काम गर्न नसके राजीनामा दिन पर्यटनमन्त्री पाण्डेलाई देउवाको आग्रह

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रालयको जिम्मेवारी सम्हाल्न नसक्ने भए छाडेर मार्ग प्रशस्त गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई सुझाव दिएका छन्।

आइतबारको केन्द्रीय समिति बैठकमा बोल्दै मन्त्री पाण्डेले स्रोत साधनको अभावमा काम गर्न नसकेको बताएपछि देउवाले यस्तो सुझाव दिएका हुन्। उनले आफूहरू मन्त्री बनेपछि मन्त्रालय बुझ्ने काम भइसकेको र स्रोत साधन अभावका कारण काम गर्न चुनौती भएको बताएका थिए।

आफ्नो मन्त्रालय बुझेर सबै निराश र थकित भइसकेको भन्दै कांग्रेस र एमाले मिलेर मन्त्रालयलाई सहज हुने गरी थिंक ट्यांक निर्माण गर्न जरुरी रहेको उनले बताएका थिए।

जवाफमा देउवाले प्रधानमन्त्री ओलीसँग गएर कुरा गर्न भने।तपाईँ आफै बाठो चलाख मान्छे हुनुहुन्छ। गएर कुरा गर्नुहोस्‚देउवाले भनेका थिए‚‘सक्नुहुन्न भने छाडेर आउनुहोस्। अर्को गएर मन्त्री बन्छ।