राज्यसत्ताको जन्म,विकास र अन्त्यको प्रश्न
- हस्तबहादुर केसी
” राज्य एक वर्गद्वारा अर्को वर्गमाथि उत्पीडनको मेसिन हो , अन्य मातहतका वर्गहरुलाई आज्ञाकारी बनाइराख्ने मेसिन हो। यस मेसिनका नाना प्रकारका रुप हुन्छन्। दास – मालिकहरुको राज्यमा स्वतन्त्र ,अभिजाततन्त्रीय जनतन्त्र वा जनवादी जनतन्त्रसम्म हुन्थे। वस्तुतः शासनका रुपहरुमा अत्यन्त विविधता थियो,परन्तु तिनको सार एउटै थियो – दासहरुलाई कुनै अधिकार प्राप्त थिएन र ती उत्पीडक वर्ग बनिनै रहे , तिनलाई मान्छे नै मानिदैन्थ्यो। यही कुरा हामी भूदासमालिकहरुको राज्यमा देख्दछौ ।”
– लेनिन , संकलित रचनाएं, खण्डडो १० मे , खण्ड ९ , पृष्ठ ८५ , प्रगति प्रकाशन मास्को , १९८८ ।
राज्यसत्ता वर्ग , वर्गसंघर्षसित अभिन्न रुपमा जोडिएको र परस्पर अन्तर्सम्बन्धित रहेको विषय हो । त्यसैले यस लेखमा वर्ग बनेको के हो ? यसको जन्म कसरी भयो ? वर्गसंघर्ष केलाई भन्ने र राज्यसत्ता भनेको के हो र यसको विकास र विलोप कसरी हुन्छ भन्ने विषयमा प्रस्तुत गर्ने प्रयत्न गरिएको छ ।
(१) वर्ग र वर्गको उत्पत्ति :
वर्गसमाजमा वर्गहरु भनेको के हो भन्नेबारेमा माथि लेनिनले स्पष्ट पारिसक्नु भएको छ । वर्गहरुको उत्पत्ति आदिम समाजको अन्तिम चरणमा भएको थियो । दासमालिक, सामन्ती , पुँजीवादी र वैज्ञानिक समाजवादी – सबै सामाजिक तथा आर्थिक व्यवस्थाहरुमा वर्गहरु हुन्छन् र त्यसैले त्यहाँ वर्गसंघर्ष चलिरन्छ । वैज्ञानिक साम्यवाद वर्गबिहीन र राज्यबिहीन समानतामूलक नौलो संसार हुने भएकोले त्यहाँ वर्गहरु नहुने भए पछि वर्गसंघर्ष हुने कुरै भएन ।
(२) वर्गसंघर्ष भनेको के हो ?
वर्गसमाजमा विपरीत वर्गहरुकाबीच चल्ने वर्गसंघर्ष भनिन्छ । वर्गसंघर्षका विभिन्न रुपहरु हुन्छन् ,परन्तु तिनका तीन मूल पक्षहरु हुन्छन् – सैध्दान्तिक , राजनीतिक र आर्थिक। सैध्दान्तिक संघर्ष भनेको प्रतिक्रियावादी ,संशोधनवादी तथा सबै गैरसर्वहारा विचारधाराका विरुद्ध संघर्ष गर्नु र सर्वहारावादी विचारधाराको पक्षपोषण गर्नु हो। राजनीतिक संघर्ष प्रतिक्रियावादी राज्यसत्ताको विरोध र जनताको जनवादी तथा वैज्ञानिक समाजवादी राज्यसत्ता प्राप्तिका लागि संघर्ष गर्नु हो। आर्थिक संघर्ष भनेको जनसमुदायका भौतिक आवश्यकता र दैनिक जीवनसंग सम्बन्धित आर्थिक हकहितका लागि संघर्ष गर्नु हो । यी सबै संघर्षहरुको समग्रता नै वर्गसंघर्ष हो र वर्गसंघर्षको घनिभूत अभिव्यक्ति राजनीतिक संघर्ष नै हुन्छ ।
