ओलीमाथि आक्रामक बन्दै प्रचण्ड,मन्त्रिपरिषद्‌बाटै बक्यौता उठाउन ओलीलाई चुनौती

काठमाडौं। नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एकअर्कामा कडा राजनीतिक घोचपेज चल्दै आएको छ।

त्यस्तै आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युत प्राधिकरणको उठाउन बाँकी करिब २२ अर्ब बक्यौता रकम मन्त्रिपरिषद्‌बाटै उठाउन प्रधानमन्त्री ओलीलाई कडा चुनौती दिएका छन्।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सामाजिक सञ्जालमा प्रस्ताव गरेर नभई क्याविनेटबाट निर्णय गराउन ओलीलाई सुझाव समेत दिए।
‘प्रधानमन्त्रीले नौ वर्षसम्म किन एक्काइस अर्ब अठासी करोड महसुल उठाइएन भनेर पनि फेसबुकबाटै सोध्नुभयो।

नियत सही भएको प्रधानमन्त्रीले क्याविनेटबाट सोध्नुपर्ने प्रश्न होइन र। खासमा यो प्रश्न सोध्ने होइन, जवाफ दिनुपर्ने व्यक्ति नै प्रधानमन्त्री ओली आफैँ हो, दाहालले भने,प्राधिकरणलाई आफ्नो काम आफैं गर्न नदिएर यो विवाद निम्त्याएको आरोप लगाए।

एमाले दलीय हैसियतमा दोस्रो ठूलो दल हो,तर पनि यी दुई दलका नेतृत्वबीच सँधैजसो कडा टक्कर हुँदै आएका छ। मुख्यतः पछिल्लो राजनीतिक समीकरण बदलिँदा एमालेले प्रचण्डलाई ‘किक्आउट’ गर्दै प्रतिपक्षमा पुर्याइ दिएपछि प्रचण्ड अझै अडा भएका छन्।

प्रचण्डलाई किनारा लगाउदै गर्दै एमाले अध्यक्ष ओली काँग्रेसको समर्थनमा प्रधानमन्त्री बन्न पुगे। समीकरण परिवर्तनलाई माओवादी अध्यक्ष प्रचण्डले भने ओलीको गम्भीर षड्यन्त्र भन्ने गर्दछन्।

नयाँ समीकरणपछि प्रधानमन्त्री ओली काँग्रेस–एमालेको गठबन्धनलाई अग्रगामी पुष्टि गर्न अग्रसर छन्। उता प्रचण्ड पनि सरकार भ्रष्टाचारविरुद्ध कडा प्रस्तुत हुँदा अफूलाई हटाइएको भन्दै जनतालाई ‘कन्भिन्स’ गर्ने प्रयासमा छन्।

ओली–प्रचण्डबीच शान्तिप्रकृयापछिका सबै राजनीतिक परिदृष्यमा एकअर्कामा भिडेकै देखिन्छ। उनीहरुबीच सरकार गिराउने र बनाउने खेल नै भइरहेको छ। यसकै निरन्तरता स्वरुप गत असार १५ गतेको घटना आइपर्यो।

यो दिन सत्तामा रहेकै बखत तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई निरन्तरताकै आशा देखाएर ओलीले देउवासँग संवाद थालेका थिए।

यही जगमा अडिएर हालको सरकार गठन भएको हो। तर यसलाई माओवादीसहितका प्रतिपक्षी दलहरुले भने भ्रष्ट जोगाउन देउवा–ओली मिलेको आरोप लगाइरहेका छन्।

०७४ सालमा गठन भएको नेकपा विभाजन हुनु पनि प्रचण्ड र ओलीबीचकै संघर्ष थियो। यी दुई पात्रको एकता र फुटको श्रृङ्खलाले पनि कार्यकर्ता र जनतालाई को ठिक वा को बेठिक हो रु भन्ने प्रश्न पैदा गराई रहेको छ।

सत्ताच्युतपछि प्रमुख प्रतिपक्षी बनेको माओवादी केन्द्र अहिले पार्टीकै गतिविधिमा व्यस्त छ। जनतामा जाने र आउँदोे निर्वाचनमा ०६४ कै जस्तै जनलहर ल्याउने उदेश्यमा रहेका अध्यक्ष प्रचण्डले गठबन्धन र प्रधानन्त्री ओलीमाथि भ्रष्टाचारीको संज्ञा दिन छाडेका छैनन्।

वर्तमान गठबन्धनले माओवादी नेतृत्वको सरकार विस्थापित गरेको नभइ भ्रष्टाचारी र दलालाई बचाएको प्रचण्डको बुझाइ छ। ओलीले दलाल र भ्रष्टाचारको रक्षा गरेकाले यो सरकार पनि भ्रष्टाचारीकैे भएको सीधा आरोप प्रचण्डको छ।

तर उता प्रधानमन्त्री केपी शर्मा ओलीले भने विभिन्न समयमा पटक पटक वर्तमान सरकार सुशासन र समृद्धिका लागि बनेको दावी गरिसकेका छन्।

सहकारी ठगी प्रकरणको सवालमा होस् वा विद्युत प्राधिकरणको बक्यौता मिलनको विषयमा ओली आफू कुनै पनि भ्रष्टाचार सहनै नसक्ने जिकिर गर्छन्।

यद्यपि ओलीको जिकरप्रति आम जनता र प्रतिपक्षी दलसमेत आश्वस्त बनेको छैन। तर पछिल्लो समय ओली विदेशमा रहेका नेपालीहरुलाई समेत स्वदेश फर्कने गरिको विकासका काम गरिरहेको भन्दै जनता आकर्षित पारिहरको छन्।

खासगरी प्रधानमन्त्री केपी शर्मा ओली र सत्ताच्युत भएर प्रतिपक्षी कित्तामा पुगेका माओवादी अध्यक्ष प्रचण्डबीच भ्रष्टाचारी प्रमाणित गर्ने र सबल सरकारको नेतृत्व प्रमाणिकरण गर्ने होड देखिन्छ।

प्रचण्ड ओलीलाई भ्रष्ट सावित गराउने मनस्थितिमा छन् भने ओलीलाई प्रचण्डको आरोप निस्तेज पार्दै निश्कलंक बन्नु छ। तर ओली र प्रचण्डको संघर्षको सिकार भने सँधै मुलुक र जनता नै हुने गरेका छन्। नेता र नेतृत्व व्यक्तिगत एवं पार्टीगत स्वार्थभन्दा माथि नउठे जनता सँधै यस्तै मर्कामा पर्ने पक्का छ। तसर्थ अब जनताभित्र विवेक र चेतना उजागर हुन आवश्यकता देखिन्छ।