प्रचण्ड–माधवको पार्टी एकता गर्ने योजना कहाँ रोकियो,ओली सिध्याउने सपना अधुरै

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले तर्साउन समाजवादी मोर्चा गठन गरेपनि सफल भने हुनसेको छैन।

कम्युनिष्टहरूलाई एक बनाउन भन्दै एमालेलाई बाइकट गरेर गठन भएको समाजवादी मोर्चा अहिले आफैँ अलमलमा परेको छ। गठन भएको एक वर्ष दिन बितिसक्दा पनि औचित्य पुष्टि गर्न नसकेको समाजवादी मोर्चा आफ्नो लक्ष्यबाट भड्ँकिदा गुमनाम जस्तै भएको छ।

नेकपा एमालेप्रति बढ्दै गएको लोकप्रियताले डगमगाएका नेकपा माओवादी केन्द्रलगायतका नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र पछिल्लो पटक सामेल भएको नेपाल समाजवादीसहित वाम शक्तिहरू एक ढिक्का हुने भनिए पनि उनीहरू अहिले तितरवितर अवस्थामा छन्।

प्रत्येक चार÷चार महिनामा नेतृत्व परिवर्तन गर्ने नीति बनाएको समाजवादी मोर्चाले १४ महिना पार गरिसक्दासम्म जम्मा दुई जना मात्र नेतृत्व पाएको छ। पहिलो चार÷चार महिना गरेर दुई कार्यकाल माधवकुमार नेपालले नेतृत्व गर्दा अहिले विगत ६ महिनादेखि नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव समाजवादी मोर्चाको ‘नेतृत्व’मा छन्।

समाजवादी मोर्चाको घोषणापछि सातै प्रदेशमा सन्देश सभा गरेर सुस्ताएको मोर्चाको नेतृत्वमा विप्लव आएपछि केही आशा जागे पनि समयक्रम सँगै उनी पनि सुस्ताउँदै गएका छन्।

गत साउन १ गते बैठक बसे पनि मोर्चामा सामेल पार्टीहरू सबै आन्तरिक समस्यामा नै गिजोलिँदा समाजवादी मोर्चा नाममा मात्रै सीमित बनेको छ। मोर्चाको सबैभन्दा शक्तिशाली दल माओवादीभित्रै नेतृत्व परिवर्तनको बहसले तरङ्ग ल्याउँदा मोर्चा प्रचण्डको बार्गेनिङ अस्त्र बनेको छ।

प्रचण्डले मोर्चामा आबद्ध नेतालाई माओवादीमा भित्र्याएर पदाधिकारी तर्साउन मात्रै यसको प्रयोग गरिरहेका छन्। मोर्चा छोडेर पार्टी सुदृढीकरणमा लागेको माओवादी आफ्नै पार्टीको विरासत फर्काउन प्रयासरत छ।

एकीकृत समाजवादी पार्टी पनि पार्टीभित्रको लथालिंग अवस्था मिलाउनमा नै व्यस्त हुँदा समाजवादी मोर्चातिर सोच्ने फुर्सद नै पाएको छ। पार्टीको महाधिवेशन भएको ४५ दिन बितिसक्दा पनि अझै तीन जना बाहेक अन्य पदाधिकारीको टुङ्गो लगाउन सकेको छैन। भर्खरै निर्माण भएको पार्टीले २९९ केन्द्रीय सदस्यबाट ३४४ पु¥याउँदा मोर्चालाई भन्दा पार्टीलाई नै बढी प्राथमिकतामा राखेको छ।

त्यस्तै पार्टी फुटबाट उपेन्द्र यादव रुष्ट बन्दा जसपा नेपालले समाजवादी मोर्चालाई वास्तै गर्न छोडेका छन्। जसपा फुटाउन प्रचण्डले भूमिका खेलेपछि उपेन्द्रले अघोषित रुपमा नै मोर्चाबाट बाहिरिसकेका छन्।

मोर्चामा उपेन्द्रको कुर्सी खाली नै भए पनि त्यसप्रति उनको कुनै लगाव छैन। तर, मोर्चाबाट नै आफ्नो आगामी राजनीतिक भविष्य खोज्ने दाँउमा रहेको विप्लव र महेन्द्रराय यादव भने अन्य पार्टीहरूले आ–आफ्नै बाटो समाउँदा चाहेर पनि मुर्झाउन सक्ने अवस्थामा छैनन्।

साना साना कम्युनिष्ट पार्टीका पसल थापेर बसेकाहरूलाई ध्रुवीकृत गर्दै वाम शक्तिको मोर्चा बनाए पनि यसबाट पार लाग्ने सङ्केत नदेखेपछि दलहरू आ–आफ्नो पार्टी केन्द्रित गतिविधिमा जुटेका छन्।

मोर्चामा सबै शक्तिशाली नेताहरू नै भएको हुँदा शक्ति सन्तुलनको तालमेलमा पनि असन्तुष्टि देखिन्छ। भएभरका सबै शीर्ष बत्रे होडमा हुँदा कम्युनष्टिको डुङ्गा पार लगाउने उद्देश्यले निमार्ण गरिएको समाजवादी मोर्चा आफैँ डुब्ने तरखरमा छ।

एमालेका अध्यक्ष ओलीलाई एक्ल्याउन निर्माण गरिएको समाजवादी मोर्चाको गत असार ४ गते एक वर्ष पुगेको थियो। दिन गिन्तीको रुपमा मोर्चाले वर्ष दिन त पार गरेको छ, तर यसको भविष्य अझै पनि भूमरीमा नै छ।

एउटै भूमरीमा घुमिरहेको समाजवादी मोर्चा नाममा त ज्यूँदो छ तर, यसको सक्रियता भने छैनको बराबर भइसकेको छ। सबै जना आफ्नो पार्टीलाई नै मुर्झान कसरत गरि रहने, मोर्चालाई भने आफ्नो स्वार्थ अनुरुप प्रयोग गर्दा यसको औचित्यमाथि नै प्रश्न उठ्न थालेको छ।

समाजवादी मोर्चा चाहिँदैन पनि भन्न नसक्ने र यसलाई उद्देश्यअनुसार अगाडि लैजान पनि नसक्ने आबद्ध दलहरुकै भूमिकाले यसको भविष्य अन्योलमा भूमरीमा मडारी रहेको छ।