माडी रेडहिल पार्कमा कवि विपिन पाठकको मरुभुमिमा वासन्ती याम लोकार्पण कार्यक्रम सम्पन्न

चितवन। युवा कवि विपिन पाठकको मरुभूमिमा वासन्ती याम लोकार्पण कार्यक्रम रेड हिल पार्क माडीमा सम्पन्न भएको छ। माडी साहित्य परिवारका अध्यक्ष चन्द्रमणि महतो ‘सि एम अपिल चितौने ‘ कार्यक्रमको प्रमुख अतिथि माडी नगरपालिकाको मेयर ताराकुमारी काजी महतोले मरुभूमिमा वासन्ती याम कवि विपिन पाठकको प्रथम कृतिको कारण समग्र माडीको गौरव बोकेकोले आगामी उज्ज्वल साहित्यिक यात्राको शुभकामना मन्तव्य राख्दै कार्यक्रममा सहभागी हुन पाउँदा खुसी व्यक्त गरिन्।

कार्यक्रममा विशिष्ट अतिथि कवि विपिन पाठकको बुवा बालकृष्ण पाठक र आमा पार्वती पाठक रहेका थिए। कार्यक्रममा पुस्तक लोकार्पण प्रमुख अतिथि विशिष्ट अतिथि लगायत महानुभावहरुले संयुक्त रुपमा गरे।

कार्यक्रममा माडी साहित्य परिवारका संस्थापक अध्यक्ष पोषराज पौडेल अतिथि रहेका थिए। कार्यक्रममा वामपन्थी बुद्धिजीवी प्रेम रिमाल, सामाजिक अगुवा राजनीतिक कर्मी राम प्रसाद न्यौपाने,साहित्य संगम चितवनका अध्यक्ष छन्द कवि प्रकाश चापागाईं, हेटौंडाका कवि पुरुषोत्तम आचार्य,चर्चित युवा कवि भूपिन खड्का ,गणेश श्रमण लगायतले कवि विपिनको यो कृतिले सफलताको शिखर चुम्न सकोस् भन्दै आगामी यात्रा अगाडि बढ्ने विषयवस्तु राखे।

कार्यक्रममा कृति समिक्षा गर्दै समालोचक डा.धनेश्वर भट्टराईले कवि विपिन पाठक संघर्षको उपनाम भएकोमा साधुवाद प्रकट गरे।

मध्यम किसान परिवारमा हुर्किएका विपिनले बाबा आमा भाई सम्पूर्णलाई अगाडि बढाउदै उनको श्रीमतीको साथले यो साहित्य यात्रा सम्भव बनाउन सफल भएकोमा उनले माडीको पहिचानसहित प्रगतिवादी सांस्कृतिक धारा अबलम्बन गरेको उल्लेख गरे।

स्वागत मन्तब्य माडी साहित्य परिवारका सचिवले कवि पाठकको मरुभूमिमा वासन्ती याम लोकार्पण माडीको भूमि रेड हिल पार्कमा गर्न पाउँदा समग्र माडी साहित्य परिवार खुशी भएको बताउदैं शुभकामनासहित उपस्थित साहित्यकार र समाजसेवी लगायत सहभागी सबै सबैमा हृदयदेखि स्वागत गरिन्।

कार्यक्रममा आफनो कुरा राख्दा कवि विपिन पाठकले मातापितालाई नमन गर्दै यो साहित्य यात्रामा पाइला टेकेको र यसमा समाजको यथार्थता उजागर गरेको उपस्थित सबै सबैमा हृदयको अन्तस्करणबाट आभार प्रकट गरेका थिए।

कार्यक्रममा भाषा सम्पादन रामकला कोइरालालाई मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रममा स्थानीय जनसाधारणदेखि चितवन मकवानपुर काठमाडौँ जिल्ला लगायतबाट प्रबुद्ध साहित्यिक संस्थाका अध्यक्षहरू एवम् प्रतिनिधिको सहभागितामा रहेको थियो।

ब्लड डोनर्स सोसाइटीका तर्फबाट केन्द्रीय उपाध्यक्ष हरि न्यौपाने, जिल्ला अध्यक्ष एकराज बुर्लाकोटीलगायत एवम् पत्रकार सूर्य पाठकले कवि विपिन पाठकलाई सम्मान गरेको दृष्यले सहभागी सबै थप उल्लास थपेको दृश्य रोमाञ्चकारी थियो।

बेलुकादेखि रातको एघार बजेसम्म स्वदेश एफ एम एवम् माडी एफ एमले उपस्थित सबै साहित्यकार कवि गजलकारका रचना वाचन प्रत्यक्ष प्रसारण गरेको कार्यक्रमलाई थप रोचक बनाएको थियो।