टिकटकमाथिको प्रतिवन्ध हटाउने सरकारको तयारी

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिवन्ध हटाउने तयारी गरेको छ। टिकटकले नेपालको कानून तथा नीति/नियम पालना गर्ने प्रतिबद्धतासहित पत्राचार गरेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटक माथिको प्रतिबन्ध फुकुवाका विषयमा छलफल सुरु गरेको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव गजेन्द्र कुमार ठाकुरले टिकटकले सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई सम्बोधन गरेर नेपालको कानून तथा नीति÷नियम पालना गर्ने प्रतिबद्धता जनाउँदै पत्र पठाएपछि यसविषयमा छलफल सुरु गरिएको बताए।

यसअघि प्रधानमन्त्रीलाई सम्बोधन गरेर पत्राचार गर्दै आएको टिकटकले पछिल्लो पटक सिधै सञ्चारमन्त्रीलाई सम्बोधन गरेर पत्र लेखेको छ। मन्त्रालयका अनुसार नेपाल सरकार र टिकटकबीच आठ पटक पत्राचार भइसकेको छ।

पछिल्लो प्रतिबद्धतासँगै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १० महिना अगाडि टिकटकमाथि लगाएको प्रतिबन्ध फुकुवा हुने सम्भावना बढेको छ।