जनार्दनका कारण प्रचण्ड अझै तनावमा, स्पष्टीकरण दिदै ठिक्क
काठमाडौं। नेकपा माओवादी केन्द्र भित्रको आन्तरिक विवाद मत्थर भयो भन्ने सन्देश दिन पार्टी अध्यक्ष प्रचण्डलाई हम्मेहम्मे हुन थालेको छ। जनार्दन शर्माले लिखित रुपमै असन्तुष्टी राखेपछि उठेका प्रश्नको जवाफ दिन माओवादी केन्द्र र प्रचण्डले ठूलो शक्ति नै खर्चिनुपर्ने स्थिति आइलागेको छ।
माओवादी केन्द्रमा सर्वशक्तिमान प्रचण्ड पार्टी उपमहासचिव जनार्दन शर्माको लिखित प्रतिवेदनले अहिले पनि तनावमा छन्। जनार्दनले पार्टी फुटाउन लागेको भन्दै चलिरहेको विषयलाई कसरी साम्य पार्ने प्रचण्डले स्पष्टीकरण दिँदा दिदै थाकिसकेका छन्।
जनार्दनलाई सँगै राखेर समेत पार्टी नफुट्ने दाबी प्रचण्डले गरिरहेका छन्।तर, उनकै पार्टीका नेता कार्यकर्ताले विश्वास गर्न सकेको देखिन्न। यस्तोमा प्रचण्डले जहाँ पुग्छन्, त्यहाँ पार्टी फुट्दैन भन्न छुटाउदैनन्।
माओवादी केन्द्रको अध्यक्षभन्दा प्रचण्ड नै ठूलो भएको दाबी गर्ने प्रचण्डलाई जनार्दनले खोलेको फायरलाई सम्हाल्न हम्मेहम्मे परिरहेको बेला माओवादी केन्द्रले पार्टीमा जानकारी नभई निर्देशन नै दिने गरि सर्कुलर पठाएको छ।
माओवादी केन्द्रले आन्तरिक सर्कुलर जारी गर्दै जनार्दनले पार्टी फुटाउन लागेको भन्ने कुरा झूठो रहेको भन्दै जनार्दनको भनाईलाई नै समावेश गरेको छ।
‘उपरोक्त सम्बन्धमा मिति २०८१ भदौ २ गते केन्द्रीय कार्यालयबाट जारी गरिएको परिपत्रमा बोल्ड गरिएका विषयहरू थप गरि पुनः परिपत्र गरिएको जानकारी गराइन्छ,अध्यक्ष प्रचण्ड र महासचिव देव गुरूङले हस्ताक्षर गरेको परिपत्रमा उल्लेख गरिएको छ।
जनार्दनले पार्टी फुटाउने विषयमा प्रष्टीकरण दिन माओवादी केन्द्रले चालेको यो कदमले नै पार्टीमा यो विषयले कस्तो प्रभाव पारेको छ भन्ने विषय प्रष्ट पारिसकेको छ।
उसो त प्रचण्डले समेत पार्टी नफुट्ने विषयमा प्रष्टीकरण दिने गरेका छन्। पार्टीका आन्तरिक बैठकदेखि सार्वजनिक रुपमा समेत उनले यस्तो प्रष्टिकरण दिइरहेको बेला जनार्दनले माओवादी केन्द्रमा हलचल ल्याएको चर्चा समेत चल्ने गरेको छ।
जनार्दनले नै पार्टी फुटाउदैछ भन्ने हल्ला चलाइएको र त्यसमा सत्यता नभएको कुरा प्रष्ट पारिसकेको भन्दै सर्कुलरमा नेता कार्यकर्तालाई पार्टी एकढिक्का रहेको सन्देश दिन ठूलो मेहनत नै गर्नुपरेको स्थिति छ। सम्भवत माओवादी केन्द्रमा प्रचण्डले नेतृत्वको सवालमा अहिलेसम्म ब्यहोरेको ठूलो समस्यामध्ये यो पनि एक हो।