मार्क्सवादले वर्गसंघर्षलाई अंगीकार गर्दछ , तर त्यो वर्गसंघर्षसम्म मात्र सिमित रहँदैन । यस विषयमा लेनिनले भन्नुभएको छ , ” जुन मानिसले केवल वर्गसंघर्षलाई मान्दछन् ती मार्क्सवादी होइनन् , ती सम्भवतः अझै बुर्जुवा चिन्तन र बुर्जुवा राजनीतिको क्षेत्रमा नै चक्कर काटिरहन्छन्। मार्क्सवादलाई वर्गसंघर्षको सिध्दान्तसम्म नै सिमित गर्नु अर्थ हो – मार्क्सवादलाई काटछँट गर्नु , त्यसलाई तोडमोड गर्नु र त्यसलाई बुर्जुवा वर्गको निम्ति मान्य हुने चीज बनाइदिनु।
मार्क्सवादी केवल त्यो हो , जसले वर्गसंघर्षको मान्यतालाई सर्वहारा वर्गको अधिनायकत्वसम्म लैजान्छ।” – लेनिन , संकलित रचनाएं , दश खण्डो मे खण्ड ७ , पृष्ठ ५०/५१ , प्रगति प्रकाशन , मास्को १९८५ । यसबाट हामीलाई स्पष्ट भयो कि मार्क्सवाद वर्गसंघर्षसम्म सिमित रहन सक्तैन र त्यो वर्गसंघर्षबाट सर्वहारा अधिनायकत्वसम्म अगाडि बढ्दछ । यही नै हो वर्गसंघर्ष सम्बन्धित मार्क्सवादी विचारधारा ।
( ३) राज्यसत्ताको जन्म र विकास :
वर्ग , वर्गसंघर्षका विषयमा माथि विषय प्रस्तुत गरिएको छ। वास्तवमा वर्ग , वर्गसंघर्ष र राज्यसत्ताको उत्पतिको कारण व्यक्तिगत सम्पत्ति नै हो। वैज्ञानिक साम्यवादी क्रान्तिले मात्र व्यक्तिगत सम्पत्ति सम्बन्धलाई ध्वस्त पारिदिन्छ ,त्यो स्थितिमा वर्ग , वर्गसंघर्ष र राज्यसत्ताको पनि अन्त्य हुन पुग्छ ।
अब राज्यसत्ताको जन्म कहिले र कसरी भयो भन्ने विषयमा प्रवेश गरौं । आदिम गोत्रव्यवस्थामा आधारित समाज जब आर्थिक दृष्टिले विकसित हुँदै गयो , निजी सम्पत्ति , वर्ग , वर्गसंघर्षको प्रादूर्भाव भएको थियो , त्यही परिस्थितिमा श्रमविभाजन जटिल बन्दै गयो , त्यो स्थितिमा त्यस समाजव्यवस्थाको ध्वसावेशकाबीचबाट राज्यसत्ताको निर्माण हुन पुगेको थियो। वास्तविकमा राज्यसत्ता समाधान भइनसकेको शत्रुतापूर्ण वर्गसंघर्षको उपज हो।
यहाँनिर बुझ्नुपर्ने कुरा के हो भने कुनै विवेक वा नैतिक आदर्शको अभिव्यक्ति नभई सामाजिक ऐतिहासिक आवश्यकताको उपज हो र आफ्नो शक्ति समाजबाट लिए पछि यसले समाजोपरि स्थान ग्रहण गर्दछ र त्यसबाट अधिकाधिक पृथक हुँदै जान्छ । राज्य उत्पीडित वर्गमाथि उत्पीडक वर्गको आर्थिक , राजनीतिक , साँस्कृतिक प्रभुत्व र उत्पीडन कायम गर्ने साधनका रुपमा विकसित भएको हो ।वास्तवमा राज्य भनेको समाजभन्दामाथि उठेको वा वर्गसंघर्षको सन्तुलन गर्ने कुनै गैर पक्षपाती संस्था वा स्वतन्त्र राज्य हुन सक्तैन।
