२० प्रहरीलाई सेवाबाटै हटाउने चेतावनी

काठमाडौं। प्रहरी प्रधान कार्यालयले लामो समयदेखि बिना जानकारी सम्पर्कविहीन भएका २० जना प्रहरीलाई कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ।

प्रहरी प्रधान कार्यालय, कानुन शाखाले मंगलबार सूचना जारी गर्दै झन्डै तीन महिनादेखि आफूखुशी गैरहाजिर रहेका प्रहरी नायव निरीक्षक (सई)देखि प्रहरी जवानसम्म २० जनालाई सम्पर्कमा आउन भनेको हो।

गैर हाजिर हुनेमा तीनजना सई, एक जना असई, दुईजना हबल्दार, दुईजना कार्यालय सहयोगी र बाँकी प्रहरी जवान रहेको सूचनामा उल्लेख छ।

समयमै हाजीर भए सफाइको मौका दिइने र एक साताभित्र कार्यालयमा उपस्थित नभए ‘प्रहरी नियमावली २०७१ को नियम ११३ को उपनियम १ को खण्ड च’ अनुसार सेवाबाटै हटाउने समेत प्रहरी मुख्यालयले चेतावनी समेत दिएको छ।