बचतकर्ता र बैंक बाहेक कसैलाई थाहा नहुने खातामा राखेको पैसा कसरी एकाएक गायब हुँदैछ ?
रुषा थापा
बैंक तथा वित्तिय संस्थामा सर्वसाधारणले निक्षेप जम्मा गरेपश्चात् त्यसको ग्यारेण्टी सम्बन्धित संस्थाले नै लिनुपर्छ । बचतकर्ताले निक्षेप जम्मा गरेपछि उसकै आफन्तसँग समेत बैंक, वित्तिय संस्थाले त्यो कुरा गोप्य राख्नुपर्ने हुन्छ । हाम्रो कानूनअनुसार बैंक, वित्तिय संस्थामा कुनै पनि व्यक्तिले रकम राखेपछि सम्बन्धित बचतकर्ता र बैंकका कर्मचारीलाई मात्र सोबारे जानकारी रहन्छ ।
साथै, बचतकर्ताको स्वीकृतिबिना कुनै पनि व्यक्ति वा उसकै घरपरिवार, आफन्तलाई समेत सो बचतकर्ताले बैंकमा कति रकम जम्मा गरेको छ ? भनेर बताउन मिल्दैंन । यता, पैसा राख्दा कतिपयले आफु मरेमा आफ्नो बचत मागदाबी वा हकदाबी गर्नका लागि कुनै व्यक्तिको नाम पनि तोकिदिएका हुन्छन् । अहिले पनि धेरै यस्ता सर्वसाधारण छन्, जसले बैंक, वित्तिय संस्थामा खाता खोलेर पैसा त राखेका हुन्छन् तर घरपरिवारलाई थाहै नदिई ।
यस्तो अवस्थामा कुनै दुर्घटनावश उसको मृत्यु भएमा बैंक, वित्तिय संस्थाले सम्बन्धित बचतकर्ताको घरपरिवारलाई जानकारी गराउँदैन । अनि बैंक आफैंले सो रकम लिन्छ । बैंक, वित्तिय संस्थाबाट कुनै व्यक्तिले ऋण लिएमा र नतिरेमा उसको तीन पुस्ताले समेत त्यो बेहोर्नुपर्छ । उदाहरणका लागि कुनै व्यक्तिले घरपरिवारलाई थाहै नदिई बैंक, वित्तिय संस्थाबाट ऋण लियो । उसले आम्दानी हुनुञ्जेल साँवाब्याज पनि तिर्छ ।
तर, आम्दानी नहुँदा साँबाब्याज तिर्न नसकेपछि बैंकले पेनाल्टी, हर्जानालगायत अन्य शुल्क समेत जोड्छ । बैंकमा हामी सर्वसाधारणले एक लाख रकम जम्मा गरेमा वर्षभरिको ब्याज एक–दुई हजार आउँछ । यद्यपि, बैंकले ऋणीसँग भने एक लाख कर्जाको ब्याजलगायत अन्य विभिन्न शुल्क गरेर एक वर्षमा दोब्बर उठाउँछ । अनि बैंकको चर्को ब्याज र चलाखीपूर्ण कार्य बुझ्न नसक्ने ऋणीहरु फस्ने गर्छन् ।
उनीहरुले ऋण त एक लाख लिएका हुन्छन् तर बढ्दैबढ्दै दोब्बर–तेब्बर पुग्छ । अनि ऋण तिर्न नसकेपछि बैंकले उसलाई विभिन्न धम्की दिन्छ । कहिले धितो लिलाम गर्ने त कहिले पत्रपत्रिकामा तीन पुस्ता निकाल्ने । पहिला सानो रकम त ऋण लिएको हो नि भनेर घरपरिवारलाई जानकारी समेत नदिएका ऋणीहरु पछि बैंकको यस्ता गतिविधिबाट त्रसित हुन्छन् । कतिपयले त सहन नसकेर आत्महत्या समेत गरेको पाइन्छ ।