वास्तविक रुपमा राज्यसत्ता एक वर्गले अर्को वर्गलाई दमन र उत्पीडन गर्ने मेसिन हो। सशस्त्र शक्ति – पुलिस , सेना , नोकरशाहीतन्त्र यस प्रकारको दमन र उत्पीडका मूल साधन हुन्। दाससमाज , सामन्ती समाज र पुँजीवादी समाजमा विकासमान सबै राज्यसत्ताको सार उत्पीडित वर्गको दमन हो। यस विषयमा फ्रेडरिक एंगेल्स ( १८२० – १८९५ ) ले भन्नुभएको छ , ” प्राचीन कालको राज्य सर्वोपरि दासमालिकहरुको राज्य थियो जसको उद्श्ये दासहरुलाई दबाएर राख्नु थियो। यसैगरी सामन्ती राज्य अभिजातवर्गको संयन्त्र थियो , जसको उद्श्ये भूदास किसानहरु तथा बंधुवा मजदुरहरुलाई दबाएर राख्नु थियो र आधुनिक प्रतिनिधिमूलक राज्य पुँजीद्वारा ज्यालादारी श्रमको शोषणको साधन हो ।
” – मार्क्स – एंगेल्स , संकलित रचानएं ,खण्ड ३ भाग २, पृष्ठ २०१ , प्रगति प्रकाशन मास्को , १९७८ ।
राज्यसत्ता सम्बन्धित एंगेल्सले प्रस्तुत गर्नुभएको विषय विज्ञानसम्मत रहेको छ। हामीहरु यो विषयमा स्पष्ट हुन जरुरी छ कि आफ्नो ऐतिहासिक विकास प्रक्रियामा दासमालिक , सामन्ती , पुँजीवादी सबै राज्यसत्ताहरु आफ्नो क्रममा एकपछि अर्को अवश्यै प्रगतिशील रहेका छन् , परन्तु अन्ततः सर्वहारा राज्यसत्ताको तुलनामा पुँजीवादी राज्यसत्ताको चरित्र पुरै प्रतिक्रियावादी बन्न गएको छ । पुँजीवादी र वैज्ञानिक साम्यवादी समाजको बीचको संक्रमणकालमा कार्ल मार्क्स ( १८१८ – १८८३ ) को भनाइमा राज्य सर्वहाराको क्रान्तिकारी अधिनायकत्व बाहेक अरु केही हुन सक्तैन । सर्वहारा अधिनायकत्व वैज्ञानिक समाजवादी राज्यसत्ता हो ।यसको सार पुँजीवादी प्रभुत्व र समस्त उत्पीडनको अन्त्य गर्नु हो
पुँजीवादी राजनीतिक सत्ताका विरुद्ध बलपूर्वक सर्वहारा क्रान्ति सम्पन्न भएपछि सर्वहारा अधिनायकत्वमा आधारित जुन वैज्ञानिक समाजवादी राज्यसत्ता कायम हुन्छ , त्यो पनि निजी सम्पत्ति , वर्ग र वर्गसंघर्षको अन्त्यसितै विलुप्त हुन्छ र त्यसको ठाउँ वैज्ञानिक साम्यवादले लिन्छ । त्यो बेला राज्यसत्ताको नामनिशानै रहँदैन यसको बारे विश्वविख्यात ” कम्युनिस्ट घोषणापत्र ” मा लेखिएको छ ,” विकासक्रममा जब वर्गहरुका भेद मेटिनेछन् र सारा उत्पादन राष्ट्रको एक विशाल संख्याको हातमा संकेन्द्रित हुनेछ त्यो बेला सार्वजनिक सत्ताले आफ्नो राजनीतिक स्वरूप समाप्त पारिदिनेछ।” मार्क्स – एंगेल्स, संकलित रचनाएं,खण्ड १, भाग १, पृष्ठ १५४, प्रगति प्रकाशन , मास्को , १९८५
यहाँ राज्यसत्ताको उत्पत्ति र अन्त्य हुने विषयलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणका आधारमा अत्यन्तै सघन ढंगबाट प्रस्तुत गरिएको छ ।
यहाँनिर स्पष्ट हुनुपर्ने कुरा के छभनेकम्युनिस्टहरूको उद्श्ये राज्यसत्ताको अन्त्य गर्नु हो । तर यो काम व्यक्तिगत सम्पत्ति र वर्गहरुको अन्त्यबिना सम्भव हुन्न ।
