अमेरिकामा मुना पाण्डेमाथि गोली हान्ने व्यक्तिको तस्बिर सार्वजनिक

काठमाडौं। अमेरिकामा नेपाली युवती मुना पाण्डेको हत्यामा संलग्न व्यक्तिको तस्बिर सार्वजनिक भएको छ। बुधबार ह्युस्टन प्रहरीले अभियुक्तको तस्बिर सार्वजनिक गरेको हो।

यद्यपि, अभियुक्तको पहिचान खुलिनसकेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै अमेरिकाबाट प्रकाशन हुने नेपाली अखबार नेप्योर्कले उल्लेख गरेको छ। ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया मुना पाण्डे सोमबार साँझ आफ्नै घरमा गोली हानी हत्या गरिएको अवस्थामा भेटिएकी थिइन्।

सिसीटिभी फुटेजमा देखिएअनुसार मुना मृत भेटिएको स्थानमा अभियुक्त अगस्ट २४ को बेलुका ९ बजेर ४८ मिनेटमा देखिएका छन्। प्रहरीले ती व्यक्ति को हुन् भन्ने पहिचान नभएको बताएको समाचारमा जनाइएको छ।

यद्यपि, मुना प्रेम सम्बन्धमा रहेको भनिएको अमेरिकी युवक ती अभियुक्त नरहेको पनि प्रहरीलाई उद्धृत गर्दै नेप्योर्कले लेखेको छ। प्रहरीले अभियुक्त पहिचानका लागि समूदायको सहयोग मागेको छ। चिन्ने र देख्ने व्यक्तिहरूलाई प्रहरीमा खबर गर्न भनिएको छ।

गत सोमबार साँझ साढे ५ बजे टेक्सासस्थित ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया युवती मुना पाण्डेको हत्या भएको थियो। मुना भोजपुरकी हुन् । उनी सन् २०२१ मा अध्ययनका लागि अमेरिका गएकी थिइन्। मुनाको शव पोस्टमर्टम गरी ह्युस्टन प्रहरीले घटना अनुसन्धान गरिरहेको छ।