

झाले चेक नलिएको बयान दिए पनि प्रहरी अनुसन्धानले भने उनले चेक लिएर खातामा जम्मा गरेको पुष्टि भएको छ। झाको कम्पनीमा काम गर्ने कर्मचारीले सो कुरा पुष्टि गरेका हुन्। उनको विभान्सु ब्रदर्स नामक कम्पनीमा काम गर्ने कर्मचारी कञ्चन श्रेष्ठले सो कुरा प्रहरीमा प्रमाणित गरिदिएका हुन्।

झाले दर्तामा छुट भएका नक्कली भुटानी शरणार्थीको सूचीमा पारेर अमेरिका पठाउन मन्त्रिपरिषदबाटै निर्णय गरिदिने भन्दै रामशरण केसीसँग दुई करोडको चेक लिएका थिए। सो चेक आफ्नो खातामा जम्मा गर्न उनले कञ्चनलाई लगाएका थिए।

झाको इन्भेस्टमेन्ट बैैंकको खातामा सो चेक जम्मा गरिएको थियो । तर,पैसा नपुगेपछि बैंकबाट चेक फिर्ता आएको र आफूले झालाई दिएको कञ्चनले प्रहरीमा गरेको कागजमा उल्लेख छ।

प्रहरीले अनुसन्धानको क्रममा उनीविरुद्ध संकलन गरेको सबैभन्दा बलियो प्रमाण यही हो। पछि सो चेक नसाटिएपछि हरिभक्त महर्जनले नगद पैसा नै उनलाई दिएकोसमेत अनुसन्धानमा खुलेको छ।प्रहरी अभियोगपत्रअनुसार उनले नक्कली भुटानी शरणार्थीको पक्षमा मन्त्रिपरिषदबाटै निर्णय गराउने आश्वासन दिएका थिए।

अभियोगपत्रमा ‘प्रतिवादी बेचन झाले आफूले गरेको कसुर अपराधबाट बच्न सकिन्छ कि भनी भुटानी शरणार्थीको विषयमा आफूलाई कुनै पनि कुराहरू जानकारी छैन र रामशरण केसीबाट आफूले दुई करोड लिएको चेक लिएको छैन भनी झुटा व्यहोराको बयान गरेको प्रस्ट रूपमा देखिएको हुँदा निज प्रतिवादी बेचन झाले आफू व्यापार व्यवसाय गर्दै सोही व्यवसायको आडमा राजनीतिक तहका उच्च निकायका मानिसहरू टोपबहादुर रायमाझी, टेकनाथ रिजाल, इन्द्रजित राईसमेत र उच्च तहका सरकारी कर्मचारी टेकनारायण पाण्डेसँगको सम्पर्क र समन्वय गरी मिसिल संलग्न रहेको मिति २०८०/०१/१० गतेको अभियोगपत्रसमेतको प्रतिलिपिमा उल्लेखित जाहेरवालाहरू तथा निजहरूका आफन्तलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिनका लागि प्रमुख भूमिका खेलेको भन्ने प्रस्ट देखिन आएको, उल्लेख छ।