एन्फा महिला लिग: आज कोसी प्रदेश र वालिङ नगरपालिका भिड्ने

काठमाडौं। एन्फा महिला लिग फुटबल आज (आइतबार) देखि सुरु हुँदैछ। अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुने लिगको उद्घाटन खेल आज दिउँसो ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा कोशी प्रदेश र वालिङ नगरपालिकाबीच हुनेछ।

प्रतियोगितामा १० टीमको सहभागिता रहेको आयोजकले जनाएको छ। त्रिभुवन आर्मी फुटबल क्लब,एपीएफ फुटबल क्लब,नेपाल पुलिस क्लब,संकटा क्लब, बागमती युथ क्लब, वालिङ नगरपालिका,चन्द्रपुर नगरपालिका,कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको सहभागिता रहेको छ।

प्रतियोगिताअन्तर्गत सिङ्गल राउन्ड रोबिनको आधारमा ४५ खेल हुनेछ। सिङ्गल राउन्ड रोबिनबाट उत्कृष्ट पाँच टीमबीच डबल राउन्ड रोबिनका आधारमा सुपर लिगमा २० खेल हुने एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए।

सुपर लिगका उत्कृष्ट चार टीमबीच क्वालिफायर, इलिमिनेटर र फाइनल गरी लिगमा कुल ६९ खेल हुनेछ। प्रतियोगिताको विजेतालाई १० लाख र उपविजेतालाई ५ लाख नगद पुरस्कार प्रदान गरिनेछ।

उत्कृष्ट खेलाडीलाई १ लाख, फेयर प्ले टीमलाई १ लाख ५० हजार, उत्कृष्ट गोलकिपर र उच्च गोलकर्तालाई समान ५०–५० हजार प्रदान गरिने प्रवक्ता शाहले बताए।

प्लेयर अफ द म्याचलाई ५ हजार प्रदान गरिनेछ। प्रतियोगिताका खेलहरु एन्फा कम्प्लेक्स सातदोबाटो र दशरथ रंगशालामा खेलाइनेछ। टिकट दर १०० रुपैयाँ कायम गरिएको छ।