बहालवाला ४ मन्त्रीविरुद्ध युवराज सफलले दिए अख्तियारमा उजुरी,नैतिकताको आधारमा राजिनामा दिनुपर्छ

काठमाडौं। वर्तमान सरकारका चार मन्त्रीमाथि छानबिनको मागसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

सिन्धुलीका युवराज पौडेल (सफल)ले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, ऊर्जामन्त्री दीपक खड्का र श्रममन्त्री शरदसिंह भण्डारीविरुद्ध आयोगमा उजुरी दिएका हुन्।

अर्थमन्त्री पौडेल बालुवाटारस्थित ललिता निवास प्रकरणमा मुछिएको र रुपन्देहीको देवीनगरमा नक्कली सुकुम्बासी बनी सार्वजनिक जग्गा लिएको भन्दै छानबिन हुनुपर्ने माग गरिएको छ।

परराष्ट्रमन्त्री देउवामाथि नक्कली भुटानी शरणार्थी प्रकरण र टीकापुरमा सरकारी जग्गा हिनामिना, ऊर्जामन्त्री खड्कामाथि नेपाल स्काउटको सरकारी जग्गा हिनामिना एवं दुरुपयोग गरेको तथा आफैँ ऊर्जा सम्बद्ध निकायको सञ्चालक समेत भई स्वार्थ बाझिने पदमा भएको आरोपमा छानबिनको माग गरिएको छ।

श्रममन्त्री भण्डारीले भने विभिन्न समयमा श्रम मन्त्रालयमा गरेका विवादास्पद काम गरेको आरोप छ। उनीहरुविरुद्धको उजुरीमा अदालतबाट सफाई नपाउँदासम्म नैतिकताको आधारमा पदमा बस्न नमिल्ने उल्लेख गरिएको छ।