प्राकृतिक विपद्पछिको उद्धार, राहतको काम छिटै सुरु भयो: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रभावकारी ढङ्गले उद्धार, राहत र पुनःनिर्माणका काम अगाडि बढ्ने बताएका छन्।

संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिएर स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलन ओलीले प्राकृतिक विपद्पछिको उद्धार, राहतको काम छिटै सुरु भएको भन्दै अबको उद्धार, राहत र पुनःनिर्माणका काम अगाडि बढाउने बताएका हुन् ।

उनले उद्धारका नाममा सरकारको विरोध गर्नुभन्दा सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । विपद्का बेला सरकारको भूमिका ठीक भएन भन्नु विरोधका लागि विरोधमात्रै भएको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले सरकार जनताकै भएकाले विपदको घडीमा सक्दो सहयोग र राहत पुर्याउने कार्यमा सरकारले कुनै कसर बाँकी नराख्ने जिकिर गरे । उनले संयुक्त राष्ट्र सङ्घको महासभामा जलवायु परिवर्तनले नेपालमा पुराएको असरका विषयमा स्पष्ट रुपमा विश्वमा जानकारी गराइएको बताए ।

त्यसअघि प्रधानमन्त्री ओली स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उनलाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री द्वय विष्णुप्रसाद पौडेल र प्रकाशमान सिंहले स्वागत गरेका थिए भने नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री ओलीलाई सम्मान गारत अर्पण गरेको थियो।