सहकारी ठगी प्रकरण: आज छानबिन समितिले लामिछानेको बयान लिँदै
काठमाडौं। सहकारी संस्थाको बचत अपचलन सम्बन्धी संसदीय छानबिन विशेष समितिले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयान लिँदैछ।
गोरखा मिडिया नेटवर्क प्रालिको पूर्वप्रबन्ध निर्देशकसमेत रहेका लामिछानेलाई आज दिउँसो २ बजे बयानका लागि बोलाएको समिति सभापति सूर्य थापाले जानकारी दिए।
यसभन्दा अगाडि बिहान ११ बजे गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई पनि सोधपुछका लागि बोलाइएको समितिले जनाएको छ। सहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन गर्न संसदले गत जेठ १५ गते एमाले सांसद थापाको नेतृत्वमा संसदीय छानबिन समिति गठन गरेको थियो।
७ सदस्यीय समितिमा कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने र बद्रीप्रसाद पाण्डे, नेकपा एमालेबाट सूर्य थापा र सरिता भुसाल, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान छन्।
सञ्चारकर्ममा हुँदा लामिछानेले जीवी राईसँग मिलेर ग्यालेक्सी टिभी सञ्चालन गर्न विभिन्न सहकारीबाट व्यक्ति र संस्थाको नाममा सहकारीको करोडौं रकम अपचलन गरेको आरोप छ।