तर, बैंकले त ऋणीले आत्महत्या गरेपनि उसको तीन पुस्ता समेतलाई त्यो ऋण तिराउनै लगाउँछ नि । जति सजिलो गरी बैंकले ऋणीका तीन पुस्तालाई समेत त्यो ऋण तिराउन लगाउँछ, त्यति नै गाह्रो हुन्छ बचतकर्ताको मृत्यु भएपश्चात् उसका आफन्तले निक्षेप प्राप्त गर्न । बचतकर्ताको मत्युपछि बैंकले तपाईँ उसको श्रीमति, छोराछोरी हो भनेर मात्र निक्षेप फिर्ता दिँदैन । प्रमाणहरु पेश गर्नुपर्छ । बचतकर्ताको मृत्युको प्रमाणपत्रदेखि हकदाबी गर्न तोकिएको व्यक्तिलाई मात्र त्यो रकम दिइन्छ ।
यतिमात्र नभई प्रमाणपत्र पेश गर्दा समेत रकम पाइँदैन । मृतक बचतकर्ताका आफन्तलाई बैंकले ३५ दिने सूचना निकाल्न लगाउँछ । हकदाबी पेश गर्नका लागि । पत्रिकामा सूचना निकाल्दा लागेको खर्च मृतक बचतकर्ताको आफन्तले नै बेहोर्नुपर्छ । तोकिएको समयभित्र कसैले हकदाबी पेश नगरेमा मात्र बैंकले प्रमाणपत्र हेरेर मृतकका आफन्तलाई रकम दिन्छ ।
फेरि कतिपयले त हकदाबी गर्ने समेत तोकेका हुँदैन । यस्तो अवस्थामा बैंकले सम्बन्धित बचतकर्ताका आफन्तलाई पैसा फिर्ता गर्दैन । र, बैंककै स्वामित्वमा रहन्छ त्यस्तो रकम । बैंक, वित्तिय संस्थाको आफ्नो नीतिनियम छ । किनकि उनीहरुले जनताको पैसाको सुरक्षा गर्नुपर्ने हुन्छ । बैंकको सानो गल्तीले समग्र बैंकिङ क्षेत्रमा असर पर्न सक्छ ।
त्यसैले, बैंकले बचतकर्ताको रकम सम्बन्धित बचतकर्ताबाहेक अरु कसैलाई दिँदैन । तर, पछिल्लो समय बजारमा दुईटा कुराको खुब चर्चा छ । एउटा बैंक खाताबाटै बचतकर्ताको निक्षेप गायब भयो, अर्को ऋणीले महिनैपिच्छे किस्ता तिरेपनि साँबा घट्दैन । अहिले विभिन्न बैंक तथा वित्तिय संस्थाबाट बचतकर्ताको खाताबाटै लाखदेखि करोड रकम गायब भएको घटना बाहिरिएका छन् ।
मानौं, कोही बचतकर्ताले कुनै बैंकमा गएर पाँच लाख रुपैयाँ खातामा जम्मा गर्यो । तीन महिनापछि ऊ त्यो रकम निकाल्न बैंक पुग्छ । तर, बैंक भन्छ, तपाईँको खातामा ५० हजार रुपैयाँ छ । जबकी त्यो बचतकर्ताले खाताबाट एक रुपैयाँ पनि झिकेकै हुँदैन । केही समययता यस्ता घटना बढ्दो क्रममा छ । बैंकमा जम्मा गरेको रकम खाताबाटै एकाएक गायब हुँदा बचतकर्ताहरु त्रसित हुन थालेका छन् ।
कतिपय बचतकर्ताले त खातामा जम्मा गरेको रकम गायब भएपछि बैंकमै झगडा गर्छन् । अनि बैंकका कर्मचारी, मेनेजरहरु तपाईँको पैसा अन्य बैंक वा खातामा जम्मा भएछ भन्दै फिर्ता गर्छन् । बचतकर्ताले अन्य खातामा ट्रान्सफर नै नगरी कसरी रकम अरुको खातामा जान्छ ? यसलाई बैंकको लापरबाही भन्ने कि चलाखीपूर्ण चोरी ? पहिलापहिला बैंकबाट रकम झिकेपश्चात् बाहिर लुटपाट भएको सुनिन्थ्यो ।
तर, अहिले त बचतकर्ताको खाताबाटै रकम गायब हुन थालेको छ । अनि यसलाई के भनेर बुझ्ने हामी सर्वसाधारणले ? अहिले बैंक खाताबाट बचतकर्ताको रकम हराएको मात्र गुनासो छैन, ऋणीले महिनैपिच्छे किस्ता गरेपनि उसको साँबा नघटेको वा तिरेको पैसा पनि गायब हुने गरेको गुनासो पनि उत्तिकै बढेको छ ।
