श्रीकेश तेल उत्पादक कम्पनीलाई २ लाख जरिवाना,थप कारबाही गर्न सिफारिस

काठमाडौं। काठमाडौं महानगरपालिकाले श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रीलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ।

उत्पादक कम्पनीसँग माग गरिएका विवरणका आधारमा तयार पारिएको प्राविधिक विश्लेषण प्रतिवेदनमा गुणस्तर पुष्टि हुन नसकेपछि जरिवाना गरिएको निरीक्षण अधिकृत डा.अवधेश झाले जानकारी दिए।

तेलको गुणस्तरका विषयमा गुनासो आएपछि महानगरपालिकाले असार ७ गते विवरण माग भएको थियो। ‘हामीले मागेको विवरणका आधारमा प्रतिवेदन तयार गर्‍यौं र सोही प्रतिवेदनका आधारमा जरिवाना गरिएको हो,झाले भने।

माग गरिएको विवरणमा तेलमा प्रयोग हुने कच्चा पदार्थको प्राविधिक समिश्रणको विधि (फर्मुलेसन, रेसपी मेथड)को कागजात प्राप्त हुन सकेको थिएन। महानगरको अनुगमनमा कारखानामा स्टाण्डर्ड अपरेसन प्रोसिड्युर (एसओपी)को अभिलेख समेत नपाइएको हो।