आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौं।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ।

मनसुनी वायुको प्रभावले अहिले कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मूख्यतया सफा छ।

कोशी प्रदेशका एकदुई स्थानमा भने हल्का वर्षा भइरहेको महाशाखाले बुलेटिन जारी गरी जानकारी दिएको छ।

शनिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा भने भारी वर्षाको पूर्वानुमान छ।

शनिबार राति देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी र बागमती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा तथा एकदुई स्थानमा धेरै भारी वर्षा हुने पनि महाशाखाले पूर्वानुमान गरेको छ।