आज यी तीन प्रदेशमा भारी वर्षा हुने

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

आज राति देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।