आरजुको भारत भ्रमणले राजनितिमा अझै तरंग, काँग्रेस र एमालेकै नेताहरू तर्सित
आर.एस. महतारा
काठमाडौं। नेपाली काँग्रेसकी क्रन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री आरजु राणाको भारत भ्रमणले काँग्रेस र एमालेका नेताहरू तरंगित भएका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि पार्टीभित्रकै नेताहरू तर्सिन थालेका छन् भने गगन थापा–विश्व प्रकाश शर्मालाई ठूलो धक्का लागेको छ। उता नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पनि मोदीसँगको आरजुको भेटले तर्सित देखिएका छन्।
परराष्ट्रमन्त्री राणाको भारत भ्रमणको बाछिटा र चर्चा परिचर्चाले नेपाली राजनितिमा अझै तरंग जारी छ। जसले पार्टी भित्र नै नयाँ तरंग सिर्जना गर्दा गुटगत घेराबन्दी नै सुरु भएको देखिन थालेको छ। आरजुले भारतका प्रधानमन्त्री मोदीसँगको भेटलाई पोर्टफोलियो निर्माणकै आधार बनाउँदा काँग्रेसको इतर पक्ष भने झस्किएको छ।
नयाँ सरकार गठन भएपछि परराष्ट्रमन्त्रीको जिम्मेवारी पाएकी डा।आरजु राणा देउवाको रापताप ह्वात्तै बढेर गएको देखिन्छ। विवादित छवि कै बीच सुशासनका हिमायती दाबी गर्ने कांग्रेस महामन्त्रीद्वयलाई नै माथ खुवाँउदै फड्को मारेकी उनले त्यसपछि भारत भ्रमण गरिन्।
जसलाई गठबन्धनभित्रको खटपट देखिने आगामी राजनीतिक घटना क्रमसम्म जोडिँदा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै भेट गरिन्। चित्त नबुझे भ्रमणमा बोलाएर बेवास्ता गर्ने भारतीय रणनीतिकाबीच यसले विशेष चर्चा नै पायो।
भेटमा के कुराकानी भयो भन्ने नखुले पनि यसले आरजुको डायनिजम देखिएको चर्चा छ। यसले सरकार र पार्टीभित्रै उनको कदम बढेका रुपमा व्याख्या गरिएको छ।
जसलाई कतिपयले उनलाई आफ्नो उत्तराधिकारीका रुपमा अघि सार्ने शेरबहादुर देउवाको एक कदम सफल भएकै रुपमा चर्चा गरिँदा आरजुले पनि यसलाई पोर्टफोलियो निर्माणको आधार बनाएकी हुन्।
यो भ्रमणले निकै हर्षित देखिएकी उनले पार्टीभित्र परराष्ट्रको लाइनमा रहने डा।नारायण खड्का र एनपी साउँदसम्मको बाटो बन्द गरिदिएकी छन्।
फलतः सानेपामा जारी कांग्रेसको केन्द्रीय समिति बैठकमा आफ्नो भारत भ्रमणबारे ब्रिफिङ गर्दै कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री मोदीले नेपाल सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको बताइन्।
जसको छनक स्वदेश फर्किदा विमानस्थलमै समेत दिएकी उनले केन्द्रीय समिति बैठकमा त आफ्नो भ्रमणको सकारात्मक प्रभाव देखिन थालेको भन्दै डुबान समस्याबारे अध्ययन गर्ने संयुक्त बैठक बस्ने खबर शुक्रबार मात्र आएको सुनाइन्।
तर नेपाल र भारतबीच प्रबुद्ध समूहको प्रतिवेदन, नक्सा विवादजस्ता कैयौँ मुद्दा लामो समयदेखि थाती रहँदै आएका छन्। यस विषयबारे प्रष्ट नभएको यो भ्रमण आत्मरती भन्दा बढि केही नभएको कांग्रेसकै नेताहरु बताउँछन्।
जहाँ अर्जुननरसिंह केसी पनि कसैले कुनै देशको भ्रमण गर्दैमा सत्ता र पार्टीभित्र उसको हैसियतमा व्यापक परिवर्तन नआउने तर्क गर्छन्। विगतमा अन्य परराष्ट्रमन्त्रीहरुले समेत भ्रमणमा मोदीलाई भेटेको बताउँदै उनी यसलाई कसैले प्रचार गर्नु नपर्ने तर्क गर्छन्। उनकै भाषामा भन्दा यो चाहिने भन्दा बढी नै विज्ञापन भइरहेको छ।
ठूला पार्टीको सरकारलाई राम्रो रेसपोन्स गरेको उनको भनाइले सायद एमालेमा पनि खुसीको सञ्चार भएको छ। यद्यपि राणाले भने यसलाई केपी शर्मा ओली र भारतजस्ता परस्पर विरोधीलाई एक ठाँउ उभ्याएको रुपमा व्याख्या गर्न खोजेको बुझ्न गाह्रो छैन।
जसले पार्टीमा समेत अर्थ राख्ने अवस्था बन्दा कतियले आरजुलाई भविष्यको प्रधानमन्त्रीकै रुपमा टिप्पणी गर्न भ्याइसकेका छन्। तर उनको यो अवस्था कांग्रेसभित्रै भने स्वीकार्य नरहेको प्रष्ट देखिन्छ।
परराष्ट्रमन्त्री भएको खुसियालीमा लड्डु बाँड्ने कामै पूर्णबहादुर खड्काले प्रश्नको घेरामा पारिदिँदा भारत भ्रमणको चर्चासमेत स्वास्थ्य उपचारभन्दा माथिको मान्न नपर्ने कांग्रेस नेताहरु नै बताउँछन्।
तर यो भ्रमणले प्रधानमन्त्री ओलीसमेत झस्किएका रुपमा चर्चाका बीच उनले तरंग नै ल्याएको भने पुष्टि हुँदै गएको छ। कांग्रेसले नेताहरुले जे सुकै तर्क गरेपनि वा आफ्नो डर एमालेले बाहिर नल्याएपनि ओलीले नै महिला प्रधानमन्त्री बनाउने नयाँ अश्त्र प्रहार गरिसकेका छन्।
जसले कांग्रेसभित्रै असन्तुष्टिको नयाँ रेखा तय हुने तथा आरजु पनि फकिने दोहोरो फाईदा देखिदाँ उनको भारत भ्रमणले पारेको प्रभाव समेत संकेत गरेको छ।
हुन त अब हुने उनको भ्रमणमा यो स्तरको महत्व नदिए के होला भन्ने बहस यसले सिर्जना गर्दा ओलीका लागि यो चुनौती भएको केही विश्लेषकहरुको टिप्पणी छ।
जसमा सबैभन्दा रोचक विषय त देशका लागि के भयो भन्ने भन्दा पनि कसले भेटदियो भन्ने विषय नै प्रधान हुनु हो। अब ओली र कांग्रेसकै अरु नेताले यो भाष्य निर्माण गर्ने पक्का हुँदा बद्नाम हुँदासमेत पछि नहटेकी आरजुको उडान यसै रोकिने अवस्था भने देखिँदैन।
त्यस्तै देशका साशकहरूले आफ्ना देशका नदिनाला,लिपुलेक र कालापानीलगायतका भूभाग बेचेर राष्ट्रघात गरिरहेका छन् भन्ने जनताहरूले हिसाब किताब गरेर बसेको अवस्थामा शक्ति राष्ट्रका प्रधानमन्त्री र मन्त्री भेटेर देशको हितमा हुने ठूलो उपलब्धी के भएको छ भन्ने गम्भीर प्रश्नहरू खडा गरेर बसेका छन्।