जनप्रतिनिधिहरुले नदेखेको जनताको पीडा जब दुर्गा प्रसाईले बोलिदिए

नेपालमा थुप्रै राजनीतिक दलहरु निर्वाचन आयोगमा दर्ता भएका छन्। २०७९ मंसिर ४ गते जनताले मतदान गरेर चुनेर पठाएका जनप्रतिनिधिहरु अहिले सदनमा छन्। नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली प्रधानमन्त्री छन्। जनप्रतिनिधि भनेको जनताको विश्वास बोकेका व्यक्ति छन्। प्रधानमन्त्री पद एउटा गरिमामय पद हो।

प्रधानमन्त्रीमा जनताको आशा, भरोसा वा अटुट विश्वास हुन्छ । तर, हाम्रोमा यस्तो छैन । अहिले जनता आफैंले नै मतदान गरेर पठाएका जनप्रतिनिधिमाथि नै विश्वास गर्दैनन् । सर्वसाधारणको जनप्रतिनिधिप्रतिको विश्वास र आशा हट्दै गएको छ । यता, मुलुकको प्रधानमन्त्रीप्रति समेत जनताको विश्वास मर्दै गएको छ ।

बजारमा चारैतिर एउटै व्यक्तिको मात्र नाम सुनिन्छ र ती हुन्, विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाई । बच्चादेखि बुढासम्मले ‘दुर्गा प्रसाई’, ‘दुर्गा प्रसाई’ भनिरहेका हुन्छन् । तर, उनी न त कुनै जनप्रतिनिधि नै हुन् न त प्रधानमन्त्री । उनी राजनीतिमा समेत आबद्ध छैनन् । यद्यपि, अहिले देशको प्रधानमन्त्रीभन्दा उनैलाई धेरैले चिन्छन् र मान्छन् ।

मुलुकको प्रधानमन्त्रीको नाम सोधेमा नाम सायद कमै भन्न सक्छन् तर दुर्गा प्रसाई हरेकको मुखमा छन् । जनताको मन जित्न जनप्रतिनिधि नै हुनुपर्छ र कुनै पदमा बस्नैपर्छ भन्नेहरुका लागि ज्वलन्त उदाहरण हुन्, दुर्गा प्रसाई । राजनीतिमा आएका व्यक्तिलाई मात्र जनताले चिन्छन् भन्नेहरुका लागि पनि दुर्गा प्रसाई कडा उदाहरण हुन् ।

अहिले देशभर दुर्गा प्रसाईकै चर्चा छ । जोकोही प्रसाई नै भनिरहेको भेटिन्छन् । सामाजिक सञ्जालदेखि सडकसम्म उनैको के्रज छ । तर, किन यस्तो भयो ? जबकी उनी न त सांसद हुन् न त राजनीतिमा होमिएका व्यक्ति । दुर्गा प्रसाईले जनताको पीडा र मर्का बोलिदिए । मुलुकमा संघीयता आएयता धेरै पटक प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन भयो ।

जनताको मतबाट चुनिएर धेरै व्यक्ति सदनमा गए । तर, उनीहरुले एक पटक पनि सदनमा जनताको पीडा बोलिदिएनन् । मानौं, सांसदहरु जनताको पीडा बोल्न होइन, पार्टीको गुनगान गाउन सदन गएका हुन् । जनताको भोट लिएर सदनमा जाने अनि एकअर्काको पार्टीको विरोध गर्ने मात्र काम सांसदहरुबाट भयो । कहिले एउटा पार्टीलाई ताकेर गीत गाउने त कहिले अर्कोलाई ।

सदनमा जनताको आवाज कहिले सुनिन पाएन । किनकि सांसदहरुले जनताको पीडा, दुःख, बोलिदिन चासो देखाएनन् । यत्रो वर्षमा यत्रा जनप्रतिनिधि तथा सांसदहरुले नगरिदिएको काम गर्ने व्यक्ति हुन्, दुर्गा प्रसाई । उनले जनताको पीडा बोलिदिए ।

त्यसैले, अहिले चारैतिर उनको वाहवाह भइरहेको छ । सर्वसाधारण जनता लामो समयदेखि बैंक तथा वित्तिय संस्थाबाट पीडित हुँदै आएका थिए । बैंक, सहकारी, लघुवित्त, फाइनान्सले जनतालाई लुट्नु लुटेको छ । तर, यीनीहरुको विरोधमा बोलिदिने कोही थिएन । पन्ध्र लाख ऋणमा करोडको जेथो बैंक, वित्तिय संस्थाले खाइदियो । सर्वसाधारणलाई घर न घाटको बनाइदियो ।

कर्जा दिने बेला ब्याज १२ प्रतिशत भन्ने तर ७५ प्रतिशतसम्म असुल्ने, एक प्रतिशत सेवाशुल्क भनेर तीन प्रतिशत असुल्ने र कर्जा दिने बेला समेत लाखौं रुपैयाँ घुस खाने गर्थे, बैंक, वित्तिय संस्था । यता, ऋणीले तीन किस्ता नतिर्नेबित्तिकै लाख रुपैयाँ ऋणमा करोडको धितो पचाइदिने । बैंक, वित्तिय संस्थाको यस्तो लुटधन्दाले सर्वसाधारण पीडित हुँदै गएका थिए ।

