काठमाडौं महानगरले ५ लाख रुपैयाँसहित पलेशालाई सम्मान
काठमाडौं। काठमाडौं महानगरपालिकाले पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्द्धनलाई ५ लाख रुपैयाँसहित सम्मान गरेको छ। बुधबार बिहान स्वदेश फर्किएकी पलेशालाई महानगर प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डंगोलले नगदसहित सम्मान गरेका हुन्।
त्यस्तै प्रशिक्षक कविराज नेगीलाई ३ लाख रुपैयाँसहित सम्मान गरिएको छ। त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाटै उनीसहित पाराओलम्पिकमा सहभागी नेपाली टोलीलाई नगर परिक्रमा गराइएको थियो।
पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशाले कांस्य पदक जितेकी थिइन्। नेपाली खेलाडीहरुले ओलम्पिकमा जितेको यो नै पहिलो पदक हो।