ओली–देउवालाइ निसाना बनाउदै जनता,बंगलादेशका नेताको जस्तै हालत बनाइदिने चेतावनी
आर.एस. महतारा
काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा जनताको निसानामा परेका छन्। नेपालका नेता पनि बंगलादेशका नेताहरू जनताको निसानामा परे जस्तै पर्ने खतरा बढ्दै गएको चर्चा हुन थालेको छ। गौरा पर्वको अवसरमा टुँडिखेल पुगेका देउवा र ओलीविरूद्ध युवाहरूले नारावाजी गरेपछि माहोल केहीबेर असान्त जस्तै भएको थियो।
सुशासन,आमनागरिकमा आशा जगाउने तथा लोकतान्त्रिक पद्धतीमाथिको प्रश्न कम गराउने दाबीसहित बनेको सरकार नै अहिले सफल हुन सकेको छैन। अंकगणितीय दृष्टिले दुईतिहाई बहुमत भएपनि सरकारमाथिको प्रश्नहरु उस्तै छन्। सडकमा असन्तुष्ट आवाज उत्तिकै सुनिँदा नेताहरुमाथि सार्वजनिक कार्यक्रममै प्रश्न उठ्न थालेको हो।
सोमबार गौरा पर्वको अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली र सभापति देउवाविरुद्ध नाराबाजी भयो। गौरा पर्वको कार्यक्रममा सहभागी एक समूहले ओली र देउवाविरुद्ध चर्को नाराबाजी गरेका उनीहरुले ओलीलगायतको कारणले देशले दुःख पाएको आरोप लगाए। अवस्था कस्तोसम्म बन्यो भने सत्तामा हुँदा समेत आशा जगाउन नसकेको यो उदाहरणबीच ओली र देउवाले सभ्यता सिकाउन भ्याए।
बारम्बार सत्तामा पुगेर माखो नमारेको बिर्सिका उनीहरुले आफैँ सत्तामा रहेको स्मरण गर्न सकेनन्। उनीहरुले दुई तिहाई अंकगणितसहित सत्तामा जानु नागरिकमा देखिएको निराशा चिर्नु,लोकतान्त्रिक पद्धतीमाथिका अविश्वास रोक्नु भएको आफ्नै दाबीमाथिको प्रश्न भएको बुझेनन्।
बरु कांग्रेस सभापति देउवाले गौरा पर्व बिथोल्नेहरूलाई कारबाही गर्न आग्रह गरे। काठमाडौँमा आएर गौरा पर्वको कार्यक्रम बिथोल्नेहरूलाई काठमाडौँबासीले ठिक पार्नुपर्ने बताए।
कार्यक्रममा ओली केहि संयमित सुनिएपनि देउवा भने आक्रोशित बने। उनीहरुको योगदान पनि थाहा नपाएको र आशा पनि नदेखेको पुस्तामा बढ्दै गएको निराशा ज्योतिषले भनेको संख्या पुर्याउने बाटोमा रहेका उनले बुझ्ने कुरासमेत थिएन।
अझ रोचक त उनीहरुमाथिको यो नाराबाजीको पक्षमै सामाजिक सन्जाल उर्लिएको छ। यसले बंगलादेशको संकेत गर्न थालेको भन्दै बहसशुरु हुदाँ नेताहरु माथिको आक्रोश रोकिने नभई अझ बढ्ने संकेत गरेको छ। यो त प्रतिनिधि घटना मात्रै हो।केहि समयदेखि निरन्तर सडकमै पनि प्रदर्शन भइरहेका छन्।
स–साना समूहमा देखिएको तथा नेतृत्वविहीन देखिएको यस्ता प्रदर्शनले सरकारको विश्वनियतामाथि प्रश्न गरिरहेको छ। जसलाई कतिपयले राष्ट्रिय स्वतन्त्र पार्टीको उदयका कारण केहि कम भएको निराशा यहि पार्टी पनि प्रश्नको घेरामा परेपछि विकास हुँदै गएको आक्रोशको अवस्थाकै रुपमा हेरेका छन्।
जुन भुसको आगो जसरी बढ्दै गएको तथा विपक्षी दल नै सडकमा नपुग्दै नागरिकस्तरमा उठेको प्रश्न खतरननक हुनसक्ने राजनीतिक विश्लेषकहरु बताउँछन्। यता नेपाली कांग्रेसका उपसभापतिधनराज गुरुङ नै यो सरकारले पनि काम गर्न नसके अनपेक्षित अवस्था आउने स्वीकार्छन्। अर्थात ओली देउवाले नै सम्हाल्न नसके देश दुर्घटनामा पर्ने उनको तर्क छ।
हुन त अहिले आन्दोलनको मानसिकता बढ्दो छ। पुराना नेता र दलहरु यसै पनि प्रश्नका घेरामा पर्दा आफैँ भिडे सकिने डरले नै ओली देउवा एक ठाँउमा उभिएको आक्षेप लाग्दै आएको छ।
त्यसमा परीक्षण भएकैबाट ज्यादा आशा नदेखिँदा नागरिकमा देखिएको विकल्प हिनता विद्रोह तर्फ अघि बढ्ने खतरा रहेको राजनीतिक विश्लेषकहरु बताउँछन्। तर वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका महासचिव विश्वभक्त दुलाल (आहुति)भने यो आवश्यक नै रहेको तर्क गर्छन्। सिङगो समाज आधारभूत रुपमा निराश नहुने तर्क गर्ने उनी अहिले देखिएको निराशा नभई आक्रोश भएको दाबी गर्छन्।
हुन त नागरिको प्रहार नभेट्ने शीर्ष नेता नै कम छन्। ओली हुन कि पुष्पकमल दाहाल प्रचण्ड कुनै न कुनै समय आक्रमणमा परेकै नेता हुन्। आफैँले आफ्नो नेतृत्वकर्ता छान्ने पद्धती भएको वर्तमान अवस्थामा यो गलत भएपनि यसको कारण खोज्न नेताहरु लागि पदैनन्।
बरु कुनै फण्डा,कुनै अराजक तत्वले यस्तो गर्ने गरेको भन्दै बदमासको संज्ञा दिने उनीहरु यस्तैको पक्षमा किन माहोल बढिरहेको छ, अध्ययन नै गरेका छैनन्।
जसको एकशब्दको उत्तर नागरिकमा बढ्दो निराशा भएपनि दुई चोटी दुईतिहाईको सरकार चलाएका ओली समेत आफू आशा जगाउन सफल नभएको स्वीकार्न तयार देखिँदैनन्। यसले नेता र सरकारमाथिको प्रश्न अझ बलियो बनाउँदै छ।
सरकार र जनताबीचको सम्बन्ध यसरी नै अगाडी बढ्दै गए कुनै दिन बंगलादेशको जस्तै स्थिति नेपालमा पनि आउन सक्ने अहिले देखि नै विश्लेषण हुन थालेका छन्। बढ्दो वेरोजगारिले युवाहरू आक्रोषित हुँदै गएको बेला सरकारले केही आशा जगाउने खालको काम गरेन भने नेपालमा पनि ठूलो आन्दोलनको आधिबेरी आउन सक्ने अवस्था सुजना हुँदै जाने देखिएको छ।