बैंकबाट आफु पीडित भएको र न्यायको लागि माग गर्दा समेत कुनै निकायले उनीहरुको आवाज सुनेन । उल्टै राजनीतिक तथा पैसाको पहुँचमा जनताको आवाज दबाउन खोजियो । बैंक, वित्तिय संस्थाको राजनीतिक पहुँच पनि धेरै नै छ । पार्टीको आडमा उनीहरुले प्रधानमन्त्रीदेखि अर्थमन्त्री, गर्भनर र जनप्रतिनिधि समेतलाई आफ्नो विरोधमा बोल्न दिएका थिएनन् ।

अर्कोतर्फ, पार्टी सदस्यता घट्ने डर र निर्वाचन खर्च जुटाउनका लागि कुनै राजनीतिक दल र तिनमा आबद्ध व्यक्तिहरु बैंक, वित्तिय संस्थाविरुद्ध बोलेनन् । पछिल्लो समय बैंक, वित्तिय संस्थाबाट ऋणी मात्र नभई बचतकर्ता समेत पीडित भएका छन् । सहकारी, लघुवित्त र फाइनान्सले त बचतकर्ताको बिचल्ली बनाइ नै दियो ।

तर, अहिले बैंक खाताबाटै निक्षेपकर्ताको करोडौं रकम गायब वा चोरी भएको घटना समेत बाहिरिएका छन् । त्यो पनि कर्मचारीकै मिलेमतोमा । त्यसैले, अहिले बजारमा बैंक, वित्तिय संस्थाबाट ऋण पनि नलिऔं र बचत पनि नगरौं भनेर आवाज उठ्न थालिसकेको छ । ०७८ सालको राष्ट्रिय जनगणनाअनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ ।

यति जनसंख्यामा बैंक, वित्तिय संस्थाले राजनीतिक दलका नेताहरुलाई मात्र लुट्न बाँकी छ । त्यो हुन्, प्रधानमन्त्री केपीशर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । बैंक, वित्तिय संस्थाले देशभरका जनतालाई डुबाएको छ । सहकारीले बढी ब्याजको प्रलोभनमा करोडौं जनताको खर्बौ रकम खाइदियो ।

लघुवित्त, फाइनान्सले पनि यसरी नै सर्वसाधारण डुबाए । यीनीहरुकै कारण कतिपय बचतकर्ताले पैसा नभएकै कारण उपचार नपाएर ज्यान गुमाउनुपर्छ । अहिले पनि अधिकांश बचतकर्ताले खातामा पैसा हुँदाहुँदै पनि आफ्नो बालबच्चाको विद्यालयको फिस तिर्न सकेका छैनन् । फिस नतिर्दा कतिपयको त छोराछोरी त स्कुलबाट निकालिएका पनि छन् ।

उनीहरुको बालबच्चाको भविष्य नै अन्योलमा परेको छ। सहकारीका कारण ऋणाी त सडकछाप भएका थिए नै सँगै अहिले बचतकर्ता पनि सुकुम्बासी अवस्थामा पुगे । त्यस्तै, बैंकले पनि लाखौं जनताको उठीबास लगाएको छ। उनीहरुलाई सडकको बास गराइदिएको छ । बैंकले ऋणी गुण्डा लगाएरदेखि धम्क्याएर, थर्काएर समेत उसको धितो खाइदियो।

अहिले निर्माण व्यवसायीदेखि उद्योगी, यातायात, घरजग्गा, सेयरलगायत जुनसुकै व्यवसाय गर्ने व्यक्तिहरु बैंकको ऋण तिर्न नसकेपछि कालोसूचीमा परेका छन्। हिजो बैंकका सञ्चालक, कर्मचारीहरुले घुस खाएर लोन दिए। अहिले बैंकको कालोसूचीमा पर्नासाथ ऋणी र जमानीमा बसेका व्यक्तिहरु ज्येष्ठ नागरिक भत्ता र पेन्सन प्राप्त गर्नबाट वञ्चित भएका छन्।

यतिसम्म कि उनीहरुका छोराछोरीसहित तीन पुस्ता सरकारी जागिर खानबाट वञ्चित भएका छन्। न त वैदेशिक रोजगारीमा नै जान पाउँछन्। अहिले जनता भन्छन्, ‘बैंक,वित्तिय संस्था बन्द गर्नुपर्छ। यीनीहरु भनेको ठग, चोर हुन्। बैंक,वित्तिय संस्था आफैँले दलाली पाल्दै आएका थिए। आफु पर्दाभित्र बसेर बाठाटाठालाई घरजग्गा, गाडी र सेयरको दलाल गर्न लगाउँथे।

अनि दलालीहरुले रातारात घरजग्गा, गाडी र सेयरको मुल्य बढाए। तर, त्यसको योजनाकार बैंक, वित्तिय संस्था नै थिए। बैंक, वित्तिय संस्थाले करोडौं जनतालाई ठगिसकेका थिए। उनीहरुलाई मर्नु कि बाँच्नु अवस्थामा पुर्याइसकेको थियो। तर, सरकारका निकाय र सञ्चारमाध्यम यसबारे बेखबर थियो।

यद्यपि, दुर्गा प्रसाईले बैंक, वित्तिय संस्थाको ठगीधन्दाविरुद्ध बोलिदिए। त्यसपछि उनलाई सपोर्ट गर्ने जनताको लर्को लागेको हो। अहिले प्रसाईले बैंक, वित्तिय संस्थाविरुद्ध आन्दोलन आह्वान गरेमा मात्र करोडौं जनताको उनको साथमा सडकमा उत्रिने छन्।

सरकारले अझै पनि ठग बैंक,वित्तिय संस्थाका सञ्चालक,अध्यक्षलाई कारबाही नगर्ने हो भनेर देशमा ठुलो आन्दोलन हुने छ। त्यतिबेला सरकार के गर्छ ?