खाताबाटै एकाएक रकम गायब हुन थालेपछि बैंकका बचतकर्ता र ऋणी दुवैलाई रातमा निन्द्रा न दिनमा भोक भएको छ । पछिल्लो समय बैंकले निक्षेपको ब्याजदर घटाइरहेको छ । पहिला नौं प्रतिशत ब्याज दिन्छु भनेर बैंकले पाँच÷दश वर्षका लागि बचतकर्तालाई मुद्दती खातामा रकम जम्मा गर्न लगाउँछ । तर, महिनापछि कर्जा गएन र नाफा भएन भनेर निक्षेपको ब्याज तीन प्रतिशतमा झारेको छ ।
अर्कोतर्फ, ऋणीसँग भने चर्को ब्याजदर असुलिरहेका छन्, बैंकहरु । ऋणीसँग १८ प्रतिशतदेखि ४८ प्रतिशतसम्म ब्याज असुलेका छन्। सेवाशुल्क एक प्रतिशत भनेर तीन प्रतिशत असुल्छन् । ऋण दिँदा समेत घुस खान्छन् । १० लाख ऋण दिएमा एक लाख त घुस नै खान्छन्, बैंकका सञ्चालक, अध्यक्षहरु। अनि धितो एक करोडको राख्न लगाइन्छ।
ऋणीले तीन किस्ता नतिर्नेबित्तिकै बैंकले पत्रपत्रिकामा उसको तीन पुस्ते निकाल्छ। र, त्यो निकाल्दा लागेको खर्च पनि सम्बन्धित ऋणीबाटै उठाइन्छ। ऋणीले साँबाब्याज तिर्न नसकेपछि बैंकले धितो लिलामी प्रक्रिया अघि बढाउँछ। र, एक करोडको धितो नौं लाख ऋणमै पचाइदिन्छ। यता, ऋणीलाई पहिला १२ पहिला ब्याज भनिन्छ।
तर, एक महिनापछि ऋणीलाई जानकारी नै नगराई ब्याज बढाएर ४८ प्रतिशतसम्म पुर्याउँछ । बैंकले बचतकर्ता र ऋणी दुवैलाई ठग्दै आइरहेको थियो र अहिले पनि जारी नै छ । हामी बचतकर्ताले बैंकमा निक्षेप राख्दा महिना नमरी ब्याज दिइँदैन । उदाहरणका लागि महिना मर्न दुई दिन बाँकी रहँदै बचत निकालेमा बैंकले ब्याज दिँदैन। र, २८ दिनको ब्याज पनि पचाइदिन्छ।
उता, ऋणीसँग भने दिनको हिसाबले ब्याज असुलिन्छ। ऋणीले कर्जा चुक्ता गरेको दिनको समेत ब्याज लिइन्छ। धितो नराखी बैंक, वित्तिय संस्थाबाट कर्जा पाइँदैन। तर, बैंकहरु कमिशनको लोभमा ऋणीलाई थाहै नदिई उसको धितो (घरजग्गा, गाडी र सेयर) को बीमा गराइदिन्छन्। अनि बीमा गराउँदा लागेको रकमसहित नवीकरणको समेत पैसा ऋणीबाटै उठाइन्छ। त्यो रकम नतिरी बैंकले धितो फुकुवा गर्दैन।
सहकारी, लघुवित्त, फाइनान्स र बैंकले सबै जनतालाई ठगिसक्यो। यीनीहरुकै कारण सयौंले आत्महत्या गरेका छन्। लाखौं जनता सडकछाप अवस्थामा पुगेका छन्। तर, राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी, अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्री केपीशर्मा ओली अझै मौन छन्। यसबाट जनताले के बुझ्ने ? अहिले सर्वसाधारण यी तीन जना नै पर्दाभित्र बसेर बैंक, वित्तिय संस्थामार्फत जनता ठगेको बताउँछन्।