यो स्थितिमा राज्यसत्ताको प्रश्नबारे तीन कुरा स्पष्ट हुन जरुरी छ:
(१) राज्यसत्ताको चरित्र स्वतन्त्र , सर्वोपरि र निष्पक्ष हुन सक्तैन ।
(२) पुँजीवादबाट वैज्ञानिक साम्यवादको संक्रमणको बीचको कालमा वैज्ञानिक समाजवादी सत्ता अर्थमा सर्वहारा वर्गको अधिनायकत्व अनिवार्य रुपले आवश्यक हुन्छ।
(३) राज्यसत्ता बलप्रयोगसित अभिन्न रुपले गाँसिएको हुन्छ।
राज्यसत्ताबारे यी तीन कुरा मार्क्सवादी – लेनिनवादी – माओवादी दर्शनका वैज्ञानिक महावक्य हुन्।
दार्शनिक फाँटमा एउटा अराजकतावादी धारा हुन्छ , त्यसले पुँजीवादी राज्यसत्तालाई बलपूर्वक ध्वस्त गर्ने कुरा त मान्दछ , परन्तु ती संक्रमणकालीनका लागि सर्वहारा वर्गको अधिनायकत्वको अर्थात् नयाँ राज्यसत्ताको निर्माण गर्ने कुराको विरोध गर्दछन् ।
संशोधनवादीहरु पुँजीवादी राज्यसत्ताको पवित्रता, , बुर्जुवा संसद , त्यसका स्वतन्त्रता र समानतनका नाराहरुको वर्गिरपेक्ष स्वरूपलाई अंगीकार गर्दै पुँजीवादी राज्यसत्ताको वर्गीय सारतत्वलाई बुझ्ने , त्यसलाई बलपूर्वक ध्वस्त पार्ने र सर्वहारा अधिनायकत्वको स्थापना गर्ने कुराको पुरै निषेध गर्दछन् । संशोधनवादीहरु पुँजीवादको साम्राज्यवादमा प्रवेश भएको र साम्राज्यवाद अन्यायपूर्ण युध्दको श्रोत बन्न गएको कुरालाई पूर्णत: निषेध गर्दै साम्राज्यवादको फासीवादी राज्यसत्ता र संसदीय व्यवस्थाको पवित्रीकरण गर्दछन् ।
जस्तो उदाहरणका रुपमा नेपालका कम्युनिस्ट नामधारी दक्षिणपन्थी संशोधनवादमा पतन भइसकेका नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) , नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) , नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी ) लगायतका संसदीय कम्युनिस्ट पार्टीलाई लिन सकिन्छ कि उनीहरूले साम्राज्यवादले लाद्ने अन्यायपूर्ण युुुध्दको श्रोत बन्दै आएको कुरालाई पूर्णतः निषेध गर्दै मात्रै आएका छैनन् कि उसका सामु लम्पसार परेर आत्मसमर्पण गर्दै आएका छन् र साम्राज्यवादको फासीवादी राज्यसत्ता र संसदीय व्यवस्थाको पवित्ररीकरण गर्ने र दलाल संसदीय व्यवस्थाका प्रमुख संरक्षक बन्दै आएका छन् ।
मार्क्सवादी – लेनिनवादी – माओवादी दर्शन यसप्रकारका अराजकतावादी तथा संशोधनवादी चिन्तनका विरुद्ध दृढतापूर्वक खडा हुँदै आएको छ र भविष्यमा पनि खडा रहने छ । किनभने मालेमावादी दर्शन जस्तो वैज्ञानिक र क्रान्तिकारी अर्को दर्शन छैन ।
( लेखक : वरिष्ठ मार्क्सवादी चिन्तक – लेखक एवं अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ) ।