ओली र प्रचण्ड एकअर्कालाइ सिध्याउने रणनितिमा

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकअर्कामा आक्रोशित हुँदै गएका छन्। र प्रधानमन्त्री ओलीले प्रचण्डमाथि खनिदै बंगलादेश र श्रीलंकाको घटना देखाएर आफूहरूलाई डर नदेखाउन समेत चेतावनी दिएका छन्।

यस्तै उनले प्रचण्ड आफैलाई डर भएको समेत दाबी गरेका थिए। प्रधानमन्त्री ओलीले आफूले १७ हजार मान्छे नमारेको भन्दै खुट्टा नकमाउने बताएका थिए।र प्रचण्ड जीले श्रीलंका र बंगलादेशबाट सिक भनेर अर्ती उपदेश दिनु भएछ, मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने मैले लुटपाट गरेको छ र मैले डराउनु पर्ने केही छैन,उनले भनेका छन्।

प्रतिपक्षमा पुगेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संगठन सुदृढीकरण भन्दै देश दौडाहमा रहेका छन्। तर, पछिल्लो एक महिनामा उनका अभिव्यक्ति आफैँमा विरोधाभाषपूर्ण र उत्तेजक सुनिदै आएका छन्। कतिपयले यसलाई सत्ता छाड्दाको छटपटीका रुपमा व्याख्या गरिरहेका छन्।

सत्ता गुमाएपछि पार्टी निर्माण भन्दै देश घुमिरहेका माओवादी अध्यक्ष प्रचण्ड असंयमित बन्न थालेका छन्। सरकारको विरोध गर्ने नाममा ढंग नपु¥याइ अभिव्यक्ति दिँदा आलोचना चुलिएको छ। कतिपयले यसलाई उनको प्रतिपक्षमा रहँदाको छटपटीका रुपमासमेत हेर्न थालेका छन्। हुन त प्रचण्डका लागि यी गतिविधि खासै नौला भने होइनन्। किनभने शक्तिविहीन हुँदा कार्यकर्ता उचाल्ने उनको पुरानै परिपाटी हो।

अहिले पनि उनी प्रत्येक कार्यक्रममा सरकारविरुद्ध सदन र सडकबाट प्रतिवाद गर्ने चेतावनी दिइरहन्छन्। यतिमात्र नभई सरकारबाट बाहिरिन नपाउँदै शेख हसिना र आफ्नो सरकारलाई अमेरिकाले फालेको आरोप लगाएका प्रचण्ड बंगलादशको उदाहरण दिँदै दुई तिहाइको सरकार पनि उखेलेर फाल्ने अभिव्यक्ति दिन थालेका छन्। अर्थात प्रतिपक्षमा पुगेपछि प्रचण्डका अभिव्यक्ति आफैँमा विरोधाभाषपूर्ण र असंयमी छन्।

हुन त प्रचण्डका यी अभिव्यक्तिलाई खबरदारीका रुपमा मात्रै हेर्नु पर्ने पनि एक पक्षको राय छ। तर, बंगलादेश हुने अवस्था किन निम्तियो र किन बंगलादेश हुने चेतावनी प्रचण्डले दिइरहेका छन् त्यो महत्वपूर्ण विषय रहेको छ।

जनतामा आक्रोश छ, सत्य हो। तर पछिल्लो एक महिनामा मात्रै आक्रोश चुलीमा पुगेको अर्थमा प्रचण्ड प्रस्तुत भइरहेका छन्। यदि जनता विद्रोहकै अवस्थामा पुगेको भए १८ महिनामा थपेको निराशाको भागेदार आफू पनि हुनुपर्ने पक्षलाई प्रचण्डले ध्यान दिइरहेका छैनन्। तर दुई तिहाइको सरकारले जनआक्रोशको ज्वारभाटा थेग्न नसकेको भने पुष्टि भइरहेको छ।

गत सोमबार टुँडिखेलमा नेताहरुविरुद्ध सांकेतिक विरोध गरेकै भरमा युवाहरुलाई थुन्ने पञ्चायती शैली अपनाएको सरकार प्रचण्डका उत्तेजित अभिव्यक्तिमा मौन छ।

