मैले नेतृत्व छोड्दा हस्तान्तरण भइहाल्छ जस्तो लाग्दैन: अध्यक्ष प्रचण्ड
काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले अध्यक्ष छाड्दा नेतृत्व हस्तान्तरण वा पुस्तान्तरण भइहाल्छ भन्ने नलागेको बताएका छन्।
बागमती प्रदेशस्तरीय प्रशिक्षणमा बोल्दै अध्यक्ष प्रचण्डले आफूलाई अध्यक्ष भइरहने रहर नभएको दाबी गर्दै भने,३६ वर्ष भइसक्यो। अब मलाई पार्टीमा अध्यक्ष भइरहने रहर छैन। अध्यक्ष भन्दा प्रचण्ड भन्ने नै ठूलो छ मेरो लागि। त्यत्तिकै कोही नेता बन्दैन, लामो कालखण्ड गुजारेर नेतृत्व स्थापित हुने हो। अब केही तयारी गरेर नेतृत्व हस्तान्तरण गर्ने हो।
अध्यक्ष प्रचण्डले पार्टीका उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउँदैछ भन्ने हल्लालाई आफूहरुले खारेज गरिसकेका भन्दै भने, उहाँको प्रयास पार्टी निर्माणको लागि हो, विभाजनको लागि होइन भन्नेमा विश्वास छ।
स्थायी समिति बैठकमा शर्माले राखेको मतलाई समेटेर दस्तावेज बनाउने समेत उनले जानकारी दिए।