नेता लखेटिए आफू पनि लखेटिन्छु भन्ने चेत नभएका प्रचण्ड र नेताले मनलाग्दी बोले पनि हुने र जनताले आक्रोश पोख्दा जेल हाल्ने सरकार दुबैका रवैया कदापि ठिक होइनन्।

प्रचण्डको भ्रममा कांग्रेस र एमालेले प्रतिवाद गर्दै प्रचण्डले संयमता गुमाएको र भाग्नै पर्ने अवस्था आए प्रचण्ड पनि चैनले सुत्न नपाउनेतर्फ होस पु¥याउन भनेका छन्।

तर प्रचण्डमा अहिले पनि जनयुद्धको धङधङी उत्रिसकेको छैन। उनले बंगलादेश बन्ने र नेता भाग्ने अवस्था आए आफू भने जोगिने आत्मविश्वासमा अर्को भ्रम छ।

किनभने बंगलादेशमा हसिना भाग्नु पर्ने कारण कोटा विरोधी आन्दोलन थियो। अहिले कांग्रेस–एमालेले संविधान संशोधनको एजेण्डा लिँदा त्यही आरक्षणको आगो झोस्ने र जनता उचाल्ने योजना प्रचण्डको देखिन्छ।

सत्ता गुमेपछि सडक संघर्ष गर्ने र बिना कारण आन्दोलनको ध्वाँस दिने पुरानै परिपाटी हो। किनभने तत्कालीन प्रधानसेनापति रुकमांगत कटुवाल प्रकरणका कारण आफ्नो प्रधानमन्त्री पद गुमेपछि तत्कालीन माधवकुमार नेपाल नेतृत्वको सरकारलाई घेराबन्दी गर्न सडक संघर्ष चलाएका थिए। सिंहदरबार घेराउ गर्नेसम्मको रणनीति त्यसबेला बनाएका थिए। त्यही रणनीति अहिले फेरि सत्ता गुम्दा प्रचण्ड अपनाइरहेका छन्।

प्रचण्ड स्वयंले दुई पटक प्रधानमन्त्री बन्दा उल्लेख्य काम नगरेको स्वीकारी सकेका छन्। तेस्रो पटक पनि सरकार बनाउनेमै समय बिताएको स्पष्ट भइसक्दा अहिले प्रतिपक्षमा पुग्दा ‘म नहुँदा सबै बिग्रियो’ भन्ने भाष्य निर्माण गरिरहेका छन्।

प्रमुख प्रतिपक्षी भएका कारण सरकारको खबरदारी गर्नु माओवादीको दायित्व र कर्तव्य पनि हो। तर, संयमता अपनाउनुपर्ने नेतृत्व नै जनता उचाल्नतर्फ लाग्दा यीनकै कारण बंगलादेशको अवस्था नआउला भन्न सकिँदैन। र ९ वर्षसम्म सरकारमा हालीमुहाली गरेका प्रचण्ड पनि आँधीबेहरीबाट अछुतो रहने भने देखिदैन।

यस्तै, प्रधानमन्त्री ओलीले आफूहरूले बनाएको संविधानले सबैको रक्षा गर्ने दाबी गर्न भ्याए। अहिलेको संविधान हामीले लेखेको हो, म त्यो हैसियत राख्छु, यो प्रणाली र संविधानलाई देश र जनताको पक्षमा बनाउने हो, जो यहाँ भइरहेको प्रणाली र डेमोक्रेसीविरुद्ध लड्यो अनि उसैसँग ठूला कुरा गर्ने भने।

प्रधानमन्त्री ओलीले आफूले नेपाली कांग्रेससँग भएको सहमति अनुसार प्रधानमन्त्री पद हस्तान्तरण गर्ने बताए। उनले अब आफू प्रधानमन्त्रीमा एक वर्ष १० महिना १५ दिन बस्ने बताएका छन्। मबाट कुनै धोका हुँदैन काँग्रेसका साथीहरूले ढुक्क भएर सरकारलाइ साथ दिन समेत आग्रह गरेका छन्।